Comments Add Comment

खोप किन्न किन चुक्यो सरकार ?

१ जेठ, काठमाडौं । बिहीबार पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई सम्बोधन गर्दै एक ट्वीट गरे । आचार्यले आफ्नो ट्वीटमा अहिलेको कोरोना महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउनका लागि सरकारलाई पाँचबुँदे सुझाव दिए ।

उनले मानवीय संकट घोषणा गर्न, मित्रराष्ट्रहरूबाट के–कति सहयोग चाहिएको हो सूची तयार पार्न, सहयोगका लागि सरकारप्रमुख तहमा पत्र पठाउन, नेपालस्थित विदेशी नियोगहरूलाई डाकेर ब्रिफिङ र आफ्ना दूतावास परिचालन गर्न सुझाव दिए ।

त्यसको केही घन्टापछि आचार्यको ट्वीटलाई परराष्ट्र मन्त्रालयको आधिकारिक ह्यान्डल मार्फत जवाफ दिइयो । सो जवाफमा भनिएको छ, ‘भ्याक्सिन, उपकरण तथा स्वास्थ्य सामग्रीको सूची तयार गरी मित्रराष्ट्र र विकास साझेदारहरूलाई दिइनुका साथै उच्च कूटनीतिक तहमा पत्राचार भएको छ ।’ मन्त्रालयले सो प्राप्तिका लागि काठमाडौंस्थित कूटनीतिक नियोगहरूसँग निरन्तर समन्वय गर्दै विदेशस्थित नियोगहरू परिचालन गरिएको जानकारी दिएको छ ।

कोरोना महामारीसँग लड्नका लागि सरकारले अन्तर्राष्ट्रिय सहयोगको याचना गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दि गार्जियन पत्रिकामा एक लेख मार्फत सहयोग गर्न आग्रह गरेका छन् ।

सरकारले विदेशस्थित आफ्ना दूतावासलाई भ्याक्सिन लगायत अन्य सामग्रीको लिष्ट नै उपलब्ध गराएको छ । केही सहयोग पनि आउन शुरू भएको छ । अमेरिका, चीन, बंगलादेश लगायत मुलुकले केही स्वास्थ्य सामग्रीको सहयोग समेत गरिसकेका छन् । विभिन्न मुलुकले स्वास्थ्य सामग्री र औषधिहरू सहयोग गर्ने घोषणा गरे पनि खोप भने तत्काल आउने सम्भावना एकदमै न्यून रहेको छ । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी स्वयंले तत्काल खोप आउने सम्भावना कम रहेको औंल्याएका छन् ।

पछिल्लो पटक सरकारले विशेषगरी चीन र रसियासँग खोप खरीदको गृहकार्य अगाडि बढाए पनि ठोस प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपालले अहिले खोपको भर गरेका मुलुकहरू भारत, अमेरिका, चीन र रसिया हुन् । समयमा नै खोप खरीदलाई विविधीकरण नगरी लामो समयसम्म भारतको मात्रै भर पर्दा नेपालले खोपको ठूलो समस्या सामना गर्नुपर्ने देखिएको छ ।

अमेरिकाले तत्कालै खोप वितरण नगर्ने

अमेरिकासँग जगेडामा रहेको ६ करोड खोप ल्याउने सम्बन्धमा पहल भइरहे पनि तत्कालै आउने सम्भावना भने एकदमै न्यून देखिन्छ । सरकारी र नागरिक तहमा खोप उपलब्ध गराउन अमेरिकी सरकारलाई निरन्तर आग्रह भइरहेको छ । बुधबार अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय समितिका सदस्यहरूले समेत नेपालको संकटको विषय उठाएका थिए ।

भारत लगायत दक्षिण एशियाली मुलुकका खोपका आवश्यकताहरू पूरा गराउनको लागि अमेरिकाले भारतलाई खोप उत्पादनमा सहयोग गर्ने योजना बनाइरहेको छ । यतिवेला अमेरिकाको ध्यान भारतको खोप उत्पादन क्षमता बढाउने र भारत मार्फत खोप दक्षिण एशियाली मुलुकलाई उपलब्ध गराउने छ ।

नयाँदिल्लीस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत डेनियल स्मिथले भारतले उत्पादन गरेका खोपहरू छिमेकी मुलुकलाई पनि वितरण नगरी आन्तरिक प्रयोजनका लागि मात्रै प्रयोग गरेकोमा आफूहरूको गम्भीर चासो रहेको बताएका छन् ।

केही पत्रकारहरूसँगको कुराकानीमा उनले भारतका धेरै छिमेकी मुलुकहरूले दोस्रो चरणको खोप अभियान संचालन गर्न नपाएको जानकारी आफूहरूलाई थाहा भएको बताएका थिए ।

तर, अमेरिकासँग रहेको ६ करोड रेडिमेड खोप भारत लगायत छिमेकी मुलुकहरूलाई प्राविधिक रूपमा अझै पनि दिन सक्ने अवस्थामा नरहेको बताए । उनका अनुसार सो खोपको प्रयोगका सम्बन्धमा अमेरिकी अधिकारीहरूले आवश्यक अनुसन्धान र जाँच गरिरहेका छन् ।

उनले स्पष्ट रूपमा भन्दा खोप उत्पादन गरिएको प्लान्टमा नै केही समस्या उत्पन्न भएको बताएका छन् । त्यसैले सो समस्या समाधान नभई अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने सम्भावना एकदमै न्यून छ ।

चीनबाट किन भयो ढिलाइ ?

चीनले पहिलोपटक नेपाललाई पाँच लाख खोप उपलब्ध गराउने घोषणा गरेको फेब्रुअरी महीनामा नै हो । त्यसपछि त्यसलाई बढाएर ८ लाख पु¥यायो । चीनले केही अनुदानमा उपलब्ध गराएपछि सरकारले खोप खरीदको प्रक्रिया अगाडि बढाउनुपर्ने हो । तर, चार महीनामा चीनबाट खोप खरीद गर्ने सम्बन्धमा सरकारले कुनै पनि प्रक्रिया अगाडि बढाएन । न त बेइजिङस्थित नेपाली दूतावासले कुनै पहल नै लियो । खोप खरीदका लागि अनुकूल अवस्था पनि थियो किनभने यस बीचमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यि बीच कुराकानी पनि भइरहेको छ ।

केही हप्ता अगाडि मात्रै चीनका विदेश मन्त्रीले नेपाल लगायत दक्षिण एशियाली मुलुकका आफ्ना समकक्षीहरूसँग भिडियो सम्मेलन नै आयोजना गरेका थिए । केही दिन अगाडि मात्रै चीनसँग खोप खरीदको प्रक्रिया अगाडि बढाउने सैद्धान्तिक निर्णय भए पनि ठोस रूपमा प्रक्रिया अगाडि बढेको छैन । खोप खरीद गर्ने इच्छाशक्ति हुँदा तत्कालै सम्भव छ भन्ने उदाहरण बंगलादेश हो । शुरूमा चीनबाट भन्दा पनि भारतबाट नै खोप किन्ने योजना बनाएको बंगलादेशले अब चिनियाँ खोप लिन शुरू गरेको छ । चीनले पाँच लाख खोप अनुदानमा उपलब्ध गराएको छ भने बंगलादेश सरकारले खोप खरीदको प्रक्रिया पनि अगाडि बढाएको छ ।

भारतसँग निरन्तर ताकेता तर आउने टुंगो छैन

सरकारको योजना भारतबाट ठूलो मात्रामा खोप खरीद गर्ने थियो । भारत सरकारले १० लाख खोप अनुदान दियो । त्यसलगत्तै सरकारले २० लाख खोप खरीदका लागि कोभिशिल्ड उत्पादन गरिरहेको सेरम इन्ष्टिच्युटलाई भुक्तानी समेत ग¥यो जसमध्ये १० लाख आए पनि १० लाख अझै आएको छैन ।

यसका लागि दुई देशका परराष्ट्र मन्त्रीहरूको बीचमा पनि कुराकानी भयो । नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि निरन्तर ताकेता गरिरहेको छ । नेपालले पैसा बुझाइसकेको १० लाख खोप ढिलोचाँडो आउने भए पनि भारतबाट तत्कालै उल्लेख्य मात्रामा खोप आउने सम्भावना एकदमै न्यून रहेको छ ।

तर, भारतले आफूले उत्पादन गरेको सम्पूर्ण खोप आन्तरिक प्रयोजनका लागि मात्रै प्रयोग गरिरहेको छ । यति मात्र होइन, भारतले रसियाबाट समेत खोप खरीद गरिरहेको छ । तर रसियाले एकदमै सानो संख्यामा भारतलाई खोप उपलब्ध गराइरहेको छ ।

रसियाबाट ल्याउन अलमल

रसियाले उत्पादन गरेको स्पुतनिक भि खोप ल्याउन सरकारले केही हप्तायता प्रयास गरे पनि ठोस प्रक्रिया अगाडि बढ्न सकेको छैन । रसियासँग किन प्रक्रिया अगाडि बढ्न सकेन भन्ने विषयमा सरकारी अधिकारीहरूले कुनै ठोस जवाफ दिएका छैनन् ।

यसै विषयमा छलफल गर्नका लागि अघिल्लो साता रसियाको एक टोली काठमाडौैं आएको थियो । जसले प्रधानमन्त्री केपी ओली र स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीसँग पनि भेटघाट गरेको थियो । रसियाले तत्कालै ठूलो मात्रामा खोप उपलब्ध गराउन नसक्ने जानकारी दिएका कारण पनि प्रक्रिया अगाडि नबढेको एक सरकारी अधिकारीले बताए ।

विगत ६ महीनामा खोप खरीदमा ढिलाइ हुनुमा मुख्यतः दुई कारण देखिन्छ । पहिलो, भूराजनीतिक, दोस्रो कमिसन दलालहरूको प्रभाव । भूराजनीतिक कारणले गर्दा नै नेपालले समयमा नै सबै मुलुकबाट खोप खरिदको प्रक्रिया अगाडि बढाउन सकेन । यसबाहेक कमिसन दलालहरूको भूमिकाको बारेमा स्वास्थ्य मन्त्री आफैंले सार्वजनिक रूपमा नै बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment