News Summary
Generated by OK AI. Editorially reviewed.- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राज्यमा शक्ति केन्द्रित हुँदा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।
- यादवले संवैधानिक निकाय र मन्त्रालयहरू निष्प्रभावी भएको आरोप लगाउँदै संघीयता र लोकतन्त्रका उपलब्धिमाथि प्रहार भइरहेको बताउनुभयो ।
- अग्रगामी मोर्चा गठनको उद्देश्य राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै मुलुकलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउनु रहेको उहाँले उल्लेख गर्नुभयो ।
२३ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले राज्यका शक्तिहरू एकै ठाउँमा केन्द्रित हुँदा मुलुकमा सर्वसत्तावाद र अधिनायकवाद मौलाएको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘अग्रगामी मोर्चा’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालन पद्धतिप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
अध्यक्ष यादवले संवैधानिक निकाय र मन्त्रालयहरू स्वतन्त्र रूपमा काम गर्न नसकी निष्प्रभावी (डिफङ्क्ट) भएको दाबी पनि गरे । विगतका जनआन्दोलन, मधेस जनविद्रोह तथा आदिवासी जनजाति र थारू लगायतका आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता, लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता उपलब्धिहरूमाथि राज्यकै तर्फबाट प्रहार भइरहेको उनको आरोप छ ।
ती उपलब्धिहरूको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिका लागि नै मोर्चा निर्माण गरिएको उनले बताए ।
‘निर्णय प्रक्रिया र शक्तिको केन्द्रीकरण एकै ठाउँमा हुनु सर्वसत्तावादको परिचायक हो । यस्तो प्रवृत्तिले अन्तत: अधिनायकवादलाई जन्म दिन्छ र लोकतान्त्रिक मूल्य–मान्यतालाई समाप्त पार्छ । हामीले मेची–महाकाली सङ्घर्षमार्फत विभेदकारी प्रावधानहरू नराख्न र संविधानलाई समावेशी एवं न्यायपूर्ण बनाउन माग गरेका थियौं,’ उनले भने, ‘तर राज्यले दमन र हत्या गरेर जबर्जस्ती संविधान घोषणा गर्यो । मुलुक राजनीतिक अन्योल र अनिश्चिततातर्फ गइरहेको छ । यसलाई रोकेर सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको दिशामा अग्रगामी निकास दिन साझा प्रयास स्वरूप यो मोर्चा निर्माण भएको हो ।’
संविधान निर्माण प्रक्रियामाथि प्रश्न उठाउँदै पूर्वउपप्रधानमन्त्री यादवले विगतमा संविधानसभाबाट संविधान जारी नभई केही दलहरूले ‘संविधानको किताव’ मात्र पारित गराएको टिप्पणी पनि उनले गरे ।
प्रतिक्रिया 4