Comments Add Comment
सुदूरपश्चिममा अक्सिजनको चरम अभाव :

प्रदेश सरकारले संघीय सरकारलाई गुहार्‍यो, अस्पताल निजी संघसंस्थाको सहयोग माग्दै

१ जेठ, धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अहिले १०८ जना कोरोना संक्रमित भर्ना भएका छन् । ५५ बेडको कोभिड अस्थायी अस्पताल, प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड र आँगनमा गाडिएका टेन्टमा समेत राखिएका सबै कोरोना संक्रमित गम्भीर लक्षण भएका बिरामी छन् ।

जसमा १४ जनालाई आईसीयू, एक जना भेन्टिलेटर, ९० जनालाई अक्सिजन सपोर्ट र चार जनालाई आवश्यकताअनुसार अक्सिजन दिइरहेको प्रादेशिक अस्पतालले जनाएको छ । यसअघि जसोतसो अक्सिजनको जोहो गर्दै आएका अस्पतालले बाहिर जिल्लाबाट समेत मागअनुसारको अक्सिजन नदिएपछि व्यवस्थापनमा समस्या भोग्नुपरेको छ भने संक्रमितले धमाधम ज्यान गुमाउन थालेका छन् । दुई दिन अघिसम्म दैनिक एक सयदेखि डेढ सय सिलिन्डरले धानिरहेकोमा अहिले संक्रमित बढेपछि दैनिक माग दुई सय सिलिन्डरभन्दा बढी पुगेको छ ।

‘हामीले पहिले त जसोतसो अक्सिजनको व्यवस्थापन गरिरहेकै थियौं,’ प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अहिले संक्रमितको संख्या बढेकाले व्यवस्थापन गर्नै मुस्किल हुन थालिसक्यो । एक जना संक्रमितलाई कम्तीमा पनि एउटा सिलिन्डर आवश्यक पर्न थालेको छ ।’

प्रादेशिक अस्पतालमा रहेको अक्सिजन प्लान्टबाट दैनिक ५०/६० सिलिन्डर अक्सिजन मात्रै उत्पादन भइरहेको छ । धनगढीकै मालिका अक्सिजन ग्यास उद्योगले ३०/४० सिलिन्डर दिंदै आएकोमा शनिबार भने ८ वटा मात्र उपलब्ध गराएको सूचना अधिकारी श्रेष्ठले जनाए । ‘मालिकाले आज हामीलाई ८ वटा सिलिन्डर मात्र दिएको छ,’ श्रेष्ठले भने, ‘नेपालगञ्जबाट थप ४३ वटा सिलिन्डर ल्याएकाले केही सहज भएको छ ।’ उनकाअनुसार अहिले अस्पतालले एक सय सिलिन्डर माग गर्दा आपूर्तिकर्ताले ५० वटा मात्र उपलब्ध गराइरहेका छन् ।

सेती अस्पतालले नेपालगञ्जबाट अक्सिजन ल्याउने गरेकोमा उतै माग वृद्धि भएकाले अहिले यहाँ दिन आनाकानी गर्न थालेकाले थप समस्या भएको उनको भनाइ छ ।

सरकारसँग बारम्बार अनुरोध गर्दा पनि ठोस परिणाम देखिएन’

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले शनिबार फेसबुकमा गुनासो सहितको एउटा स्टाटस लेखे । ‘सुदूरपश्चिम प्रदेशको एक मात्र ३० लाख जनताको आशा र भरोसाको केन्द्र सेती प्रादेशिक अस्पतालमा अक्सिजन व्यवस्थापनका लागि बारम्बार अनुरोध गर्दा पनि हालसम्म कुनै ठोस परिणाम नदेखिएकाले सुदूरपश्चिमवासीको बाँच्न पाउने अधिकार सुरक्षित भएन भने ठूलो विद्रोह हुनसक्छ,’ जोशीले फेसबुकमा लेखेका छन् ।

यस विषयमा जोशीसँग बुझ्दा उनले दोस्रो लहरको कोरोना संक्रमणले अहिलेको अवस्था सिर्जना हुने र हाल उपलब्ध स्रोत साधनले नथेग्ने भएकाले थप व्यवस्थापनका लागि आफूले अस्पतालको तर्फबाट पटक–पटक प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलगायतका निकायको ध्यानाकर्षण गराएको दाबी गरे ।

‘हाम्रो अस्पतालको अवस्था यो हो,’ जोशीले अनलाइनखबरसँग भने, ‘एउटै अक्सिजन प्लान्टले धान्दैन । थप व्यवस्थापनमा ध्यान दिनुपर्छ भनेर हामीले बारम्बार सम्बद्ध निकायलाई जानकारी गराएका थियौं तर आशा गरेअनुसार काम हुन सकेन यो दुर्भाग्य हो ।’

प्रदेश सरकारले माग्यो संघीय सरकारसँग सहयोग

सेती प्रादेशिक, महाकाली अस्पताललगायत ठूला तथा साना अस्पतालहरुले अक्सिजनको चरम अभाव भोगिरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले भने हात उठाएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले संक्रमितको उपचारका लागि तत्काल प्रदेशभर तत्काल कम्तीमा पनि दैनिक एक हजार सिलिन्डर आवश्यक पर्ने जानकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गराएको छ ।

हाल प्रदेशका ९ वटै जिल्लामा कम्तीमा ५ सय सिलिन्डरको मात्र उपलब्धता रहेकाले त्यो निकै कम हुने  र एक हजार सिलिन्डर खरिद गर्नुपर्ने भन्दै व्यवस्थापनका लागि अनुरोध गरेको छ । सेती प्रादेशिक अस्पतालले लिक्विड अक्सिजन ट्याङ्की खरिदका लागि प्रक्रिया अघि बढाएपनि एक महिना लाग्ने भएकाले तत्काल संघीय सरकारसँग समन्वय गरेर सबैभन्दा नजिकको स्थानबाट अक्सिजन आपूर्ति गर्न र २ सय थान अक्सिजन कन्सेन्ट्रेटरका लागि अनुरोध गरी पठाउने व्यवस्था गराइदिन आग्रह गरेको छ ।

‘वैशाखमा अस्पतालहरुका लागि अक्सिजन व्यवस्थापनका लागि प्रतिदिन एक हजार सिलिन्डर चाहिन्छ भन्ने हामीले आँकलन गरेका थियौं,’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भने, ‘अब जेठको महिनामा संक्रमण दर बढ्दै गयो भने आवश्यकता पनि बढ्न सक्छ । पालिकाहरुमा पनि वितरण गर्न करिब २ हजार सिलिण्डर चाहिने देखिन्छ ।’ सामाजिक विकास मन्त्रालयको अनुरोध पत्रका आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय सरकारसँग थप सिलिन्डर र अन्य सामग्रीको व्यवस्थापनका लागि लेखेर पठाएको जनाएको छ ।

रिजर्भ ट्यांकीका लागि टेण्डर

सेती प्रादेशिक अस्पतालले अक्सिजन भण्डारणका लागि झण्डै दुई सय लिटर क्षमताको रिजर्ब ट्याङ्की स्थापना गर्न टेण्डर प्रक्रिया अघि बढाएको छ । एक करोड बढीको लागतमा सो प्रक्रिया अघि बढाएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उक्त ट्याङ्की स्थापना गर्न सकेमा विभिन्न ठाउँबाट ल्याएको अक्सिजन भण्डारण गरेर आवश्यकताका आधारमा वितरण गर्न सकिने विश्वास गरिएको छ ।

निजी संघसंस्था अक्सिजन व्यवस्थापनमा सक्रिय

सुदूरपश्चिम प्रदेश सरकारले हात उठाएपछि यहाँका निजी संघसंस्थाहरु अक्सिजन व्यवस्थापनमा जुटेका छन् । ह्युमेनिटी फाउन्डेसन सुदूरपश्चिमले अहिले धनगढीसहित कञ्चनपुर, कैलाली, डडेल्धुरालगायतका जिल्लामा अक्सिजन सहयोग गर्दै आएको छ । सेती प्रादेशिक अस्पततालका सूचना अधिकारी श्रेष्ठले निजी संघसंस्था र केही सामाजिक व्यक्तित्वको सहयोगले अक्सिजन व्यवस्थापनमा सहजता भएको सुनाए ।

तर अहिले अन्य बाँके, चितवन र पोखरा लगायतका स्थानबाट माग अनुसारको अक्सिजन नपाउँदा समस्या हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment