+

शेयर बजार

३० च्याप्टर
Chapter - 1

शेयर भनेको के हो ?

२०८० चैत  १४ गते १३:५१ २०८० चैत १४ गते १३:५१

शेयर भनेको कुनै पनि कम्पनीमा रहेको पूँजीलाई कम्पनीको चुक्ता मूल्यले भाग गरी निकालिएको कित्ता संख्यालाई शेयर भनिन्छ । अर्थात् कुनै पनि कम्पनीमा कुनै व्यक्तिको शेयर हुनुको अर्थ सो कम्पनीमा सो व्यक्तिको पनि मालिकको हक छ अर्थात् हिस्सा छ भनेर बुझ्नुपर्दछ ।

नेपालको धितोपत्र बजारलाई नियमन गर्ने धितोपत्र ऐनले शेयर शब्दलाई ‘धितोपत्र’ शब्दावलीमा समेटेर ‘धितोपत्र’ शब्दलाई परिभाषित गर्दै भनेको छ– ‘धितोपत्र भनेको संगठित संस्था वा कम्पनीले जारी गरेको शेयर, स्टक, बन्ड, डिबेन्चर, डिबेन्चर स्टक वा सामूहिक लगानी योजना सम्बन्धी प्रमाणपत्र वा नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गरेको ऋणपत्र, बचतपत्र वा बण्ड सम्झनुपर्छ र सो शब्दले धितोपत्र बजार मार्फत कारोबार हुनसक्ने वा हस्तान्तरण हुनसक्ने भनी बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो धितोपत्र खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्र समेतलाई जनाउँछ ।

अर्थात् कम्पनीले आफ्नो कम्पनीको शेयर खरिद गर्न चाहने व्यक्तिलाई उसले लगानी गर्न चाहेको रकमलाई वा पूँजीलाई प्रति कित्ता मूल्यले भाग गरी आउने जे–जति कित्ता वा हिस्सा आउँछ त्यति बराबरको हिस्सालाई शेयर भनिन्छ ।

पहिले–पहिले यसरी कुनै पनि कम्पनीको मालिकाना हक यति छ भनेर व्यक्तिले किने बराबरको संख्या उल्लेख गरेर कम्पनीमा मालिकाना हक छ भनेर शेयरको भौतिक प्रमाणपत्र दिइने चलन थियो । अहिले पनि सूचीकृत हुनुभन्दा अघिको अवस्थामा कतिपय कम्पनीहरूले आफ्नो शेयरधनी वा मालिकहरूलाई शेयर प्रमाणपत्र दिएको हुन्छ ।

यस्तो शेयरको प्रमाणपत्रले कुनै पनि कम्पनीमा कुनै व्यक्तिको के–कति हिस्सा वा अंश छ भनेर जनाउँदछ । इक्विटी वा शेयर वा स्टक जे भने पनि यी सबै शब्दले कम्पनीको लागि जुटाएको पूँजीलाई बाँडफाँट गरी सो कम्पनीका मालिकहरूमा कम्पनीको मालिकाना हकलाई जनाउने शब्दावलीहरू हुन् । हिजोआज सूचीकृत कम्पनीहरूले सर्वसाधारणमा शेयर जारी गरेपछि त्यसबापत शेयर प्रमाणपत्र नदिई हितग्राही खाता अर्थात् डिम्याट खातामा अभौतिक रूपमा शेयर जम्मा गरिदिने व्यवस्था रहेको छ ।
शेयरको बारेमा तलको उदाहरणबाट थप विस्तृत रूपमा थाहा पाउन सकिन्छ ।

१०० जना मान्छेहरू मिलेर १ करोड पूँजीको कम्पनी स्थापना गर्न सहमत भए । नेपालको कानुन अनुसार हाल १ कित्ता शेयरको १० रूपैयाँ चुक्ता मूल्यदेखि १०० चुक्ता मूल्य राखेर कम्पनी स्थापना गर्न सकिने व्यवस्था रहेको छ । यसमा यी मान्छेहरूले १ कित्ता शेयरको रु.१०० चुक्ता मूल्य राख्ने निर्णय गरे भने १ करोड पूँजीलाई रु.१०० ले भाग गर्दा १ लाख वटा कित्ताको कम्पनी हुने रहेछ । यसरी १ लाख कित्तामध्ये १०० जना मान्छेहरूले प्रति व्यक्ति १००० कित्ता लिने निर्णय गरेर सोही अनुसार पूँजी जम्मा गरी कम्पनी स्थापना गरे भने यहाँ शेयर भनेको कम्पनीको कुल चुक्ता पूँजीलाई प्रति कित्ता चुक्ता मूल्यले भाग गर्दा आउने कित्ता संख्यालाई शेयर भनेर बुझ्नुपर्ने हुन्छ ।

कुनै पनि कम्पनीमा नियामकले प्रतिबन्ध लगाएको अवस्थामा बाहेक एक लगानीकर्ताले कम्पनीको १ कित्ता किन्नेदेखि कम्पनीको सबै पूँजी बराबरको कित्ता किनेर लगानी गर्न सक्दछ । एकै जनाले लगानी गर्ने वा केही सीमित व्यक्तिहरूले लगानी गरेर खोलिएको कम्पनीलाई प्राइभेट लिमिटेड कम्पनी भनिन्छ । यस्तो प्राइभेट लिमिटेड कम्पनीहरूले धितोपत्र ऐन २०६३ अनुसार सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन गरी शेयर जारी गर्न भने पाउँदैनन् ।

सर्वसाधारणमा शेयर जारी गर्ने कम्पनीहरू पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापना हुनुपर्दछ वा प्राइभेट लिमिटेड भएको खण्डमा त्यस्ता कम्पनीहरूले समेत आफूलाई परिमार्जन गरी पब्लिक लिमिटेड कम्पनी बन्नुपर्ने हुन्छ । पब्लिक लिमिटेड कम्पनीहरूमा न्यूनतम ७ जना शेयरधनी हुनुपर्दछ भने अधिकतम जति पनि हुन सक्दछन् । त्यसैगरी पूँजीको हकमा समेत न्यूनतम रु.१ करोड चुक्ता मूल्यदेखि अधिकतम पूँजी जति पनि हुन सक्दछ ।

तसर्थ शेयर भनेको कम्पनीको पूँजीलाई कित्तामा गरिएको परिवर्तन मात्रै हो । कित्तामा परिवर्तन गर्नको लागि सो कम्पनीको प्रकृति अनुसार उसको प्रति कित्ता चुक्ता मूल्यले भाग गर्नुपर्दछ । यसरी कित्तामा परिवर्तन गरिसकेपछि व्यक्तिहरूले के–कति रकम बराबरको सो कम्पनीको के–कति कित्ता लिने हो सो अनुसारले रकम भुक्तानी गर्नुपर्दछ । यसरी रकम भुक्तानी गरेर कित्ता किन्ने व्यक्तिहरूलाई सो कम्पनीको शेयरधनी भनिन्छ ।

शेयरका प्रकार
कम्पनीका शेयरहरू मूलतः दुई प्रकारका हुन्छन् ।

१. साधारण शेयरः
साधारण शेयर भनेको कम्पनीको चुक्ता मूल्य बराबरको शेयर संख्या हो । यस्तो शेयर धारण गर्ने व्यक्तिहरूले कम्पनीको साधारणसभामा भाग लिन तथा निर्वाचनमा भोटिङ्ग गरी सञ्चालक छनोट गर्ने अधिकार प्राप्त गर्दछन् । यस्ता शेयर धारण गर्ने व्यक्तिहरू कम्पनीको मूल शेयरधनीहरू हुन् । यिनीहरूले कम्पनीले गरेको मुनाफाबाट सरकारलाई तिर्नुपर्ने कर, बैंक तथा अन्य ऋणीहरूलाई तिर्नुपर्ने ब्याज तिरेपछिको मुनाफामा लाभांश लिने अधिकार हुन्छ ।

२. अग्राधिकार शेयरः
अग्राधिकार शेयर भनेको नामैले साधारण शेयरधनी भन्दा लाभांशमा पहिलो प्राथमिकता हासिल गर्ने शेयरधनी भनेर बुझिन्छ । तर यस्तो अग्राधिकार शेयर धारण गर्ने शेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन तथा भोटिङ्ग गर्ने अधिकार भने पाउँदैन । यस्ता शेयरधनी सामान्यतया कम्पनीका ऋणी सरहका शेयरधनीहरू हुन् ।

अग्राधिकार शेयर निश्चित अवधिका लागि मात्रै जारी गरिएको हुन्छ । सो अवधि पूरा गरेपछि सो शेयर धारण गर्ने शेयरधनीहरूलाई उनीहरूले धारण गरेको शेयर बराबरको रकम तथा प्रतिफल फिर्ता गरिन्छ । वा निश्चित शेयरलाई साधारण शेयरमा परिवर्तन गरी बाँकी रहेको शेयर बराबरको रकम नगद फिर्ता गरिन्छ ।

कम्पनीले व्यवसाय विस्तारका क्रममा आफूलाई आवश्यक वित्तीय स्रोत विभिन्न तरिकाबाट प्राप्त गर्ने गर्दछ । त्यसमध्ये कम्पनीले आफ्नो साधारण शेयर जारी नगरी अग्राधिकार शेयर मात्रै जारी गरेर पनि वित्तीय आवश्यकता परिपूर्ति गर्न सक्दछ । यसरी शेयर जारी गर्दा कम्पनीको आफ्नो गुडविल तथा ब्रान्ड अनुसार विभिन्न शर्त सहित वा शर्त रहित शेयर जारी गर्न सक्दछ ।

अग्राधिकार शेयरका प्रकारः
अग्राधिकार शेयरका प्रकार निम्नानुसार रहेको हुन्छ ।
१. निश्चित प्रतिफल तोकिएको वा नतोकिएको अग्राधिकार शेयरः
यस्तो अग्राधिकार शेयर धारण गर्ने व्यक्तिहरूले निश्चित प्रतिफल पाउने भनेर तोकिएको छ भने कम्पनी मुनाफामा गए पनि नगए पनि यिनीहरूले कम्पनीबाट प्रति वर्ष निश्चित प्रतिफल पाउने गर्दछन् । यदि प्रतिफल दिने शर्त छैन भने यस्ता शेयरधनीहरूले कम्पनीले मुनाफा गरेको खण्डमा मात्रै कम्पनीबाट प्रतिफल प्राप्त गर्न सक्दछन् ।

२. कन्भर्ट गर्न मिल्ने अग्राधिकार शेयरः
यस्तो अग्राधिकार शेयरलाई यसको परिपक्व हुने अवधि पुगेपछि साधारण शेयरमा परिवर्तन गर्ने गरिन्छ । यसरी परिवर्तन गर्दा समेत शर्तमा उल्लेख भएबमोजिम केही प्रतिशत मात्रै साधारण शेयरमा परिवर्तन गर्न सकिने भएमा सो अनुसार साधारण शेयरमा परिवर्तन गरिने तथा बाँकी रकम फिर्ता गर्ने वा शर्तमा सबै शेयर साधारण शेयरमा परिवर्तन गर्ने उल्लेख भएको खण्डमा सबै शेयरलाई साधारण शेयरमा परिवर्तन गर्न सकिन्छ ।

३. कन्भर्ट गर्न नमिल्ने अग्राधिकार शेयरः
यस्तो अग्राधिकार शेयरलाई परिपक्व भएपछि साधारण शेयरमा परिवर्तन नगरी सबै रकम तथा यसको प्रतिफल बराबरको रकम फिर्ता गरिन्छ । यसरी कम्पनीको पूँजीलाई कित्तामा ढालिएको अवस्थामा सो कित्तालाई प्राविधिक रूपमा व्यक्त गरिने शब्दावली नै शेयर हो । शेयरले रकम वा कित्ता संख्यालाई जनाएको हुन्छ । कुनै पनि कम्पनीमा कुनै पनि व्यक्ति वा संस्थाको शेयर जति धेरै भयो त्यति नै उसको मालिकाना हक सो कम्पनीमा बढेर जाने हुन्छ ।

धेरै पढिएका

शेयर बजार

दीर्घकालीन र अल्पकालीन लगानीको फरक के हो ?

दीर्घकालीन र अल्पकालीन लगानी दुई भिन्न दृष्टिकोण हुन् । दुवैका आफ्नै उद्देश्य र रणनीति हुन्छन् । दुवै लगानी बीचको फरकलाई...

शेयर बजार

शेयर बजारमा हुने चलखेल र यसबाट बच्ने उपाय

स्टक मार्केटमा हुने चलखेलले लगानीकर्तालाई अत्यधिक जोखिम प्रदान गर्न सक्छन् । यस्ता जोखिमहरूलाई खाम्न नसकेको खण्डमा हामी कहिल्यै पनि बजारमा...

शेयर बजार

कम्पनीको शेयर विश्लेषण कसरी गर्ने ?

कम्पनीको शेयर विश्लेषण गर्दा उसको वित्तीय स्वास्थ्य, कार्यसम्पादन तथा शेयर मूल्य र वृद्धि सम्भावनालाई असर गर्न सक्ने अन्य कारणहरूको मूल्यांकन...

शेयर बजार

शेयर बजारका लगानीकर्ता

धितोपत्र बजारमा सामान्यतया व्यक्तिगत र संस्थागत गरी दुई किसिमका लगानीकर्ता सक्रिय हुन्छन् । संस्थागत लगानीकर्ता स्वभावैले ठूलो आकारको कारोबार गर्छन्...

शेयर बजार

वारेन बफेटको लगानी सूत्र के हुन् ? तपाईंका लागि कुन उपयुक्त हुन्छ ?

वारेन बफेट विश्वभरका सफल लगानीकर्ताहरूमध्ये एक हुन् । उनको लगानी सूत्रलाई धेरैले सिको गर्न खोज्छन् । उनको मुख्य लगानी सूत्र यस प्रकार...

शेयर बजार

बजारमा सही कम्पनी वा स्टक कसरी छनोट गर्ने ?

आफ्नो सबै लगानी एउटै स्टकमा मात्रै नगर्नुहोस् । पोर्टफोलियो विविधीकरणले विभिन्न स्टकमा जोखिम वितरण गर्न मद्दत गर्न सक्छ । विभिन्न...

0 %

पढिसक्नुभयो !