+

शेयर बजार

३० च्याप्टर
Chapter - 3

शेयर बजारमा लगानी : नवप्रवेशीका लागि चरणबद्ध मार्गदर्शन

२०८० चैत  १४ गते १७:४२ २०८० चैत १४ गते १७:४२

शेयर बजारको लगानी समयसँगै सम्पत्ति बढाउने एउटा उचित तरिका हो । यसका लागि राम्रोसँग सोचविचार गरेर योजनाबद्ध तरिकाले लगानी सम्बन्धी निर्णय गर्नु आवश्यक हुन्छ ।

पूर्व तयारीका केही महत्वपूर्ण कुराः

१. डिम्याट खाताः धितोपत्रहरूलाई अभौतिक रूपमा सुरक्षित रूपमा राख्न र हस्तान्तरण गर्न डिम्याट खाता चाहिन्छ । तसर्थ धितोपत्र बजारमा प्रवेश गर्नुअघि डिम्याट खाता खोल्नुहोस् । तर डिम्याट खाता खोल्नुअघि लगानीकर्ताहरूले बैंक खाता अनिवार्य रूपमा खोलेको हुनुपर्दछ ।

२. वित्तीय लक्ष्यः तपाईंंले लगानी सुरु गर्नुअघि आफ्नो वित्तीय लक्ष्यहरू निर्धारण गर्नुपर्छ । तपाईंं अवकाश जीवनका लागि बचत गर्दै हुनुहुन्छ कि केवल आफ्नो सम्पत्ति बढाउन खोज्दै हुनुहुन्छ ? आफ्ना लक्ष्यहरू जान्नाले तपाईंंलाई सचेत लगानी निर्णयहरू गर्न मद्दत गर्नेछ । छोटो समयको कारोबारी हुने कि लामो समयको लगानीकर्ता भएर लगानी गर्ने निश्चित गर्नुपर्छ ।

सावधानः बजार प्रवेश गर्नेमध्ये केहीले विना लक्ष्य लगानी गर्दा सम्पत्ति बढ्नुको सट्टा भएको सम्पत्ति पनि सकेका उदाहरणहरू छन् । कहिलेकाहीं बजार एउटा यस्तो मोडमा पुग्छ जहाँ लगानीकर्तालाई लाग्छ कि बजार अझै माथि जान्छ । तर लगानीकर्ताको अनुमान विपरित बजार घट्न थाल्छ । बजार मूल्य बढ्दा लगानीकर्ता बेच्नुको सट्टा अरू शेयरमा लगानी बढाउनेतर्फ लाग्छ र अन्त्यमा घाटा व्यहोर्नुपर्छ ।

३.आपतकालीन कोषः शेयरमा लगानी गर्नुपूर्व तपाईंंसँग घरायसी खर्चका लागि आवश्यक आपतकालीन कोष हुनुपर्छ । जसले बजारमा आउने अप्रत्याशित गिरावटको अवस्थामा सुरक्षा प्रदान गर्छ ।

सावधानः शेयरमा तपाईंंले सम्पूर्ण सम्पत्ति लगानी लगाउनुभएको छ भने बजारको सानो सानो गिरावटमा पनि नोक्सानी व्यहोर्नुपर्छ । किनभने कुन समयमा बजारले कस्तो गति लिन्छ थाहा हुँदैन ।

४.ऋणः नयाँ लगानीकर्ता ऋण लिएर शेयर बजारमा नआउँदा उचित हुन्छ । अनुभव हासिल गरेपछि ऋण लिएर पनि कारोबार गर्न सकिन्छ तर उच्च ब्याजबाट जोगिनुपर्छ । उच्च ब्याजको ऋण लिएर लगानी गर्दा सम्पत्ति निर्माण नभई उल्टो घाटा हुनसक्छ ।

५. शेयर शिक्षाः शेयर बजारमा उपलब्ध लगानीका विभिन्न विकल्पहरू, प्राविधिक र आधारभूत वित्तीय अवधारणाहरू बारे जान्नको लागि समय निकाल्नुहोस् । यी विषयहरूमा धेरै अनलाइन स्रोत, पुस्तक र पाठ्यक्रमहरू उपलब्ध छन् । केही पुस्तकहरूको चर्चा शेयर बजार लगानीकर्ता तथा कारोबारीले पढ्नै पर्ने पुस्तक खण्डमा गरिएको छ ।

६.कारोबार खाता: धितोपत्र किन्न र बेच्नको लागि तपाईंंले दलाल (ब्रोकर) कहाँ गएर कारोबार खाता खोल्नुपर्छ । आफूलाई पायक पर्ने ब्रोकर छनोट गर्नुहोस् । यस्तो खाता अनलाइनबाट पनि खोल्न सकिन्छ ।

७. पोर्टफोलियो विविधीकरणः विविधीकरणले लगानीमा हुने जोखिम कम गर्न मद्दत गर्छ । यदि तपाईंं नयाँ लगानीकर्ता हुनुहुन्छ भने लगानीलाई विविधीकरण गर्नु झन् आवश्यक हुन्छ । तपाईंंले लगानी गर्दा इक्विटी, म्युचुअल फन्ड, बन्ड, डिबेन्चर जस्ता विविध धितोपत्रमा लगानी गर्नुपर्छ । यसैगरी क्षेत्रगत (वित्तीय, उत्पादन, व्यापार, सेवा) रूपमा पनि विविधीकरण गर्नु उचित हुन्छ ।

८.नियमित लगानीः आफूलाई सहज हुने रकमबाट सुरु गर्नुहोस् र नियमित रूपमा लगानी गर्ने प्रयास गर्नुहोस् चाहे त्यो मासिक, त्रैमासिक वा वार्षिक होस् । बजार अस्थिरताले निम्त्याउने क्षतिलाई कम गर्न यसले मद्दत गर्छ ।

९.दीर्घकालीन दृष्टिः शेयर बजारमा लगानी सामान्यतया दीर्घकालीन प्रयास हो । छोटो अवधिको बजार उतारचढावमा आधारित आवेगपूर्ण निर्णयहरू नगर्नुहोस् । बजार आफ्नो ट्रेन्डमा चल्छ, बुलिस ट्रेन्डमा भएको बेलामा सानोतिनो घटाइमा खरिदलाई ध्यान दिनुपर्छ र बियरिस ट्रेन्डमा किन्ने कोसिस गर्नुहुँदैन । चाहे तपाईंं दीर्घकालीन लगानी गर्नुहोस् वा अल्पकालीन कारोबार, यो सबैमा लागू हुन्छ ।

१०. पोर्टफोलियो व्यवस्थापनः आफ्नो लगानी लक्ष्य र जोखिम सहनशीलतासँग मेल खाने गरी लगानी भएको छ कि छैन सुनिश्चित गर्न नियमित रूपमा समीक्षा गर्नुहोस् । आवश्यक भएमा आफ्नो पोर्टफोलियोलाई पुनर्संरचना गर्नुपर्ने हुन्छ ।

११. जानकारी राखौंः लगानीकर्ताले वित्तीय समाचार र बजार प्रवृत्तिको जानकारी राख्नु आवश्यक हुन्छ । किनकि शेयर बजारलाई भावनात्मक बजार पनि भनिन्छ । बजारका साना–साना समाचार तथा घटनाहरूले मूल्यमा प्रभाव पार्छ । तर समाचारका हेडलाइन वा भावनामा आधारित भएर लगानी निर्णय नगर्नुहोस् ।

१२. करका प्रभावः तपाईंंको लगानीमा विभिन्न किसिमका कर (लाभांश कर, ब्याज आम्दानी कर, पूँजीगत लाभ कर, आयकर)लाग्छन् । यस किसिमका करहरूबाट लगानीमा पर्न सक्ने प्रभावबारे सचेत रहनुहोस्, यसबारे ब्रोकरसँग जानकारी लिनुहोस् ।

१३. व्यावसायिक सल्लाहः तपाईंं आफ्नो लगानी रणनीति बारे अलमल हुनुहुन्छ वा व्यक्तिगत मार्गदर्शन चाहिन्छ भने वित्तीय सल्लाहकारसँग परामर्श गर्दा उचित हुन्छ । साथीभाइ वा सामाजिक सञ्जालका सल्लाहले तपाईंंको सम्पत्ति बढोत्तरीमा सहयोग पु¥याउँछ भन्ने हुँदैन ।

१४. धैर्य र अनुशासनः लगानीमा उतारचढाव हुन्छ । आफूले गरेको अध्ययन, अनुसन्धानलाई र कम्पनीलाई विश्वास गरेर गरेको निर्णयमा धैर्य र अनुशासित भएर बस्नुपर्छ । अरूको वा सामाजिक सञ्जालका कुरालाई लिएर गरिने निर्णयहरूबाट जोगिनुपर्छ ।

याद गर्नुहोस्, लगानीमा जोखिम पनि हुन्छ, लगानी गर्दैमा पैसा कमाउने ग्यारेन्टी हँदैन । वस्तारै आफ्नो लगानी बढाउनुहोस् र सिक्ने कार्यलाई जारी राख्नुहोस् । समयसँगै तपाईंंको वित्तीय स्थिति र लक्ष्य विकसित हुँदै जान्छन् र सोही अनुरूप तपाईंं आफ्नो रणनीति समायोजन गर्न सक्नुहुन्छ ।

नवप्रवेशीका लागि मार्गदर्शन
नयाँ लगानीकर्ताले सुरुवाती चरणमा कस्तो प्रकारको लगानी रोज्नुपर्छ भन्ने चर्चा गरौं । लगानीको लक्ष्यका आधारमा दुई प्रकारका लगानी शैली हुन सक्छन् । छिटो नाफा कमाउने उद्देश्य राख्नुहुन्छ भने छोटो अवधिको लगानीमा ध्यान दिन सक्नुहुन्छ ।

लगानीकर्ताले उच्च जोखिम लिन नचाहने हो भने दीर्घकालीन लगानीमा पनि जोड दिंदै जानुपर्छ । तर दुवै प्रकारको लगानीको मिश्रण सुरुवाती रूपमा शेयर बजार बुझ्नको लागि राम्रो निर्णय हुनसक्छ ।

बजार प्रवेशका लागि गर्नुपर्ने महत्वपूर्ण कुरा

पहिलो चरणः

  • बैंक खाता खोल्नुहोस्
  • डिम्याट खाता खोल्नुहोस्
  • मेरो शेयरको लगइन आइडी र पासवर्ड लिनुहोस्
  • बैंकमा गएर C-ASBA को फारम भरेर CRN नम्बर लिनुहोस् ।

यति ४ वटा काम सकेपछि पहिलो चरणको तयारी पूरा हुन्छ । यत्तिकैमा तपाईं कुनै शेयर खरिद गरी नाफा खातामा आएको कल्पनामा डुब्ने बेला भएको छैन । हामी तपाईंलाई शेयरमा लगानी, त्यसको प्रतिफल, जोखिम सम्पूर्ण जानकारी गराउँदै जानेछौं । पहिलो चरणमा तपाईंले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) भर्न सक्नुहुन्छ । तपाईंको लगानीको यात्रा यहींबाट सुरु हुन्छ ।

दोस्रो चरण:

५. ब्रोकर खाता खोल्नुहोस्ः दोस्रो चरणमा आफूसँग रहेका शेयर बेच्न वा सूचीकृत कम्पनीका नयाँ शेयर खरिद गर्न तपाईंंले ब्रोकर खाता खोल्नुपर्ने हुन्छ । ब्रोकर खातालाई कारोबार खाता पनि भन्ने गरिन्छ । ब्रोकर खाता खोल्दै गर्दा हिजोआज अनलाइन कारोबार प्रणाली विद्यमान रहेको छ ।

तसर्थ आफैंले आफ्नो कारोबार गर्ने भएमा ब्रोकरसँग कारोबार व्यवस्थापन प्रणाली TMS (Trading Management System) पनि लिनुहोस् । TMS ब्रोकर खाताको परिपूरक हो । ग्राहकले आफैंले कारोबार सञ्चालन गर्ने भएमा TMS लिनुपर्ने हुन्छ । यसलाई ब्रोकर खाता सँगै लिन सकिन्छ । हिजो आज ब्रोकर खाता अनलाइनबाट समेत खोल्न सकिने व्यवस्था रहेको हुन्छ ।

६. पोर्टफोलियो विविधीकरण सहितको लगानी गर्न क्षेत्रहरू सुनिश्चित गर्नुपर्छ । हाम्रो शेयर बजारमा १२ वटा क्षेत्र छन्, जानकारी राखौंं ।

  • Banking Sector
  • Development Bank Sector
  • Finance Sector
  • Hotel and Tourism Sector
  • Hydro Power Sector
  • Investment Sector
  • Life Insurence Sector
  • Manufacturing and Processing Sector
  • Micro Finance Sector
  • Non-Life Insurance Sector
  • Others  Sector
  • Trading Sector

७. फागुन मसान्त २०८० सम्म नेप्सेमा सूचीकृत कम्पनी संख्या २७१ पुगेको छ । तीमध्ये केही कम्पनी (अरुण वनस्पति उद्योग, बिराट सुज, बुटवल धागो कारखाना, गोरखकाली रबर उद्योग, हरिसिद्धि इट्टा उद्योग, ज्योति धागो कारखाना, नेपाल बिटुमिन एण्ड ब्यारेल उद्योग, नेपाल खाद्य उद्योग, नेपाल बनस्पति घी उद्योग, रघुपति जुट मिल, श्री भृकुटी कागज कारखाना लगायतको) कारोबार हुँदैन ।

बाँकी कम्पनीका शेयरमा लगानी गर्न सकिन्छ । मूल्यको हिसाबले हेर्दा सबैभन्दा उच्च मूल्य भएको शेयर युनिलिभर (UNL) हो । २०८० मंसिर १० गते यस कम्पनीको मूल्य प्रतिकित्ता ४२ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

८. नियमित लगानीले लगानीकर्ताको बचतलाई बढाउँदै लैजान्छ । शेयरमा गरेको लगानीमा आउने प्रतिफल तुलनात्मक रूपमा धेरै हुन्छ । शेयरमा दुई किसिमले लाभ प्राप्त हुन्छ । खरिद गरेको मूल्यभन्दा बिक्री गर्दा आउने मूल्य बढी हुँदा प्राप्त हुने नाफा पहिलो किसिमको लाभ हो । शेयरधनीलाई कम्पनीले प्रदान गर्ने नगद लाभांश बोनस शेयर दोस्रो किसिमको लाभ हो ।

धेरै पढिएका

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

शेयरको फेस भ्यालु भनेको के हो ?

जसरी केन्द्रीय बैंकले कागजी नोट जारी गर्दा त्यसमा मूल्य लेखिएको हुन्छ त्यसैगरी शेयरको पनि मूल्य तोकिएको हुन्छ । यसलाई अंकित...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

0 %

पढिसक्नुभयो !