२० मंसिर, काठमाडौं । पाकिस्तान र अफगानिस्तानको तालिबान फोर्सेजबीच फेरि झडप भएको छ । झडपपछि दुवै देशहरूले एक–अर्कामाथि संघर्ष–विराम उल्लंघनको आरोप लगाएका छन् ।
बढ्दो तनावका कारण सीमा क्षेत्रमा पर्ने अफगान शहर स्पिन बोल्दकबाट स्थानीय नागरिकहरूले राति आ–आफ्नो घर छोड्नु परेको बीबीसीले जनाएको छ ।
कन्धार शहरका एक अस्पताल स्रोतले बीबीसीलाई स्थानीय अस्पतालमा चार जनाको शव ल्याइएको जानकारी दिएको समाचारमा उल्लेख छ ।
दुवै पक्षले गएराति गोलीबारी भएको पुष्टि गरेका छन् । चार घण्टासम्म चलेको संघर्षको सुरुवातका लागि दुवै मुलुकले एक–अर्कामाथि दोष लगाएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले तालिबानले बिना कुनै कारण गोलीबारी गरेको आरोप लएका छन् ।
तालिबानका एक प्रवक्ताले पनि पाकिस्तानले आक्रमण गरेपछि आफूहरू जवाफ दिन बाध्य भएको प्रतिक्रिया दिएका छन् ।
पछिल्लो झडपका कारण पाकिस्तानका तर्फ भएको क्षतिको कुनै विवरण प्राप्त हुन सकेको छैन । विगत केही महिनायता दुवै देशबीच पटक–पटक छिटपुट लडाई हुँदै आएको छ ।
यसबीचमा अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानमाथि देशभित्र प्रवेश गरेर हवाई आक्रमण गरेको पनि आरोप लगाएका थियो ।
प्रतिक्रिया 4