‘५० प्रभावशाली महिला’ को अन्तिम सूची तयार हुनुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको नामावली सहितको सूची तयार गरेको थियो ।
यसमा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको थियो ।
यसरी तयार भएको १५० माथिको सूचीलाई अनलाइनखबरको समाचार कक्षले विभिन्न विधा (राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा) र स्पष्ट मापदण्ड तय गरी विवेकसम्मत तरिकाले १०० मा झारेको थियो । अनि तयार भएको १०० जनाको सूचीलाई स्वतन्त्र जुरीसमक्ष प्रस्तुत गरेको थियो । ८ फागुन २०८० मा बसेको जुरीको निर्णय बमोजिम ५० जनाको नाम छनोट गरिएको हो ।
यसरी अन्तिम नाम छनोट गर्ने जुरीमा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापा संयोजक, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. मञ्चला झा, पत्रकार र फिल्मकर्मी रम्यता लिम्बू र अनलाइनखबरडटकमका प्रधानसम्पादक शिव गाउँले सदस्य थिए ।
जुरीले ५० जनाको नाम छनोट गर्दा पहुँच बाहिरको परिस्थितिका कारण कोही उपलब्ध हुन नसकेमा वा कसैले अनिच्छा देखाएमा वैकल्पिक सूचीका नाम मध्येबाट छनोट गर्न पाउने गरी ५ जनाको वैकल्पिक सूची पनि छनोट गरेको थियो ।
जुरीले छनोट गरेका ५० जनामध्ये २ जनालाई हामीले सम्पर्क गर्न सकेनौं भने एक जनाले आफ्नो अनिच्छा जाहेर गरेकी थिइन् ।
छनौटको उद्देश्य
समाजका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको योगदानको पहिचान र सम्मान गर्न तथा उनीहरूको विशिष्ट योगदान र सामाजिक प्रभावलाई मुलुककै उपलब्धिको रूपमा सार्वजनिक अभिलेखमा राख्न ।
छनौटको मापदण्डः
१. पछिल्ला एक वर्षमा समाज रूपान्तरणका लागि विशिष्ट काम गरेका महिला । (पहिलो पटक भएकाले यो भन्दा अगाडिको पृष्ठभूमि पनि छनौटको आधार बन्न सक्छ ।)
२. समाजलाई प्रोत्साहन गरिरहेका, आफ्नो कर्म/सोचद्वारा प्रेरित र तरङ्गित गरिरहेका, जसको कथाले समाजको उल्लेख्य हिस्सालाई ठूलो मात्रामा सकारात्मक प्रभाव पार्न सक्छ, त्यस्ता महिला ।
३. कुनै खास क्षेत्रमा उल्लेखनीय काम र निरन्तर संघर्षद्वारा समाज र समुदायमा अद्वितीय/विशिष्ट योगदानकर्ता महिला ।
४. प्रचलित कुरीति र हानिकारक परम्परागत मान्यतालाई चुनौती दिएर समाजलाई लाभ पुर्याएका महिला ।
५. समाजमा इन्नोभेटिभ आइडिया दिएका, असल अभ्यासकर्ता जसको योग्य कामले पनि मूलप्रवाहको ध्यानाकर्षण गर्न सकेको छैन, त्यस्ता महिला ।
६ नेपाली समाजको विविधता झल्किने, उमेर र भूगोल समेतलाई ख्याल गरेर छनौटमा परेका महिला ।