Comments Add Comment

धनगढी र महेन्द्रनगरमा निषेधाज्ञामै कोरोना संक्रमण र मृत्यु उच्च

कञ्चनपुरको महेन्द्रनगर बजार

६ जेठ, धनगढी । कोरोना भाइरसको पहिलो लहरमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले खासै क्षति व्यहोर्नु परेको थिएन । जिल्ला सदरमुकाम महेन्द्रनगर समेत पर्ने यो नगरपालिकामा झण्डै एक वर्षसम्म रहेको पहिलो लहरमा ५४४ जना कोरोना भाइरसबाट संक्रमित भएका थिए भने ४ जनाको मृत्यु भएको थियो ।

तर ठीक एक वर्षपछि फैलिएको दोस्रो लहरमा भने भीमदत्त नगरपालिकाले एक महिनामै ठूलो मानवीय क्षति व्यहोरिसकेको छ । भीमदत्त नगरपालिकामा पहिलो लहरमा भन्दा संक्रमण चार गुणा बढी हुँदा मृत्युदर १६ गुणाले बढिरहेको तथ्यांक छ । भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाकाअनुसार वैशाखदेखि हालसम्म नगरका २ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जुन अघिल्लो वर्षको तुलनामा झण्डै चार गुणाले बढी हो ।

यस्तै एक महिनाको अवधिमा कोरोना संक्रमणबाट ६७ जनाको मृत्यु भइसकेको छ । जुन अघिल्लो वर्षको तुलनामा १६ गुणाले बढी हो । स्थानीय प्रशासनले जिल्लाभर वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरेको भएपनि संक्रमण र मृत्युदर भने ओरालो लाग्न सकेको छैन । भीमदत्त नगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नरेन्द्रराज जोशी पहिलो चरणको भन्दा अहिलेको संक्रमण तीव्र र डरलाग्दो किसिमले फैलिरहेको बताउँछन् ।

‘अहिलेको भाइरसको संक्रमण हुने दर नै धेरै छ । एक जनाले कम्तीमा एक सय जनालाई सार्न सक्छ भन्ने कुराहरु आएका छन्,’ जोशीले भने, ‘पहिलो चरणमा मानिसहरुले सावधानी पनि अपनाएका कारण संक्रमण धेरै फैलिन पाएन । तर अहिले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना नगरेकाले तीव्र रुपमा फैलिरहेको हो ।’

स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेपनि विवाह, ब्रतबन्ध गर्न छुट दिएका कारण पनि संक्रमण झनै फैलिएको उनको भनाइ छ । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति समेत रहेका डा. गोविन्द रोकाया पनि मानिसमा लापरवाही बढेकै कारण संक्रमण तीव्र रुपमा फैलिरहेको बताउँछन् । अहिले बढीजसो अस्पतालमा भर्ना हुने संक्रमितसँग बस्ने कुरुवाका कारण समुदायस्तरमा संक्रमण फैलिरहेको डा. रोकायाको भनाइ छ ।

‘अस्पतालमा भर्ना भएका बिरामीलाई भेट्न आउने, कुरुवा बस्ने, घरमा गएर पनि अरुसँग घुलमिल भएर बस्ने गरेको पाइएको छ,’ रोकायाले भने, ‘जसका कारण परिवारका सबै सदस्यलाई संक्रमण देखिरहेको छ ।’

धनगढीमा पनि संक्रमण र मृत्यु दर उच्च

कुल एक लाख ८६ हजार २५० जनसंख्या रहेको धनगढी उपमहानगरपालिकामा पनि कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाकै बीच यहाँ संक्रमण फैलिने क्रम तीव्र बनेको हो । झण्डै एक वर्षसम्म चलेको कोरोनाको पहिलो लहरमा ३ हजार ७०० जना संक्रमित फेला परेको धनगढीमा गत चैतदेखि हालसम्म मात्र संक्रमितको संख्या २ हजार ८१५ पुगेको छ ।

धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले उनीहरुमध्ये एक हजार ३९० जनाले कोरोना जितेपनि एक हजार ३७७ जना सक्रिय संक्रमित रहेको जानकारी दिए । गत वर्ष कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएकोमा यस वर्षको करिब डेढ महिनामा झण्डै तीन गुणा बढी ५५ जनाको मृत्यु भएको उपाध्यायले बताए ।

बजार क्षेत्रका वडामा संक्रमण र मृत्यु दर धेरै

धनगढी उपहानगरपालिकाको बजार क्षेत्रमा पर्ने वडाहरुमा संक्रमण र मृत्यु दर धेरै रहेको पाइएको छ । स्वास्थ्य शाखाका अनुसार धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ मा सबैभन्दा धेरै ७२७ जना संक्रमित रहेका छन् । यस्तै बजार क्षेत्र नै पर्ने वडा नम्बर १ मा ३ सय ८८, वडा नम्बर २ मा ३७३, वडा नम्बर ३ र ४ मा ३४३/३४३ जना संक्रमित रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

दोस्रो लहरको संक्रमणका कारण ५५ जनाको मृत्यु भएकोमा सबैभन्दा बढी वडा नम्बर ३ का १४ जना, वडा नम्बर २ का ८ जना, वडा नम्बर ४ र ५ का ६/६ जनाको मृत्यु भएको छ । बजार क्षेत्रमा संक्रमण र मृत्यु दर बढी हुनुको प्रमुख कारण विभिन्न बहानामा हुने आवतजावत नै भएको अधिकारीहरु बताउँछन् ।

‘भारतबाट आउनेहरुलाई उचित रुपमा व्यवस्थापन गर्न नसक्नु हाम्रो ठूलो कमजोरी भयो,’ धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘उहाँहरु निर्वाध रुपमा बजारमा किनमेल गर्ने, एकअर्कालाई भेट्न थाल्नुभयो । त्यसैले संक्रमण तीव्र बन्यो । अर्को कुरा धनगढी प्रदेशको राजधानी भएकाले प्रायःजसो यहाँ मानिसको आवतजावत बढी हुने हुँदा संक्रमण फैलियो ।’ कञ्चनपुरमा जस्तै वैशाख महिनाभर विवाह, ब्रतबन्ध, पूजापाठका कारण पनि धनगढीमा संक्रमण फैलिएको उनले बताए ।

खुकुलो निषेधाज्ञाको परिणाम

कोरोना भाइरसको चेन ब्रेक गर्न भनेर कैलाली र कञ्चनपुरमा स्थानीय प्रशासनले तीन सातादेखि निषेधाज्ञा जारी गरेको छ । प्रशासनले निषेधाज्ञा लागू गरेपनि सुरुका केही दिन खाद्य वस्तुका पसलहरु बिहानको समयमा सञ्चालन भए । उक्त समयमा किनमेलका लागि पुग्ने मानिसहरुको बजार क्षेत्रमा भिडभाड लाग्ने गरेको थियो । अहिले हप्तामा दैनिक तीन दिन बिहानको समयमा अत्यावश्यक सेवाका पसल व्यवसाय खोल्न दिइएको छ । जसका कारण भिडभाड नियन्त्रण हुन सकेको छैन ।

मानिसहरु किनमेलको बहानामा एकअर्काको सम्पर्कमा जाने क्रम बढेकाले संक्रमण पनि फैलिरहेको चिकित्सकले बताउँदै आएका छन् । तर स्थानीय प्रशासनले भने निषेधाज्ञालाई कडाइका साथ लागू गरेको दाबी गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले निषेधाज्ञा कडाइका साथ लागू भइरहेको बताए ।

‘प्रमुख जिल्ला अधिकारीज्यूबाट जारी आदेशमा के गर्ने ? के नगर्ने ? भनेर प्रष्ट रुपमा उल्लेख गरिएकै छ,’ जोशीले अनलाइनखबरसँग भने, ‘एकतर्फी रुपमा प्रशासनले मात्र कडाइ गरेर हुँदैन । कार्यान्वयन गर्ने आम नागरिक र सरोकारवाला सबैको दायित्व पनि हो । अत्यावश्यक सेवाका पसल हप्तामा दुई दिन सञ्चालन भइरहेका छन् । त्यसले नै संक्रमण बढायो भन्न मिल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment