Comments Add Comment
गैंडा गणनाका क्रममा उद्धार :

पुष्पाकी साथी बन्न आइन् अञ्जली

२ वैशाख, चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक्लै हुर्किरहेकी थिइन् पुष्पा । यतिबेला भने उनले सानी साथी पाएकी छिन् । अर्थात पोहोर माघमा पुष्पा जत्री थिइन्, उत्रै छिन् अञ्जली ।

पुष्पा नयाँ र सानी साथी अञ्जलीलाई माया गर्छिन्-बैनीलाई जस्तै । एउटै आमाले जन्माएका सन्तानजस्ता लाग्छन् पुष्पा र अञ्जली । अञ्जली जम्मा साता दिनकी भइन् । पुष्पा भने १४ महिनाकी ।

गैंडा गणनाको क्रममा गत चैत २३ गते चितवन राष्ट्रिय निकुञ्जको नवलपुरस्थित दिव्यपुरी क्षेत्रमा अलपत्र अवस्थामा करिब एक साताको बच्चा भेटिएको थियो । सोही बच्चालाई उद्धार गरेर पुष्पासँगै प्रकृति संरक्षण कोषको कार्यालयमा राखिएको हो ।

गैंडा गणकहरू निकै बेर अडिएर अञ्जलीकी आमालाई पर्खिए । तर आमा आउने छाँट देखिएन । बच्चा निकै थकित, कमजोर र भोकाएको अवस्थामा थियो । वरपर बाघका पाइलाहरू थिए ।

‘गैंडाको बच्चालाई त्यसै छाड्दा बाघले मार्नसक्ने वा बच्चा भोकले मर्नसक्ने विष्लेषण गरेर हामीले उद्धार गरेर ल्यायौं’, कोषका प्रमुख डा. बाबुराम लामिछानेले भने, ‘अघिल्लो वर्ष पुष्पा जस्तो अवस्थामा र उमेरमा भेटिएको थियो अहिले पनि सोही उमेर र अवस्थामा अर्को बच्चा भेटियो, दुवै आमाबाट बिछोडिएका हुन् ।’

बाघको आक्रमणबाट १० प्रतिशत गैंडा मर्ने गरेका छन् ।

बच्चालाई क्षति नहोस् भनेर उद्धार गरेर सौराहा ल्याएपछि पुष्पाको जस्तै स्याहारमा खटिएका छन् कोषका कर्मचारी लालबहादुर महतरा । कुनै महिलाको दोस्रो सन्तान जन्मदा बढेको व्यस्तता जस्तै छ लालबहादुरको अवस्था अहिले ।

लोकबहादुर एकदिन बिराएर अञ्जलीलाई नुहाइन्छिन्, मान्छेको बच्चालाई जस्तै तोरीको तेल घसिदिन्छन् । उनलाई पुष्पा र अञ्जली दुवै आफ्नो छोरी जस्तै लाग्छ

कोषमा ल्याएपछि पुष्पाकै बहिनी ठानेर उसको नामाकरण गरिएको हो । नाम राखिएको छ, ‘अञ्जली’ । अञ्जली नाम लालबहादुरले नै राखेका हुन् । पुष्पा र अञ्जलीलाई एकैपटक बोलाउँदा ‘पुष्पाञ्जली’ भन्ने गरिन्छ ।

गत वर्ष माघमा आमाबाट ११ दिन नहुँदै छुटेको र फूलजस्तै लागेकाले कोषका कर्मचारीले न्वारन गरेका थिए ‘पुष्पा’ । कोषमा हुर्काइएका ६ वटा ‘केटाकेटी’ मध्ये पुष्पा नै पहिलो ‘केटी’ हुन् भने अञ्जली दोस्रो । यसअघि कोषमा बीरू, बाङ्गे, मंगले, मेघौली, त्रिवेणीलाई हुर्काइएको थियो । उनी सबै ‘केटा’ हुन् ।

पुष्पाको जस्तो दैनिकी छ, अहिले अञ्जलीको पनि उस्तै छ । अञ्जली निकै सानी छन् । उनलाई विशेष स्याहार चाहिन्छ । आमाको दूध खाने उमेर भएको कारण बढी रेखदेख र स्याहारमा जुट्ने गरेका छन् कर्मचारी ।

जन्मेको केही दिनमै माउबाट टाढा भएकी अञ्जलीलाई गाई-भैंसीको फ्याट निकालेको दूध चुसाएर पेट भर्ने गरिएको छ । यसको सबै जिम्मा लालबहादुरलाई छ । कोषमा विगत १० वर्षदेखि काम गरिरहेका लालबहादुर भन्छन्, ‘मलाई भ्याइनभ्याइ छ, चार महिनाको मृगको बच्चा पनि हेर्छु ।’

अञ्जलीलाई अहिले दुई-दुई घण्टाको फरकमा एक-एक लिटर दूध चुसाउने गरिएको छ । राति १२ बजेदेखि विहान ४ बजेसम्म मात्रै खुवाइँदैन । अरु बेला तालिका अनुसार नै खुवाइन्छ । विहान ६ बजे खोरबाट निकाल्ने र ६ बजे नै भित्र राख्ने गरिएको लालबहादुर बताउँछन् ।

अञ्जलीलाई पुष्पाले निकै माया गर्छिन् । दुवै सँगसँगै बस्छन्, सुत्छन् । पुष्पाले अहिलेसम्म अञ्जलीलाई नहानेको लालबहादुर बताउँछन् । पुष्पाले सुरुमा ल्याउँदा खोरमा मुख जोतेर घाउ नै घाउ बनाएको थियो, तर अञ्जली ज्ञानी छन् ।

लोकबहादुर एकदिन बिराएर अञ्जलीलाई नुहाइन्छिन्, मान्छेको बच्चालाई जस्तै तोरीको तेल घसिदिन्छन् । उनलाई पुष्पा र अञ्जली दुवै आफ्नो छोरी जस्तै लाग्छ । पुष्पाञ्जलीका लागि आमाको भूमिकामा छन् उनी । जंगलमा तीन वर्षको हुँदासम्म गैंडाका बच्चा आमासँगै हिँड्छन् । अञ्जली दिनभरजसो पुष्पाकै साथ वरपर हिँड्छिन् । उनका पछि-पछि लाग्छन् हेरालुहरू ।

पुष्पा केही ठूली बनेपछि केही फुर्सदिला बनेका कर्मचारी अञ्जली थपिएपछि पुनः व्यस्त छन् । यी दुई गैंडासँगको छनुमुनुमा हेरालुहरू आफ्नो दिन बितेको पत्तो पाउँदैनन् ।
माया गरेर दूध खुवाउँछन्, उसको शारीरिक अवस्थाका बारेमा ख्याल गर्छन् । पुष्पाको जस्तै माया अञ्जलीको पनि लाग्ने गरेको कर्मचारी बताउँछन् ।

सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका एक कर्मचारीका अनुसार आमाबाट छुटेका बच्चाले राम्रो स्याहार नपाए बचाउन गाह्रो हुन्छ । त्यसैले संवेदनशील भएर रेखदेख गर्नुपर्ने हुन्छ । निकुञ्जले उद्धार गरेको जनावर र तिनका बच्चाको रेखदेख हेरचाह कोषले गर्दै आएको छ । कोषमा हुर्काइएका गैंडाका बिछोडिएका केटाकेटी मध्ये सबैभन्दा सानो उमेरमा ल्याइएको पुष्पा र अञ्जली नै हुन् ।

कोषका चिकित्सकहरुले अञ्जलीको स्वास्थ्य जाँच गरिरहन्छन् । स्वास्थ्य अवस्था राम्रो छ । उमेर अनुसारको बजन भए नभएको, पानी पुगे/नपुगेको, पेट र दिसामा केही खराबी भए/नभएको, शरिरमा घाउ भए/नभएको र उमेर अनुसारको पोषण पुगे/नपुगेको चिकित्सकहरुले निगरानी गरिरहेका हुन्छन् । सुरु-सुरुमा दूध मात्र खाने गैंडाको बच्चाले विस्तारै गाजर, मुला, बन्दा खान थाल्छन् । ठूलो भएपछि कुँडो पनि खान्छन् ।

ठूली हुँदै पुष्पा

१४ महिना पुगेकी पुस्पा र उद्धार गर्दाकी सानी पुस्पा ।

गत वर्ष माघमा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत नवलपुरको तमासपुरमा हिलोको दलदलमा भासिएको अवस्थामा उद्धार गरेर ल्याइएको एक साताको गैंडाको बच्चा (केटी) पुष्पा अहिले पनि राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमै छिन् ।

पुष्पा कोषका कर्मचारीहरुको गरेको स्याहारले ठूली भएकी छन् । पुष्पा अहिले कोष वरपर आनन्दसँग चर्छिन् । कहिले कता त, कहिले कता घुम्छिन् । कहिलेकाहीँ संरक्षण कोषको कार्यालयको ढोकासम्म नै आइपुग्छिन् । पुलुक्क हेर्छिन् अनि आफ्नै सुरमा फर्किन्छिन् ।

कोषमा आउने जो कोही पनि पुष्पालाई देखेर खुबै रमाउँछन् । फोटो खिच्छन् । पुष्पा अहिले आनन्दसँग घाँस चर्न सक्ने भएकी छन् । ‘सुत्केरी आमाले साना छोराछोरीलाई तोरीको तेल लगाएकै जस्तै गरी हामीले पुष्पालाई तेल लगायौं, माघको पहारिलो घाममा लुपुक्क सुत्थिन्’, विगत सम्झदै कोषका कर्मचारी लालबहादुर भन्छन् । जंगलमा भेटिँदा जुरुक्क उठाएर गाडीमा हाल्न सकिने पुष्पा अचेल झण्डै ६ क्वीन्टलकी भएकी छन् ।

जंगल जान रुचाउँदैनन् पालिएका गैंडा

२०७४ मा राप्तीमा आएको ठूलो बाढीले निकुञ्जका कयौं गैंडालाई बगायो । बगाउँदा कति गैंडा मरे भने कतिलाई भारतबाट समेत उद्धार गरेर निकुञ्जमा ल्याइयो । उद्धार गरेर ल्याइएका गैंडामा पर्छन् मंगले र मेघौली । उनीहरू उद्धार गरेर ल्याउँदा करिब दुई वर्षका थिए । उद्धार गरेर ल्याइएका गैंडालाई निकुञ्जको पूर्वी सेक्टर सौराहामा राख्ने गरिन्छ । यही नै खुवाउने र हुर्काउने काम हुन्छ ।

पुष्पालाई जस्तै उद्धार गरी हुर्काएको गैँडा गाउँमा घुम्दै । यसरी हुर्काइएका गैँडा जङ्गल मन पराउँदैनन् । मानव बस्ती नजिक बस्न रुचाउँछन् ।

कोषमा बस्दा गैंडाका बच्चाहरू मानिसको स्याहारमा हुर्किने हुँदा निकै नजिक हुन्छन् । मानिसकै आस गर्छन् । बस्ती वरपर बस्न रूचाउँछन् । अहिले सौराहामा बेलाबेलामा निस्फिक्री हिँड्ने यिनै मंगले र मेघौली हुन् ।

कहिलेकाहीँ त उनीहरू सौराहाको मूल सडकमा नै हिँड्छन् । उनीहरूको अघि, पछि मान्छेहरूको ठूलो भीड जम्मा हुन्छ । पर्यटकहरू नजिकबाट स्पर्श गर्छन्, रमाउँछन् । तर यी दुवैले कुनै प्रतिक्रिया जनाउँदैनन् ।

निकुञ्जका लागि सबैभन्दा टाउको दुखाइको विषय यही बनेको छ । दुर्लभ एकसिंगे गैंडा यसरी मानिसको बस्ती-बस्तीमा आउँदा कुनै दुर्घटना हुने पो हो कि भन्ने चिन्ता निकुञ्जलाई छ ।

पुष्पालाई निकुञ्जमा छाड्ने योजना तत्काल छैन । निकुञ्ज विभाग, निकुञ्ज र कोषको सहमतिमा मात्रै जंगलमा लगेर छाडिन्छ । तर, जम्मा १४ महिनाको भएकाले बाँच्न सक्दैन कि भनेर अझै कोषमै केही समय राखिने कोषका प्रमुख डा. बाबुराम लामिछानेले बताए ।

पुष्पासँगै उद्धार गरिएको एउटा केटोलाई ८ महिनाको भएपछि पुरानो पदमपुरको अर्ना राखिएको इनक्लोजरमा राखियो तर पछि चिसोमा त्यो केटा मर्‍यो । चिकित्सकहरूले निमोनिया भएको बताए । त्यो घटनापछि पुष्पालाई तत्काल छाड्ने अवस्था नभएको डा. लामिछानेले बताए ।

कोषले साधारणतया गैंडाका केटाकेटीलाई अवस्था हेरी दुई वर्षसम्म पाल्ने गरेको छ । पुष्पालाई पनि घरपालुवा हुन नदिन र ‘वाइल्ड’ बनाउन ठूली भएपछि केही महिना इनक्लोजर भित्र नै पठाउने योजना निकुञ्जको छ ।

कोषको सौराहा कार्यालयका प्रमुख लामिछानेले अहिलेसम्म २० वटा बच्चा गैंडाको उद्धार गरिएको जानकारी दिए । निकुञ्ज र कोषले टुहुरा गैंडाजस्तै अन्य जनावरहरूलाई पनि त्यसैगरी उद्धार गरेर आश्रय दिँदै आएको छ ।

कोषले बाघ, हात्ती, चितुवा हरिणका घाइते तथा टुहुरा बच्चालाई ल्याएर संरक्षण गरी निकुञ्जमा नै पठाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment