Comments Add Comment

श्रीमतीको हत्यापछि गहना र नगद लुटपाट

४ चैत, काठमाडौं । पछिल्लो एक सातामा उपत्यकामा दुई जनाको हत्या भएको छ । दुवै घटनामा लागूऔषध प्रयोग जोडिएको छ भने आवेशमा हत्या भएको पाइएको छ ।

प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरेर बल्खुको सकुम्बासी बस्तीमा गत सोमबार हत्या गरिएकी ३२ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा र टोखा–१ मा हत्या गरिएका २२ वर्षीया आशिष लिम्बुको हत्यामा संलग्न चार जनालाई सार्वजनिक गरेको छ ।

दुवै घटनाको विवरण सार्वजनिक गर्दै काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले भनेका छन्, ‘बल्खु र टोखा घटना लागूऔषध दुर्व्यसनको परिणाम पनि हो ।’ चारै जनाविरुद्ध ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिइएको सिंहले बताए ।

बल्खु : अन्तरजातीय विवाह, विवाद र हत्या

प्रहरी वृत्त, कालिमाटीका डीएसपी अपिलराज बोहराका अनुसार सन्तोषीको हत्यामा संलग्नता देखिएपछि उनका श्रीमान् सन्तोष सापकोटा पक्राउ परेका छन् । सोमबार बल्खुस्थित घरमा हथौडा प्रहार गरेर हत्या गरेको अभियोगमा सापकोटा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सन्तोष र सन्तोषीबीच १ वैशाख २०६३ मा अन्तरजातीय प्रेम विवाह भएको थियो । तर, परिवारले उनीहरुको सम्बन्ध रुचाएको थिएन । सम्पन्न सन्तोषीको परिवारले पनि पेन्टिङ पेशाका सन्तोषसँगको विवाहलाई रुचाएको थिएन ।

पाँच वर्षअघि उनीहरुबाट एक छोरा पनि जन्मिएको थियो । आर्थिक रुपमा कमजोर सन्तोषले छोरा जन्मिनु अघिबाटै लागूऔषध सेवन गर्न थालेका थिए । त्यसपछि श्रीमतीसँग निरन्तर झगडा हुन थालेको अनुसन्धानबाट देखिएको काठमाडौंका एसएसपी सिंह बताउँछन् । ‘उनी लागूऔषध नियन्त्रण ब्युरोबाट समेत पक्राउ गरेको देखिएको छ’, कालिमाटीका डीएसपी बोहरा भन्छन् ।

श्रीमती हत्‍या आरोपमा पक्राउ परेका श्रीमान् सन्तोष सापकोटा। तस्वीर: आर्यन धिमाल/अनलाइनखबर

सन्तोष पक्राउ परेपछि पनि सुध्रिएनन् । त्यसपछि विवाद झन् बढ्यो र उनले पारपाचुके गर्ने निधो गरिन् । तर, सन्तोषले मानेका थिएनन्, बरु एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

सोमबार सन्तोषी बल्खुको एक सहकारीबाट ऋण लिएको डेढ लाख रुपैयाँको किस्ता तिर्न गएकी थिइन् । बल्खुको घरमा सन्तोष बसिरहेका थिए, उनी पनि त्यहाँ पुगिन् तर, फर्किएर माइत आउन पाइनन् । ‘घरमा श्रीमानसँग फेरि विवाद भएछ, सायद पैसा मागे वा अन्य केही भयो’, डीएसपी बोहराले भने, ‘त्यसपछि सन्तोषले हथौडाले हानेर श्रीमतीको हत्या गरे ।’

स्वास्थ्य परीक्षणबाट सन्तोषको शरीरमा पनि कोतरिएको देखिएको छ, त्यसले दुईजनाबीच झगडा भएको देखिने प्रहरी अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार हत्यापछि सन्तोषले श्रीमतीको शवलाई डोरीले बाँधेर तन्नामा पोको पारेर फाल्न लागेका थिए । काठमाडौं प्रहरी प्रमुख सिंह भन्छन्, ‘हत्यापछि मृतकको हातको बाला, दुई वटा मुन्द्रा, २३ हजार रुपैयाँ नगद र आइफोनसमेत लिएर भागेको अवस्थामा सन्तोषलाई पक्राउ गरेका थियौं ।’

नियमित लागूऔषध सेवन गर्नुपर्ने सन्तोषलाई पैसाको अभाव भएकाले उनले हत्यापछि श्रीमतीको गहना लुटेको हुनसक्ने उनले बताए । प्रहरीका अनुसार उनी सुत्ने घरमै हत्यामा प्रयोग भएको हतौडा, रगताम्ये सिरक, मृतकको जुत्ता, लागूऔषध डाइजेपामको फुटेको सीसालगायत बरामद भएको छ ।

टोखा : वर्कसपको सटरभित्र थुनेर पाइपले हानेर हत्या

प्रहरीले गत शुक्रबार टोखा नगरपालिका–१, मालुङमा रहेको बाँस झ्याङ छेउ शव भेट्टायो । अनुसन्धानका क्रममा शव मोरङको बेलबारी घर भई टोखा बस्दै आएका २२ वर्षीय आशिष लिम्बुको शव रहेको खुल्यो ।

प्रहरीका अनुसार उनी लागूऔषध दुर्व्यसनी हुन् । लागूऔषध खाएर एमडी मोटरसाइकल वर्कसपमा गएका बेला सामान्य झगडा हुँदा उनको पाइपले हानेर र घाँटी थिचेर हत्या गरेको पाइएको काठमाडौंका एसएसपी सिंह बताउँछन् ।

उनका अनुसार घटनामा संलग्न रहेको आशंकामा भारतीय नागरिक भुपेन्द्रकुमार साह, रौतहटका शेख अबदुल आलम र मोहम्मद कासिम मन्सुरी पक्राउ परेका छन् ।

‘उनीहरुले शुक्रबार राति ९ बजेतिर लिम्बुलाई वर्कसपभित्र राखेर सटर बन्द गरी कुटपिट गरेर हत्या गरेका थिए’, सिंहले भने, ‘हत्यापछि शवलाई तन्नामा पोको पारेर बास झ्याङमा फ्याँकेको पाइएको छ ।’ हत्यापछि शवलाई फ्याँक्न ग्राहकले बनाउन दिएको दुई वटा स्कुटर प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

एसएसपी सिंहका अनुसार शवलाई मन्सुरी र शेख अब्दुलले स्कुटरको बीचमा राखेर लगेका थिए भने भुपेन्द्रले अर्को स्कुटर चलाएर निगरानी गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment