+
+

अध्ययन प्रतिवेदनले सेयर बजारमा के असर पार्छ ?

‘नाम नै तोकेर भन्नु खुला बजारमा हस्तक्षेप भयो’

रोयल आचार्य रोयल आचार्य
२०७८ असार १ गते २१:२६

१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा लगानी गर्न उच्च जोखिम रहेका ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेपछि यसले मिश्रित प्रतिक्रिया पाएको छ ।

पछिल्लो समय इन्साइडर ट्रेडिङ र कर्नरिङको विषय उठान भएपछि बोर्डले सूचीकृत भएका कम्पनीबारे अध्ययन सुरु गरेको थियो ।

बोर्डका अनुसार जोखिमयुक्त ५१ कम्पनी छनोट गर्दा केही आधार लिएको छ । जसमा विगत एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरुको सेयरको मूल्यवृद्धि ३०० प्रतिशत भन्दा बढी वृद्धि भएको, मूल्य आम्दानी अनुपात १०० भन्दा बढी भएको, प्रति सेयर आम्दानी ऋणात्मक भएको, प्रति सेयर अंकित मूल्यभन्दा प्रति सेयर नेटवर्थ कम आदि रहेका छन् ।

धितोपत्र बोर्डले केही दिनअघि विज्ञप्ति जारी गरी सेयर कर्नरिङ हुने गरेको स्वीकार गरेको थियो । कुनै सूचीकृत कम्पनीको सेयर मूल्य कृत्रिम रुपमा बढाउन खोजेमा ३ वर्षसम्म कैद सजाय हुनसक्ने ऐनमै व्यवस्था छ । यो अधिकार धितोपत्र ऐन, २०६३ ले दिए पनि बोर्डले हालसम्म कसैलाई कारबाही गरेको छैन ।

उच्च जोखिम रहेका कम्पनीको धेरै सेयर किनबेच गर्नेलाई अब बोर्डले के गर्छ भन्ने प्रश्न उठेको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बजारलाई सुधार गर्ने काम भर्खर शुरु भएको बताउँछन् । उनले कुनै व्यक्ति वा समूहले कमाउने र अन्य लगानीकर्ता डुब्ने वातावरण सिर्जना हुन नहुने बताए । उनले यस विषयमा अध्ययन गर्ने र दोषी भेटिए कारबाही गर्ने दावी गरे ।

‘कतिपय कानुनीका समस्याका कारण, कतिपय अन्य कुराहरुका कारण कारबाही हुन सकेनन् होला’ उनले भने, ‘अब हामी चुप बस्दैनौं, यसको सुरुवात नै यही हो ।’

अध्ययन रिपोर्टले बजारलाई राम्रो बनाउन सहयोग पुग्ने समेत बताए । ‘कुन कुन कम्पनी कस्तो छन् भन्ने कुरा लगानीकर्ताहरुले हेरेर, बुझेर मात्रै लगानी गर्नुपर्छ, हामीलाई विश्वास छ अब लगानीकर्ता सचेत हुनुहुनेछ’ उनले भने ।

के भन्छन् लगानीकर्ता ?

लगानीकर्ताका संग संघठनका नेताहरुले बोर्डको यो कदमलाई सकारात्मक भनेका छन् । तर अब यो सूची सार्वजनिक गरेपछि के गर्ने भन्नेमा बोर्ड स्पष्ट हुनुपर्ने उनीहरुको भनाइ छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बोर्डको प्रतिवेदनले अलि राम्रो कम्पनीमा लगानी गर्नुपर्छ भन्ने चेतना फैलिएको बताउँछन् ।

तर कम्पनीहरुको नाम नै तोकेर यति मूल्य हुनुपर्छ भन्ने आशयको रिपोर्ट आउनु खुला बजारमाथिको हस्तक्षेप हुने उनको भनाइ छ ।

यो सूचीमा केही राम्रा कम्पनीहरु समेत भएको उनको दावी छ । अब सूची नै सार्वजनिक भइसकेपछि कुन कुन कम्पनीलाई के कारबाही गर्ने वा (फुकुवा गर्ने) यत्तिकै छाड्ने विषय बोर्डले चाँडो निर्णय लिनुपर्ने उनले बताए ।

‘बोडले नाम सार्वजनिक गर्‍यो भनेर जो कोही लगानीकर्ता डराउने कुरा हुँदैन, यसले राम्रो कम्पनीमा लगानी गर्नुपर्छ भन्ने सन्देश गएको छ’ रौनियारले भने, ‘नराम्रो कम्पनी तर अस्वाभाविक मूल्य बढेको, लामो समयदेखि लाभांश नदिएको कम्पनीहरु कुन कुन हो भनेर चिन्ने मौका समेत यसले दिएको छ ।’

अब बोर्डले पूरा छानविन गर्नै पर्ने र बदमासी गरेको भेटिए कारबाही हुनुपर्ने उनी बताउँछन् ।

बोर्डले नकारात्मक नसोची स्पष्ट काम गर्ने हो भने ३० देखि ४० वटा कम्पनी जोखिमयुक्त सूचीबाट चाँडै फुकुवा हुने उनको दावी छ । बाँकी केही कम्पनीहरुमा भने अलि लामो समयसम्म समस्या हुनसक्ने उनले बताए ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बोर्डको यो प्रतिवेदन सकारात्मक भए पनि समय गलत भएको बताउँछिन् । ‘यतिबेला धेरै मान्छेहरु भए भरको पैसा बजारमा खन्याएर बसेका छन्’ उनले भनिन्, ‘बजार तीन हजार माथि पुगेपछि यस्तो रिपोर्ट आउँदा लगानीकर्ताको मनस्थितिमा नराम्रो असर गर्ला कि भन्ने चिन्ता छ ।’

नेपाल स्टक एक्सचेञ्जले निर्देशन पालना नगरेको भन्दै विशाल बजार, राष्ट्रिय बिमा कम्पनी लगायतका कम्पनीको सेयर कारोबार लामो समय रोक्का गरिदिएको थियो । कारोबार रोक्का हुँदा लगानीकर्ताको पुँजी बन्धक हुन्छ । आफ्नो कम्पनीको सेयर कारोबार रोक्का हुने हो कि भन्ने लगानीकर्तामा आशंका रहेको उनले बताइन् । यसले लगानीकर्ताको मनोबल घट्ने हो कि जस्तो देखिएको उनी बताउँछिन् ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेल भने लगानीकर्ताले हेरेर नै लगानी गर्ने भएकाले खासै असर नपर्ने अनुमान गर्छन् । ‘लगानीकर्ताहरु आँखा चिम्लेर लगानी गर्न आएका छैनन्, बुझेर नै लगानी गर्ने हो’ उनले भने, ‘उहाँहरु (बोर्ड)ले अविभावकत्व देखाउनुभएको होला, ठीकै छ तर यसले ठूलो असर नगर्ला ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?