Comments Add Comment

छिमेक : मोदी हेलचेक्र्याइँको मूल्य चुकाउँदै भारत

दैनिक झण्डै चार लाख कोरोनाभाइरस (कोभिड-१९) का संक्रमित भेटिइरहेका र चार हजारभन्दा बढीले मृत्युवरण गरिरहेका बेला भारतको सार्वजनिक स्वास्थ्य प्रणाली र मोदी सरकारको भूमिका झल्काउने रचनात्मक आवरण बनाएको छ आउटलुक म्यागाजिनले । यो साप्ताहिक पत्रिकाले हालैको अंकमा ‘सरकार बेपत्ता’ शीर्षकको आवरण कथामा ‘सात वर्षको मोदी सरकार हराएको’ भनेर ‘भारतीय जनताका नाममा सार्वजनिक सूचना’ निकालेको छ ।

भारत अहिले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको छ । उसको सार्वजनिक स्वास्थ्य प्रणाली अस्तव्यस्त बनेको छ । अक्सिजन, बेड र आईसीयू बेडको अभाव हुनु भारतको लागि सामान्य समाचार भइसक्यो । यो संकट समाधानको लागि अमेरिका, बेलायत, क्यानडालगायत विश्वका धेरै मुलुकले भारतलाई स्वास्थ्य सामग्री पठाएका छन् । विश्वको सबैभन्दा ठूलो खोप उत्पादक मुलुकको रूपमा चिनिएको भारत अहिले रूसबाट कोरोना खोप ल्याउने प्रयत्नमा छ ।

भारतको सार्वजनिक स्वास्थ्य प्रणालीको हालतलाई लिएर कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले स्वास्थ्य प्रणाली नै असफल हुने दिशामा गएको टिप्पणी समेत गरेका छन् ।

भारतले गत वर्ष कोरोना संक्रमण शुरु हुँदा लामो समयसम्म निकै कडा लकडाउन गरेको थियो । तर, २०२० सेप्टेम्बरबाट विस्तारै दैनिक संक्रमितको संख्या घट्न थालेपछि सामाजिक प्रतिबन्धका नियमहरू खुकुलो बनाउँदै लगियो ।

त्यसपछि भारतमा पर्वको मौसम शुरू भयो । सरकारले पर्व मनाउन रोक्ने वा व्यवस्थित गर्ने कुनै निर्णय गरेन । धेरै मानिस एक ठाउँमा भेला भएर पर्वहरू मनाए । सरकारलाई स्वास्थ्य विशेषज्ञले सबैभन्दा धेरै मानिस भेला हुनसक्ने अनुमान गरिएको कुम्भ मेला यस वर्ष आयोजना नगर्न सुझाव दिएका थिए ।

सरकारले मानेन । उसले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरेर मेला आयोजना गर्ने निर्णय गर्‍यो । तर त्यो मेलामा जनस्वास्थ्यको कुनै पनि नियमको पालना हुन सम्भव नै थिएन । लाखौं मानिस सहभागी उक्त मेलामा गएका धेरैमा कोरोना संक्रमण देखिएको थियो । मेलाले भारतमा कोरोना संक्रमण फैलाउन ठूलो भूमिका निर्वाह गरेको विशेषज्ञहरूले बताएका छन् । भर्खरै मात्र बीबीसीले प्रकाशित गरेको एक आलेखमा भनिएको छ, ‘यो मेला भारतमा कोरोना संक्रमण फैलाउन एक सुपरस्प्रेडरको रूपमा रहन पुग्यो ।’

भ्वाइस अफ अमेरिका न्युजमा प्रकाशित एक रिपोर्ट अनुसार यस बीचमा भारतमा विभिन्न पर्व तथा विवाह लगायतका ठूला पारिवारिक तथा सामाजिक उत्सवहरू भए । जसमा कुनै मापदण्डको पालना भएन । यसले पनि भारतमा कोरोना संक्रमण बढाउन मद्दत गर्‍यो ।

२०२१ फेब्रुअरीको अन्तिममा भारतको निर्वाचन आयोगले पाँच राज्यमा निर्वाचन घोषणा गर्‍यो । यी पाँच राज्यको जनसंख्या मात्रै १८ करोड ६० लाख छ । ८२४ सिटका लागि घोषणा गरिएको निर्वाचन मार्च २७ मा शुरु भएर अपि्रल २७ मा सकिएको थियो । जसमध्ये पश्चिम बंगालमा विभिन्न आठ चरणमा चुनाव भएको थियो ।

निर्वाचन आयोगले चुनावको मिति घोषणा गरेसँगै राजनीतिक पार्टीहरू प्रचारमा जुटेका थिए । यस्ता र्‍यालीमा कोरोना संक्रमण नियन्त्रणको लागि आवश्यक भौतिक दूरी तथा मास्क लगाउनुपर्ने जस्ता नियमको पालना हुन सम्भव थिएन ।

प्रधानमन्त्री नरेन्द्र मोदी आफैं हजारौं मानिस जम्मा गरेर र्‍यालीमा सहभागी भएका थिए । त्यहाँ स्वास्थ्य मापदण्डको पालना सम्भवै थिएन । मोदीले पनि निर्धक्क भएर सम्बोधन गरेका थिए । त्यति मात्र होइन, निर्वाचनको नतिजा आएपछि पनि पार्टीका समर्थकहरूले विजय जुलूस निकालेका थिए । पश्चिम बंगालमा त निर्वाचनको नतिजा आएपछि हिंसा नै भड्किएको थियो ।

गत महीना बीबीसी संवाददाता सोउतिक विश्वासले उल्लेख गरे अनुसार, भारत सरकारको अर्को गल्ती ठूला खेलकूद प्रतियोगितामा दर्शकलाई विना कुनै मापदण्ड उपस्थित हुन अनुमति दिनु थियो । गएको मार्चको मध्यमा इङ्गल्याण्ड र भारतबीच क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।

उक्त प्रतियोगितामा समर्थकलाई स्टेडियममा गएर खेल हेर्ने अनुमति थियो । १ लाख ३० हजारभन्दा धेरै दर्शकले उक्त खेल हेरेका थिए । उनीहरूमध्ये धेरैजसोले मास्क लगाएका थिएनन् । त्यहाँ भौतिक दूरी पालना हुन सम्भव नै थिएन । यति ठूलो संख्यामा मानिस स्टेडियममा भेला हुँदा कोरोना संक्रमण फैलिनलाई थप बल पुग्यो ।

सीएनएनका अनुसार, दोस्रो लहर आउनुमा भारतको अर्को गल्ती सचेतना कार्यक्रम नचलाउनु पनि हो । गत वर्षको सेप्टेम्बरपछि संक्रमित हुनेको संख्यामा विस्तारै कमी आएपछि भारतमा मानिसले मास्क लगाउने, भौतिक दूरी पालना गर्ने लगायत जनस्वास्थ्यका मापदण्डलाई बेवास्ता गर्न थाले ।

सरकारले उनीहरूलाई उक्त मापदण्ड पालना गराउन कुनै कदम चालेन र अर्को लहर आउन सक्ने चेतावनी दिएर सचेत पार्ने काम पनि गरेन । उल्टो सत्तारुढ दलका नेताहरू नै आफैं निर्वाचन र्‍यालीमा सहभागी भए र भीडमा सहभागी हुन मानिसलाई प्रेरित गर्ने काम गरिरहे ।

त्यसैगरी कोरोनाको दोस्रो लहर आउन सक्छ भनेर तयारी नगरिंदा पनि यो अवस्था आएको हो । भारतले पहिलो लहर उत्कर्षमा पुग्दा एकपटक स्वास्थ्य संकटको सामना गरिसकेको थियो । यस्तोमा उसले दोस्रो लहर आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै कुनै थप तयारी गरेन । संक्रमित संख्या घटेर अस्पतालमा दबाब कम भएपछि सरकार ढुक्क देखियो ।

तर पछिल्ला दिनमा अकस्मात् संक्रमित संख्या बढ्ने वित्तिकै स्वास्थ्य संकट देखापर्‍यो । अहिले भारतका अस्पतालमा अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या उल्लेख्य छ । भारत कोरोना खोपको मामिलामा पनि पछि परेकाले अझै पनि संक्रमणलाई नियन्त्रणमा ल्याउन सकेको छैन । अमेरिका, इजरायल जस्ता मुलुकले अधिकांश नागरिकलाई कोरोना खोप दिंदै मुलुकमा संक्रमणलाई नियन्त्रणमा लिएका छन् ।

तर विश्वको सबैभन्दा ठूलो खोप उत्पादक मुलुकको रूपमा चिनिने भारत आफंै मुलुकमा खोप सञ्चालन गर्ने मामिलामा पछि परेको छ । मुलुकमा कोरोना खोपलाई अनुमति दिन नै लामो समय लगाएको आरोप खेपिरहेको भारतले त्यसपछि पनि खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गर्न सकेन ।

भारतीय प्रधानमन्त्रीले विश्वको लागि भारत खोपको फार्मेसी भएको बताए पनि अहिले भारत आफैं खोप आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । अहिले भारतमा भन्दा धेरै खोप अमेरिका र चीनमा उत्पादन भइरहेको छ । भारतले रूसबाट पनि खोप आयात गरिरहेको छ । भारतले आफ्नो मुलुकबाट अन्यत्र हुने निर्यात पनि रोकेको छ । तर पनि अहिले भारतमा माग अनुसार खोपको अभाव देखिएको छ ।

यी तथ्यहरूले के देखाउँछन् भने महामारी नियन्त्रण भारत सरकारको प्राथमिक कार्यसूचीमै थिएन । यसको परिणाम देशले गम्भीर मूल्य चुकाउनुपर्‍यो । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले संक्रमण नियन्त्रण गर्ने मामिलामा हेलचेक्र्याइँ गरेर चुनावी सभा र कुम्भ मेलातिर ध्यान दिएपछि भारतले अहिले यो संकट सामना गरिरहेको छ । जसलाई त्यहाँका आमसञ्चारमाध्यमले ‘सरकारहीनता’ को अवस्थाका रूपमा चित्रण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment