Comments Add Comment

भूकम्पमा परी मृत्यु हुनेको संख्या १० हजार नाघ्ने अनुमान

bhaktpur  After Eatrh Quake (8)

१८ वैशाख, काठमाडौं । गत शनिबार गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ६ हजार २ सय ६० पुगेको छ । यो बढेर १० हजार नाध्ने अनुमान सुरक्षा निकायहरुले गरेका छन् ।

नेपाली सेनाका प्रधानसेनापति गौरवशमशेर जबराले झण्डै चार हजार मानिस पुरिएको अवस्थामा हुनसक्ने आशंका गरेका छन् । सैनिक मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जबराले भने-‘अहिलेसम्म उद्दार सक्रियतापूर्वक भइरहेको छ । अबको ध्यान राहतमा केन्द्रित हुनेछ ।’

६० वर्षीया महिलाको जीवितै उद्दार

अहिले पनि भग्नावशेषमा पुरिएकाहरुको जीवितै उद्दार भइरहेको छ । भूकम्प गएको सातौ दिन शुक्रबार सिन्धुपाल्चोक पोखरीडाँडकी ६० वर्षीया याङसाङ तामाङको जीवितै उद्दार गरिएको छ ।

भूकम्पले घर भत्किएपछि उनी पुरिएकी थिइन् । उनको घाँटीसम्म पुगिएको थियो । तर, उद्दार गर्न छ दिन लागेको स्थानीयले बताएका छन् । उनको शरीरमा गम्भीर चोट लागेको छ ।

यसअघि बिहीबार गोंगबु क्षेत्रबाट १५ वर्षका पेम्बा लामा र २४ वर्षकी कृष्णकुमारी खड्कालाई जीवितै उद्दार गरेको थियो । तर, समय बढ्दा जाँदा पुरिएकाहरुलाई जीवितै उद्दार गर्ने सम्भावना कम हुँदै गएको छ ।

सिन्धुपाल्चोकमा २ हजारको मृत्यु

भूकम्पले सबैभन्दा बढी सिन्धुपाल्चोकमा मानविय क्षति भएको छ । नेपाल प्रहरीका अनुसार २ हजार १७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । ६ सय ४८ जना घाइते भएका छन् ।

काठमाडौंमा ११४४, नुवाकोटमा ७५९, धादिङमा ६३६ र गोरखामा ४१० जनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार अहिलेसम्म देशभर १३ हजार ८६१ जना घाइते भएका छन् । शुक्रबार मात्र १६६ जनालाई हेलिकोप्टरबाट उद्दार गरिएको छ । १२९ जना हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment