+
+
Shares

उपेन्द्र-सीके सम्बन्ध : पहिले दुस्मनी, अहिले दोस्ती

विगतमा एकले अर्काको अस्तित्व समेत नस्विकार्ने गरी आरोप प्रत्यारोप गर्ने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष डा. सीके राउत पछिल्लो दिनमा नजिकिएका छन् । उनीहरूको पछिल्लो सम्बन्धबारे जानकारहरू पार्टी एकता गर्ने गरी संवाद भइरहेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८३ साउन २० गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी साउन २३ गते सात दलीय \'अग्रगामी मोर्चा\' गठन गर्ने घोषणा गरेका छन् ।
  • विगतमा तीव्र राजनीतिक वैमनस्यतामा रहेका यादव र राउत पछिल्लो समय चुनावी हार र समान उद्देश्यका कारण एक ठाउँमा उभिन सहमत भएका हुन् ।
  • मधेसकेन्द्रित दलका नेताहरूले यो मोर्चा स्वार्थबाट प्रेरित रहेको टिप्पणी गर्दै मधेसी जनताले नेतृत्वको पुस्तान्तरण खोजेको बताएका छन् ।

२० साउन, काठमाडौं । २०६३ सालको मधेस आन्दोलनबाट उदाएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र २०७९ को निर्वाचनबाट मधेसमा बलियो शक्तिका रूपमा देखिएका जनमतका अध्यक्ष डा. सीके राउतबीच विगतमा राजनीतिक सौहार्द्धता थिएन ।

मधेसकेन्द्रित दलको नेतृत्व गरेका यादव र राउत विगतमा एकले अर्काको अस्तित्व समेत नस्वीकार्ने गरी सार्वजनिक रूपमै आरोप प्रत्यारोप उत्रन्थे । प्रतिनिधिसभाको गत निर्वाचनमा दुवै शक्ति कमजोर भएपछि यी दुई नेताहरूको विगतको वैमनस्यतामा अल्पविराम लागेको छ ।

मधेसकेन्द्रित दलका नेताहरूका अनुसार यादव र राउतको संवाद पछिल्लो दिनहरूमा बाक्लिएको छ । मधेसका मुख्य प्रतिस्पर्धी नेताको पहिचान बनाएका यादव र राउत बीचको कटुता हट्दै गएपछि सात दलीय ‘अग्रगामी मोर्चा’ बनाउन सहमत भएका छन् ।

गत सोमबार (साउन १८ गते) मोर्चा गठन गर्ने छलफलमा सँगसँगै देखिए । साउन २३ गते मोर्चाको औपचारिक घोषणा गरिने जनमत अध्यक्ष राउतले जानकारी गराए । उक्त मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल छन् ।

जनअधिकार पार्टीका अध्यक्ष डा.शरदसिंह यादव जसपा नेपालका अध्यक्ष यादव र जनमतका अध्यक्ष राउत नजिकिनुमा गत निर्वाचनको परिणाम कारण देख्छन् । उनी भन्छन्,‘शून्यमा झर्नु भएको छ । उपेन्द्रले जे-जे गर्दै आउनुभयो । सीकेजीले पनि त्यही प्रवृत्ति अंगाल्दै आउनु भएको छ । दुबैको व्यवहार मिल्दै गएपछि नजिकिनु भएको छ ।’

मुख्यत: मधेसवादी दलहरू सम्मिलित भएर बनेको अग्रगामी मोर्चाले मधेसका जनतालाई कुनै प्रभाव नपार्ने जनअधिकार पार्टीका अध्यक्ष यादव दाबी गर्छन् । नवगठित मोर्चालाई उनी स्वार्थीगामी मोर्चाको संज्ञा दिन्छन् ।

यादव र राउतकै कारणले विगतमा बनेको मधेस केन्द्रित दलहरूको मोर्चा कामयावी हुन सकेको थिएन ।

२०८१ चैतमा मधेस केन्द्रित सात दलको संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका थिए । मधेसकेन्द्रित दलबाट कुनै व्यक्ति विशेषलाई नेता बनाउने गरी हुने बैठकमा सहभागी नहुने अडान राउतले लिएका थिए ।

संघीय लोकतान्त्रिक मोर्चाको बैठकको अध्यक्षता उपेन्द्रले गर्ने भएपछि त्यसप्रति राउतले आपत्ति जनाएका थिए । राउतकै अडानले संघीय लोकतान्त्रिक मोर्चाले गर्ने बैठकको अध्यक्षता आलोपालो गर्ने गरी निर्णय गरिएको थियो ।

मधेस केन्द्रित दलको मोर्चाको भूमिका प्रभावकारी हुन नसक्नुमा यी दुई नेताको ‘इगो’को लडाइँ भएको मधेसकेन्द्रित दलका नेताहरू आरोप लगाउँछन् ।

२०७५ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति गरेर मूलधारको राजनीतिमा राउतलाई ल्याएदेखि यादव र राउतको शक्ति संघर्ष मधेसमा बढेको थियो ।

मधेसलाई हेर्ने दृष्टिकोणमा समेत यी दुई नेताको मत मिलेन । यादव स्वायत्त मधेसको पक्षमा आवाज उठाउँदै आएका थिए भने मूलधारको राजनीतिमा आउनु अघि राउतले स्वतन्त्र मधेसको नारा लगाउँथे ।

दुबै नेता एक अर्कामा गालीको तहमा समेत उत्रिएका थिए । राउतले यादवलाई ‘काला नाग’को संज्ञा दिन्थे । राउत आपराधिक प्रवृत्ति भएको व्यक्तिका रूपमा यादवले आरोप लगाउँथे ।

दुई जनाको प्रतिद्वन्द्विता बढ्दै जाँदा २०७९ सालमा प्रतिनिधि सभाको निर्वाचनमा यादवसँग सप्तरी-२ मा राउतले प्रतिस्पर्धा गरे ।

राउतले फराकिलो अन्तरले यादवलाई पराजित गरे । संघीय संसद्मा प्रत्यक्षमा जित्ने जनमतबाट राउत एक्लो व्यक्ति थिए । समानुपातिकबाट जनमतका पाँच सांसद बने ।

प्रदेश सभामा जनमतले मधेसमा १३ र लुम्बिनीमा ३ सिट जित्यो । २०६४ सालदेखि मधेसको राजनीतिमा ‘रजगज’ गर्दै आएका यादवलाई पराजित गरेपछि राउतको राजनीतिक उचाइ बढ्यो ।

२०७९ सालमा जनमतले प्राप्त गरेको सिटका आधारमा मधेसमा अबको प्रमुख शक्ति जनमत हुने भन्दै विश्लेषण भए ।

यी दुई नेताको टकराव २०७९ सालको निर्वाचनमा मात्रै देखिएन । त्यसपछिका घटनाक्रममा पनि देखिए । सप्तरी-२ मा पराजित भएपछि यादव बारा–२ मा उपचुनावमा प्रतिस्पर्धा गर्न गए । त्यहाँबाट निर्वाचित रामसहाय यादवलाई जसपा नेपालले उपराष्ट्रपति बनाएपछि रिक्त स्थानमा प्रतिस्पर्धा गर्न स्वयं यादव गएका थिए ।

तत्कालीन सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले बारा–२ मा जिते । सत्ता र शक्तिको आडमा यादवले चुनाव आफ्नो पक्षमा पारेको जनमतले आरोप लगायो ।

यादव र राउतबीच दुश्मनीभन्दा यादव र राउतको प्रतिद्वन्द्विता उपराष्ट्रपतिको चुनावमा पनि देखियो । जसपाले रामसहाय यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउँदा जनमतले ममता झालाई उम्मेदवार बनाएको थियो ।

यी दुई नेताको शक्ति संघर्ष चुनावी क्षेत्र, उपराष्ट्रपति निर्वाचन हुँदै मधेस सरकारमा पनि देखियो ।

सप्तरी–२ मा मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यायको विषयलाई लिएर यादव र राउतको सम्बन्ध झनै बिग्रियो ।

२०८० माघमा विश्वविद्यालयको भवन शिलान्यास गर्ने समय मुख्यमन्त्री जसपाका सरोजकुमार यादव थिए । मुख्यमन्त्री यादवले पार्टी अध्यक्ष यादवबाट भवनको शिलन्यास गराउन चाहन्थे । शिक्षामन्त्री जनमतका संसदीय दलका नेता महेशप्रसाद यादव थिए । यादवबाट हुने शिलान्यास स्विकार्न जनमत तयार भएन । यही विषयमा विवाद बढ्दा शिलान्यासको दिन जनमतले प्रदर्शन नै गर्‍यो जसमा प्रहरी हस्तक्षेप हुँदा मधेश प्रदेशका तत्कालीन शिक्षामन्त्री महेशप्रसाद यादवसहित केही सांसद र कार्यकर्ता सामान्य घाइते भएका थिए ।

मधेसको राजनीतिमा वर्चश्व कायम राख्न एकले अर्काको विरुद्धमा लाग्दा यादव र राउतका विवादहरू चरण-चरणमा भएका छन् । जसपा नेपालका प्रवक्ता मनिष सुमन वर्तमान सरकारबाट प्राप्त उपलब्धिहरू गुम्न सक्ने खतरा रहेको हुँदा मित्रशक्तिहरू मिल्नु स्वभाविक भएको बताए ।

‘संघीयता, समावेशीतामाथि यो सरकारबाट खतरा देखियो । सिद्धान्त र विचार मिल्नेहरूसँग अहिले सहकार्य गर्छौं,’ सुमनले अनलाइनखबरसँग भने,‘भविष्यमा एउटै चुनाव चिन्हमा प्रतिस्पर्धा गर्छौं । कुरा मिल्दै गयो भने पार्टी एकताको चरणसम्म पुग्छौं ।’

गत निर्वाचनमा भने दुबै जना पराजित भए । २०७९ सालमा जितेको क्षेत्र सप्तरी–२ मा राउत पराजित भए ।

सप्तरी–३ मा यादव पराजित भए । पराजित भएको केही दिनपछि सामाजिक सञ्जालमार्फत आगामी दिनमा आफू चुनावी प्रतिस्पर्धा नगर्ने राउतले घोषणा गरेका छन् ।

मधेसकेन्द्रित दलका एक शीर्ष तहका नेता अनुसार पराजयपछि यादव र राउतले पछि पटक-पटक संवाद गरेका छन् । ती नेताको दाबी अनुसार पार्टी एकीकरण गर्ने गरी दुई जनाबीचमा छलफल भएको छ ।

उनी भन्छन्,‘उपेन्द्रले अध्यक्ष तपाईं बन्ने भनेर वचन दिएका छन् । त्यही स्वार्थमा दुई जना मिलेको देखिएको हो ।’

मधेस केन्द्रित दलहरूले चुनावी तालमेल गर्नुपर्ने त्यतिबेला छलफल भएपनि यादव र राउतकै कारणले सम्भव हुन नसकेको ती नेताको दाबी छ ।

राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा मधेसका जनताले दुई शीर्ष नेताको मिलन मात्रै नचाहेको बताउँछन् ।

मधेस केन्द्रित सबै दल मिल्नुपर्ने र नेतृत्वको पुस्तान्तरण गर्नुपर्ने पक्षमा मधेसी जनता रहेको झाले बताए ।

उनी भन्छन्,‘दुई नेता मिल्नु वा मोर्चा बनाउनु मधेसी जनताको रुचीको विषय होइन । मधेस केन्द्रित सबै दल मिलेर नेतृत्वको पुस्तान्तरण मधेसका जनताले खोजेका छन् ।’

यादवसँग नजिकिएसँगै राउत प्रफुल्लित देखिन्छन् । विगतमा यादवको आलोचना गर्दै सामाजिक सञ्जालमा धारणा राख्ने राउतले उनै यादवको तस्वीर राखेर सत्तारुढ रास्वपाप्रति क्रुद्ध देखिएका छन् ।

आफूसहित यादव र रेशम चौधरीले संकटपूर्ण राजनीतिबाट यहाँसम्म आइपुगेको रास्वपा लक्षित उनको टिप्पणी छ ।

उनी भन्छन्, ‘ऐतिहासिक मधेश आन्दोलन, स्वराज आन्दोलन र थरूहट आन्दोलन सानो त्यागले भएको होइन, ठूलो बलिदानी लागेको हो । क्षणिक स्टन्ट होइन, दशकौंको संघर्ष लागेको हो, चाउचाउ कुपनबाट सांसद बन्ने सपना होइन करौडौं जनताको आस्था हो, त्यसलाई सम्मान गरौं ।’

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?