Comments Add Comment

‘विभाजित’ जसपामा विज्ञप्ति जुहारी !

१ जेठ, काठमाडौं । एउटै पार्टीभित्र दुई दलझैं अभ्यास गर्दै आएको जनता समाजवादी पार्टी (जसपा)को डा. बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतोबीच शनिबार विज्ञप्ति जुहारी चलेको छ । एकले अर्को पक्षको खण्डन गर्दै विज्ञप्ति निकालेका हुन्, जसले विवादलाई थप मलजल गर्ने नेताहरु बताउँछन् ।

शनिबार बाबुराम–उपेन्द्र पक्षले आफू निकट कार्यकारिणी सदस्यहरुलाई बैठकका लागि पार्टी कार्यालयमा बोलाएको थियो । बैठकका लागि नेताहरु पार्टी कार्यालय पुग्दै गर्दा अध्यक्ष महन्थ ठाकुरले जसपाको नाममा विज्ञप्तिको झटारो हाने । कार्यकारिणी समितिको बैठक बोलाएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै उनले भनेका छन्, ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी समेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई प्रष्ट गरिन्छ ।’

बाबुराम–उपेन्द्र पक्ष पनि के कम ? विज्ञप्तिमार्फत नै महन्थ–राजेन्द्र महतो पक्षलाई काउन्टर दिएको छ ।

केन्द्रीय कार्यालयको तर्फबाट कार्यकारिणी सदस्य प्रकाश अधिकारीले विज्ञप्ति जारी गर्दै राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

संसदीय दल समायोजन नहुनुका साथै विधान पनि नबनेको र पार्टीको अन्तरिम विधानमा संसदीय दलको विधान कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था रहेको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म संसदीय दलको विधान नबनेको र अनुमोदन समेत नभएको र संसदीय दलको कुनै पनि बैठक नभएकाले उक्त समाचार भ्रमपूर्ण रहेकाले सम्वन्धित सबैलाई जानकारीसहित प्रष्ट पारिन्छ ।’

शुक्रबार मात्र महन्थ–राजेन्द्र पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको बताएको थियो । जबकि संसदीय दलको बैठक भनेर बाबुराम–उपेन्द्र पक्षमा रहेका सांसहरुलाई खबर समेत गरिएको थिएन ।

नेताहरुकाअनुसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिन समयको अन्तिम दिन वैशाख ३० गते महन्थ ठाकुर र राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । देउवालाई सरकार गठनमा साथ दिन सक्दैनौं भनेर आएका दुई नेताले तत्कालीन राजपाको पार्टी कार्यालयमा आफ्नो पक्षमा सांसदहरुलाई भेला गराएका थिए । सरकार गठनका लागि बाबुराम–उपेन्द्र यादवले सांसदहरुलाई प्रभावित पार्न नसकुन् भनेर उनीहरुलाई दिनभर भक्तपुरको एक रिसोर्टमा लगेर राखिएको थियो, जहाँ नेकपा एमाले सांसद महेश बस्नेत पनि पुगेका थिए ।

त्यसको भोलिपल्ट महतोलाई संसदीय दलको नेता चयन गरेको समाचार सार्वजनिक भएको थियो ।

बाबुराम–उपेन्द्र पक्षका एक नेता भन्छन्, ‘बैठक नै बस्नु परे संसदीय दलमा बसे हुनुहुन्थ्यो, महेश बस्नेत बसेर रिसोर्टमा गरेको निर्णयलाई कसरी आधिकारिक भन्ने ?’

कार्यकारिणीको पूर्ण बैठकको तयारी

बाबुराम–उपेन्द्र पक्षका कार्यकारिणी सदस्यहरुको अनौपचारिक बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा भएको छ । छिट्टै कार्यकारिणी समितिको पूर्ण बैठक बोलाउन सुझाव दिइएको बैठकमा सहभागी नेता गंगा श्रेष्ठले जानकारी दिए । ‘२/३ दिनमा केन्द्रीय कार्यकारिणी समितिको बैठक राख्नुपर्‍यो, छलफल गर्नुपर्ने विषय धेरै भइसक्यो भनेका छौं,’ नेता श्रेष्ठले भने ।

सरकार गठनका विषयमा दुई खेममा विभाजित जसपाको कार्यकारिणी समितिको बैठक लामो समयदेखि बसेको छैन । पछिल्लो पटक १४ वैशाखमा बाबुराम–उपेन्द्र पक्षले बैठक बोलाउन माग गरेपनि महन्थ–राजेन्द्र पक्ष सहमत भएका थिएनन् । जसपामा महन्थ–राजेन्द्र पक्ष प्रधानमन्त्री ओलीसँग नजिक छन् भने बाबुराम–उपेन्द्र पक्ष ओलीसँग सहकार्य गर्न नहुने मत राख्छन् ।

२७ फागुनमा प्रधानमन्त्रीले संसदमा विश्वासको मत माग्दा पनि महन्थ–राजेन्द्र पक्ष तटस्थ बसेको थियो भने बाबुराम–उपेन्द्र पक्षले विपक्षमा मत दिएको थियो । महन्थ–राजेन्द्र पक्ष तटस्थ बसेकै कारण नयाँ सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपाको बाबुराम–उपेन्द्र पक्षको प्रयास असफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment