५० प्रभावशाली महिला किन ?
मार्च महिनाले त्यसै पनि महिला चेतना, विद्रोह र योगदानलाई सम्झाउँछ । महिला अस्तित्व र पहिचानको विषयलाई अरू बेला गौण नै ठान्ने गरेका पक्षहरूलाई पनि केही क्षण नै सही, त्यता फर्किन प्रेरित गर्छ ।
त्यसो त, हामी ८ मार्चका बेला मात्रै महिलाको कुरा गर्दैनौं । किनभने हाम्रो व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रको जीवनमा लैंगिक समानता, सहभागिताले सर्वत्र काम गरेको छ ।
अनलाइनखबरले ५० प्रभावशाली महिलाको खोजी गर्न थालेको यो तेस्रो वर्ष हो । हामीले ८ मार्चको छेकमा गर्ने गरेको यो थालनी पछिल्लो आम चुनावसँग जुधेको समयका कारण एक महिनापछि धकेलिएको हो ।
तर, हामीलाई यसमा कुनै खेद वा विस्मात् छैन । नेपालको इतिहासमा पहिलोपल्ट महिला प्रधानमन्त्री बन्न पुगेकी सुशीला कार्कीले आफ्नो नेतृत्वमा गराएको आम चुनाव, जसले जेनजी विद्रोहपछिको संक्रमण टार्न सफल र निर्णायक पहल गर्यो । बालेन शाह नेतृत्वको नयाँ सरकारमा आएका मन्त्रीहरू होउन् या नयाँ संसद्का अनुहार- हामी जताततै शक्तिशाली महिला सहभागिता देख्न सक्छौं ।
युवा महिलाहरूको सहभागिता त्यसभित्रको उल्लेख्य सकारात्मक पक्ष हो । अनलाइनखबरले ५० प्रभावशाली महिलाको तेस्रो संस्करण सार्वजनिक गर्दैगर्दा यो अपेक्षा राख्छ कि, पछिल्लो चुनावी मतादेशले नेपालमा वर्षौंदेखि जमेर रहेको राजनीतिक यथास्थितिलाई सकारात्मक परिवर्तन मार्फत प्रतिस्थापित गर्न सकोस् । यो युगान्तकारी पहलमा महिलाहरू निर्णायक बन्न सकुन् ।
हाम्रा लागि यो वर्षको ५० प्रभावशाली महिलाको खोजी, अनि सार्वजनिकीकरण आफैंमा एउटा उल्लासमय पर्व पनि हो ।
यति हुँदाहुँदै पनि महिला आफैंमा एउटा वर्ग बन्न पुगेको छ । प्रकृतिले पुरुष वा अन्य लिंग जस्तै समान रूपले जैविक उत्पादन गरेको हो । तर सामाजिक संरचना र सांस्कृतिक व्यवहारले धनी-गरिब, शहर-गाउँ, शिक्षित-अशिक्षित सबैखाले महिलालाई कुनै न कुनै प्रकारको विभेदमै राख्यो ।
११५ वर्षअघि अमेरिकाका कपडा कामदार महिलाले समान ज्यालालगायत सुविधा माग्दै थालेको आन्दोलन विस्तारित हुँदै महिलाका राजनीतिक अधिकारहरूको प्राप्तिमा केन्द्रित भएको थियो । अधिकांश देशमा महिलाहरू चुन्ने र चुनिने अर्थात् निर्वाचनको अधिकार समेत प्रयोग गर्न पाउँदैनथे ।
अचेल यो विभिन्न चरणका संघर्ष तथा अन्तरक्रियाबाट गुज्रिंदै इन्टरसेक्सनालिटी अर्थात् विभिन्न यौनिकतासँग समेत जोडिएको मुद्दा बन्न पुगेको छ । अनि उपल्लो वर्गको कोठे बहस मात्रै नभई सीमान्तकृत वर्ग, समुदाय समेतका महिलाका लागि अधिकार, संघर्ष, महिला हुनुको अस्तित्व उत्सव मनाउने विषय पनि भएको छ ।
यस अर्थमा महिला हुनुको भाव समानताको संघर्षमा मात्रै अब सीमित रहेन, बरु यो नेपालको संविधानले प्रत्याभूत गरेको अधिकार समेत भइसक्यो । लैंगिक हकलाई सहअस्तित्व र समाजका हरेक क्षेत्रमा महिलाको अनिवार्य उपस्थिति र वैचारिक सहकार्य सहित सुनिश्चित गरिएको छ ।
यसर्थ, अनलाइनखबरले थालेको यो प्रयत्न महिलाको संघर्ष, सशक्तीकरण, साधना, प्रतिभाको महोत्सव पनि हो । नेपाली राजनीति, समाज, संस्कृति, खेलकुद, ज्ञान-विज्ञान आदि क्षेत्रका महिलाको अर्थपूर्ण उपस्थिति सार्वजनिक मञ्चमै गणना हुने विषय बन्न सकोस् भनी हामीले ४६० बढीको प्रारम्भिक सूची तयार पार्यौं ।
समानता र सहअस्तित्वको यात्रामा सँगै अघि बढौं, ताकि हाम्रा हरेक दिनहरू ८ मार्च बन्न सकून् ।
त्यो प्रारम्भिक सूची बनाउन हाम्रो सार्वजनिक आह्वान, त्यसमा सहभागी हुन प्रेरित गर्ने सयौं महिला, पुरुष अनि समाचार कक्षका सहकर्मी, विभिन्न सरोकारवाला तथा स्रोतहरूले भूमिका निर्वाह गरेका छन् । प्रदेश, जिल्ला, पालिका तथा प्रवाससम्मका सहकर्मी र शुभेच्छुकहरूसँग हामीले सुझाव लिएका छौं ।
उपलब्ध प्रारम्भिक सूचीलाई हामीले निर्णायक अर्थात् छनोट समितिसमक्ष पेश गर्यौं । उहाँहरूको छनोट तथा सिफारिसमा आधारित भएर ५० प्रभावशाली महिलाको यो सूची सार्वजनिक गरेका छौं ।
प्रभावशाली भनेपछि कतिपयलाई शक्तिको प्रयोगका कारण चम्केका महिला भन्ने लाग्न पनि सक्छ । खासमा आफ्नो मेधा, प्रतिभा अनि निरन्तरको संघर्ष र समर्पण साथै नयाँ उपलब्धिको खोजीका लागि अवरोधहरू चिर्दै डट्ने सामर्थ्य भएका व्यक्तिमध्ये ५० महिलाको यो अन्तिम सूची तयार भएको हो ।
र, यो कुनै सीमित समूह वा वर्ग भित्र लक्षित छैन । हामीले नेपाली समाजको प्रत्येक इकाइ भित्र पसेर अध्ययन गर्ने कोसिस गरेका छौं, जसमध्येबाट छानिएका नामहरूलाई हामी हाम्रा आदरणीय पाठक बीच सगर्व सार्वजनिक गर्न चाहन्छौं ।
सार्वजनिक आह्वानमा नाम समावेश नभएका र हाम्रो समाचार कक्ष तथा संवाददाताहरूको नजर बाहिर रहेका त्यस्ता थुप्रै नाम छन्, जसले आफ्नो कर्मद्वारा आफू, परिवार, समाज र देशलाई योगदान दिइरहेका छन् ।
हाम्रो क्षमता र सीमाका कारण उहाँहरू यो सूची बाहिर रहनुभएको हामी सविनय निवेदन गर्न चाहन्छौं । संरचनागत लाभांशमा छुटेका थुप्रै महिला, जो आफ्नो योगदान र संघर्षका बीच पनि यस सूचीमा अटाउन सकेनन्; उनीहरूका योगदान यो सूचीमा समेट्न नसकिए पनि तिनको महत्व अवश्य कम छैन ।
देशमा कतिपय नकारात्मक परिसूचकका बीच पनि आशाका किरणहरू छन् । समाजमा सुस्तरी परिवर्तन आइरहेको छ । र, त्यो सुधार र परिवर्तनको अगुवा पात्रमा थुप्रै महिला छन् । भावी नेपाललाई देश-देशावरबाट तिनले उज्यालो बाटो देखाउँदै जाने छन् ।
यस्ता पात्रहरू अरू थुप्रै आउनेवाला छन्, जसले नेपालमा केही भएको छैन, केही हुनेवाला छैन भन्ने भाष्यलाई चुनौती दिंदै समाजमा केही भइरहेको छ र आ-आफ्नो क्षेत्रबाट योगदान दिइरहेका छन् । यो सूची त्यसैको एक प्रतिविम्ब हो । यस्ता सूचीहरू प्रत्येक वर्ष आउने छन् ।
हामी प्रत्येक संघर्षशील महिलाले खेलेको भूमिकाको कदर पनि गर्न चाहन्छौं । हाम्रा समाचार सामग्री, वैचारिक आलेख, अन्तर्वार्ता इत्यादिमा त्यस्ता नामहरू आगामी दिनमा पनि समेटिंदै जाने छन् । हामी यसमा रचनात्मक सुझाव, प्रतिक्रिया, आलोचनालाई खुला स्वागत गर्नेछौं । समानता र सहअस्तित्वको यात्रामा सँगै अघि बढौं, ताकि हाम्रा हरेक दिनहरू ८ मार्च बन्न सकुन् ।