
३० माघ, गोरखा । संघबाट प्रदेशमा हस्तान्तरण भएका गोरखाका चार वटा मोटरेवल पुल अलपत्र अवस्थामा छन् । पुल निर्माण हुने समय भइसके पनि ठेकेदारले लापरवाही गरी पटक पटक म्याद मात्र थप्न लगाएका छन् ।
एक बर्षअघि नै निर्माण भइसक्नुपर्ने पालुङटार नगरपालिकाको बडहरे खोला पुलको ४० प्रतिशत र लगाम खोला पुलको ९५ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।
दुवै पुल निर्माणका लागि निलगिरी निर्माण सेवासँग २०७५ वैशाख २० गते सम्झौता भएको थियो । २०७६ साउन २० सम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर दुई पटक म्याद थप भइसक्यो । अन्तिम पटक थपिएको म्याद अनुसार २०७७ असोज २९ गतेसम्म काम सक्नुपर्ने भएपनि हालसम्म काम पूरा नभएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर गणेश सुवेदीले बताए । ‘पटक/पटक म्याद थप भइसक्दा पनि काम सकिएको छैन,’ उनले भने ।
बडहरे खोला पुलको लागत एक करोड १८ लाख र लगाम खोला पुलको लागत एक करोड १० लाख रुपैयाँ रहेको छ ।
त्यस्तै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिका जोड्ने लुदी खोला पुल र गोरखा–पालुङटार जोड्ने दरौदी खोला पुल पनि अलपत्र छ । दरौंदी खोला पुल निर्माणका लागि इलाइट एडभेन्चर धनथान जेभीसँग २०७३ साल असार २७ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार २०७५ असार मसान्तसम्म काम सक्नुपर्ने हो । तर समयमै काम नभएपछि दुई पटक म्याद थप भइसकेको कार्यालयका इन्जिनियर सुवेदीले बताए ।
‘अन्तिम पटक थप भएको म्याद अनुसार २०७७ साल जेठ मसान्त भित्र काम सक्नुपर्ने हो, तर अहिलेसम्म ४५ प्रतिशत भन्दा बढी काम भएको छैन,’ उनले भने । यो पुल निर्माणका लागि निर्माण कम्पनीसँग ४ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
लुदी खोला पुल निर्माणको काममा पनि ठेकेदारकाले उस्तै लापरवाही छ । पुल निर्माणका लागि निलगिरी अधिकारी जेभीसँग २०७५ असार २९ गते सम्झौता भएको थियो ।
सम्झौता अनुसार २०७६ असार १५ गते काम सक्नुपर्ने हो । काम नसकेपछि दुई पटक म्याद थप भइसकेको सुवेदी बताउँछन् । अन्तिम पटक थप भएको म्याद अनुसार २०७७ पुस ११ गतेभित्र काम सक्नुपर्ने थियो । तर हालसम्म करिव ८५ प्रतिशत मात्र काम सकिएको उनले बताए । यो पुल निर्माण गर्न ४ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
ठेकेदारलाई जरिवाना
पटक पटक थप गरिएको समयमा पनि काम सम्पन्न नगरेपछि निर्माण कम्पनीलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।
माघ महिनादेखि ठेक्का सम्झौता रकमको प्रति दिन ०.०५ प्रतिशत जरिवाना तोकिएको कार्यालय प्रमुख दयाराम अधिकारीले बताए । ‘हामीले दश प्रतिशतसम्म जरिवाना लिन मिल्छ, माघ महिनादेखि उहाँहरुलाई जरिवाना लगाइसकेको छ,’ उनले भने ।
दरौंदी खोला पुल निर्माणको जिम्मा लिएको इलाइट एडभेन्चर धनथान जेभीले कोरोनाका कारण समस्या भएको बताएको छ । ‘कोरोना पनि भयो, फेरि पाइलिङ गर्दा चट्टान भेटिएर समस्या पनि वनायो,’ इलाइट एडभेन्चर धनथान जेभीका प्रकाश पौडेलले भने ।
बाँकी पुलको जिम्मा लिएको निर्माण कम्पनीका डालनाथ अधिकारीले जग्गा मुआब्जाको विवादका कारण लुदी खोला पुल निर्माणमा ढिलाइ भएको बताए । उनले अबको एक महिनामा काम सक्ने दावी गरे ।
प्रतिक्रिया 4