२१ कात्तिक, कास्की । गत ११ कात्तिक राति अन्नपूर्ण पदमार्गको माछापुच्छ्रे आधार शिविरमा एकजना नेपाली महिला पदयात्रीलाई लेक लाग्यो ।
सास फेर्न गाह्रो भएपछि ती पदयात्रीलाई होटल सञ्चालकहरूले उद्धार गरी माछापुच्छ्रे आधार शिविर (३७०० मि)बाट बोकेर तल झारे । राति साढे १२ बजे पदमार्गको दोभान भन्ने ठाउँमा ल्याइपुर्याउँदा पनि ती युवती अर्धचेत अवस्थामै थिइन् ।
‘लेक लागेर गाह्रो भएको हो । राति नै तल झारेका हौँ,’ दोभानका होटल व्यवसायी छुतमान गुरुङले भने । होटल प्राङ्णमा केहीबेर राखेर आराम गराइयो, तर पनि उनको बोली आएन । ‘यहाँ राखेर हुँदैन । अझ तल झरौं,’ गुरुङले भने ।
त्यसपछि होटल व्यवसायीको सहयोगमा ती महिलालाई रातभर बोकेर सिनुवा भन्ने ठाउँमा पुर्याइयो । ‘सिनुवामा पुगेपछि बहिनी बोल्यो नि,’ उद्धारमा खटिएका उत्तम श्रेष्ठले भने ।
ती पदयात्रीलाई ३७०० मिटरको उचाइमा लेक लागेको हो । ‘हाई लागेर ढलेको हो । राति नै तल झारेकाले केही भएन । आराम नगरी एकैपटक माथि पुग्दा हाई लाग्छ क्या,’ श्रेष्ठले भने ।
७ कात्तिकको घटना हो । अन्नपूर्ण पदमार्गको देउरालीमा बास बसेका ३५ वर्षका सुरजमान श्रेष्ठको लेक लागेर मृत्यु भयो । काठमाडौंबाट एक्लै ट्रेकिङ गएका श्रेष्ठलाई मृत अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।

‘घाममा सुतेको बेलमा घटना भएको रहेछ । बेलामै उद्धार भएको भाइ बाँच्थ्यो होला,’ सुरजमानकी दिदी श्रुती श्रेष्ठले भनिन्,’ घरको खम्बा नै ढल्यो ।
१० कात्तिकमा अन्नपूर्ण आधार शिविर जाने क्रममा एक युवती हिँड्न सकिनन् । एकैदिन १०-१२ घण्टा हिँडेका कारण उनी थाकेर सास फेर्न नसक्ने भएकी थिइन् । उनको शरीर लल्याकलुलुक भएको थियो । साथीहरूले बोकेर उनलाई देउरालीसम्म पुर्याए ।
त्यसपछि उनलाई त्यही छोडेर साथीहरू आधार शिविरतर्फ लागे । ‘पहिलो दिन धेरै हिँडेर हो । १०-१२ घण्टा हिँडेका थियौं,’ उनीसँगै रहेका एक साथीले भने ।
एउटा साथीलाई छोडेर गएको केहीबेरपछि अर्की साथी पनि हिँड्न नसक्ने अवस्थामा पुगिन् । उनलाई पनि त्यतै बास बस्ने ठाउँमा छोडेर त्यो टोली बेसक्याम्पतर्फ लाग्यो । यो टोली दोस्रो दिनमै अन्नपूर्ण आधार शिविर पुगेर फर्कियो ।
तर, सँगै गएका दुईजना साथी भने हिँड्न नसकेर बाटोमै थलिए । ‘यसरी नेपाली पर्यटक एकैपटक दुई/तीन हजार मिटर माथि जाँदा लेक लागेर ढल्ने गरेका छन्,’ स्थानीय सुमन गुरुङले भने ।
१८ कात्तिक मंगलबार अन्नपूर्ण पदयात्रामा गएका भारतीय नागरिक पिन्टु मुखर्जीको पनि लेक लागेर मृत्यु भयो । मनाङको लेदर पुगेपछि मुखर्जीलाई लेक लाग्यो । मनाङ प्रहरीका अनुसार लेदरबाट स्वास्थ्य संस्था पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

विदेशी पर्यटकको भारी बोकेर गएका ‘पोर्टर’लाई समेत लेक लागेर मृत्यु भयो । मनाङको याकखर्कमा पर्यटकको भारी बोकेर फर्कने क्रममा नुवाकोटका ४९ वर्षीय साम्बा घलेको लेक लागेर मृत्यु भयो ।
लेक लागेर मृत्यु हुनेमा नेपाली मात्र होइन विदेशी नागरिकसमेत छन् । १२ कात्तिकमा नार्पाभूमि गाउँपालिका-५ स्थिति हिमलुङ हिमाल आरोहणका लागि गएका ४९ वर्षीय अष्ट्रेलियन नागरिक चान चीन टार्कको लेक लागेर मृत्यु भएको थियो ।
लेक लागेरै १८ कात्तिकसम्म मनाङ र कास्कीमा गरी ६ जनाको ज्यान गयो । मनाङ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक हरि पौडेलका अनुसार पदयात्राका क्रममा मनाङमा मात्र लेक लागेर ५ जनाको मृत्यु भएको छ । १ जनाको भने कास्कीमा भएको हो ।
पौडेलका अनुसार लेक लागेर मृत्यु हुनेमा आन्तरिक पर्यटकको संख्या धेरै छन् । हेलचेक्र्याइँ र असावधानीका कारण आन्तरिक पर्यटकको ज्यान जाने गरेको पदमार्ग क्षेत्रका होटल व्यवसायीहरू बताउँछन् ।
‘अल्टिच्युड सामान्य होइन । धेरै हिँडेर लेक लागेर आन्तरिक पर्यटकले ज्यान गुमाइरहेका छन् । ट्रेकिङ जानेहरू गम्भीर हुनुपर्छ,’ होटल व्यवसायी आकाश गुरुङले भने, ‘म त हिँडिहाल्छु नि भनेर हिँड्नु भएन । ब्यालेन्स गरेर हिँड्नुपर्छ ।’
६ वर्षमा ७२ जनाको मृत्यु
लेक लागेर मृत्यु हुनेको संख्या वर्षेनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ वर्षमा २५७ वटा लेक लागेका घटना भएका छन् । जसमा ७२ जनाको मृत्यु भएको छ भने २१० जना बिरामी भएका छन् ।
प्राधिकरणका अनुसार चालु अर्थिक वर्ष २०८२/०८३ को ६ महिनाको अवधिमा मात्र लेक लागेर १९ जनाको मृत्यु भएको छ । २०८२ वैशाखदेखि असोज २१ सम्म ६१ वटा लेक लागेका घटना भए । जसमा १९ जनाको मृत्यु भएको छ भने ४५ जना बिरामी भएका छन् ।
आर्थिक वर्ष २०८१ मा ११३ वटा लेक लागेका घटना भए । जसमा २५ जनाको मृत्यु हुँदा ९५ जना बिरामी भए । आर्थिक वर्ष २०८० मा ६० जनालाई लेक लाग्यो । जसमा १५ जनाको मृत्यु भयो भने ४९ जना बिरामी भए ।

आर्थिक वर्ष २०७९ मा १६ वटा लेक लागेको घटना हुँदा ९ जनाको मृत्यु र ११ जना बिरामी भए । आर्थिक वर्ष २०७८ मा ६ वटा लेक लागेका घटना भए जसमा ३ जनाको मृत्यु भयो भने ९ जना बिरामी भए । आर्थिक वर्ष २०७७ मा १ वटा घटना भयो भने १ जनाको मृत्यु भयो ।
लेक लागेर मृत्यु हुने अधिकांश पदयात्री हुन् । ‘स्थानीयलाई लेक लाग्दैन । त्यहाँको हावापानीमा स्थानीय अभ्यस्त हुन्छन् । ट्रेकिङ जानेहरूलाई लेक लाग्ने गरेको छ,’ प्राधिकरणकी प्रवक्ता शान्ति महतले भनिन्, ‘गर्मी ठाउँको मान्छे एकैपटक माथि हिमाली क्षेत्रमा पुग्दा लेक लाग्छ । हिमालको हावापानीमा घुलमिल नभई जाँदा लेक लागेर ढल्ने जोखिम धेरै हुन्छ ।’
लेक लागेर मृत्यु हुनेमा नेपाली धेरै
लेक लागेर कति नेपालीको र कति विदेशीको मृत्यु भयो, यकिन तथ्यांक छैन । तर अधिकारीहरू धेरैजसो मृत्यु हुनेमा नेपाली पर्यटक रहेको दाबी गर्छन् । पदयात्रा क्षेत्रका होटल व्यवसायी र ट्रेकिङ गाइडहरू आन्तरिक पर्यटक नबुझी यात्रामा जाने गरेकाले दुर्घटना हुने गरेको बताउँछन् ।
‘नेपालीलाई बढी लेक लाग्छ । आन्तरिक पर्यटकसँग पदयात्राको संस्कार छैन । प्रकृति मन पराउँछन् तर कसरी हिँड्नुपर्छ भन्ने संस्कार छैन,’ ट्रेकिङ गाइड कृष्ण राईले भने, ‘दिनमा ५-६ घण्टा हिँड्नुपर्नेमा १०-१२ घण्टा हिँड्छन् ।’

पदयात्रामा जति विस्तारै हिँड्यो त्यति सुरक्षित हुने हो तर एकैपटक म त सकिहाल्छु नि भनेर हिँड्दा नेपाली पर्यटकले ज्यान गुमाइरहेको उनको तर्क छ । ‘जति विस्तारै हिँड्यो त्यो नै पदयात्राको मेडिसिन हो,’ राईले भने ।
हिमाली वातवरणमा घुलमिल हुँदै यात्रा गर्नुपर्नेमा एकैपटक धेरै हिँड्नु डरलाग्दो भएको उनको बुझाइ छ । ‘प्रकृतिलाई जित्न सकिँदैन । कसैले खेलवाड गर्नुहुँदैन । प्रशस्त आरम गरेर हिँड्नुपर्छ । वातवरणमा घुलमिल हुनुपर्छ । एक्लोमाटाइजेसन गर्नुपर्छ,’ उनले भने ।

लेक लाग्दा मस्तिष्क, फोक्सो र मुटुमा असर
लेक लाग्दा पदयात्रीको मस्तिष्क, फोक्सो र मुटुमा गम्भीर असर पर्ने र ज्यानै जाने चिकित्सिकहरू बताउँछन् । माउन्टेन अल्टिच्युडमा गएपछि अक्सिजनको मात्रा कम हुन्छ । लेक लाग्छ, जसलाई ‘अल्टिच्युड सिकनेस’ भनिन्छ ।
अक्सिजन स्याचुरेसन कम हुनु भनेको लेक लाग्नु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्तासमेत रहेका डा. प्रकाश बुढाथोकीका अनुसार २ हजार ५०० मिटर माथि पुग्दा लेक लाग्ने जोखिम धेरै हुन्छ ।
‘तीव्र रूपमा हिँड्यो भने लेक लाग्छ । अक्सिजनको कमी हुन्छ । जसका कारण मस्तिष्क, फोक्सो र मुटुमा असर पर्छ,’ डा. बुढाथोकीले भने, ‘लेक लाग्दा टाउको दुख्ने, रिंगटा लाग्ने, निद्रा लाग्ने, वाकवाकी लाग्ने, पखला लाग्ने र हिँड्दा ब्यालेन्स नमिल्ने लक्षण देखिन्छ ।’

डा. बुढाथोकीका अनुसार समयमा लेक लागेको लक्षण पहिचान गर्न नसक्दा मृत्यु हुने जोखिम उच्च हुन्छ । ‘पहाड र हिमालमा बस्नेलाई लेक लाग्दैन । बानी परेको हुन्छ । तराईमा बसेको मान्छे माथि पुग्यो भने लेक लाग्छ,’ उनले भने, ‘पैदल यात्रामा जाँदा एक्लै जानु हुँदैन । समूहमा जानुपर्छ ।’
ट्रेकिङको समयमा धूमपान र मध्यपानले मृत्युको जोखिम बढाउने गरेको पाइएको छ । ‘धूमपान र मध्यपानले जोखिम निम्तिन्छ, जसले मानिसलाई मृत्युको नजिक पुर्याउँछ,’ डा. बुढाथोकीले भने ।
हाइपोथर्मियाको जोखिम
हिमाली क्षेत्रमा जाँदा हाइपोथर्मियाको जोखिम पनि उच्च हुने चिकित्सकहरू बताउँछन् । शरीरको तापक्रम ३५ डिग्रीभन्दा तल झर्यो भने हाइपोथर्मियाको लक्षण देखिन थाल्छ । डा. बुढाथोकीका अनुसार शरीरको तापक्रम २६ डिग्रीमा आयो भने बेहोस हुने हुन्छ । र, २५ डिग्रीमा आइपुग्यो भने ज्यान नै जान्छ ।
हाइपोथर्मीयाबाट जोगिन शरीरलाई न्यानो राख्नुपर्ने हुन्छ । ‘शरीरलाई न्यानो राख्नुपर्छ । दुई/तीन लेयरको लुगा लगाउनुपर्छ । आगो ताप्नुपर्छ तर भेन्टिलेटर हुनुपर्छ,’ डा. बुढाथोकीले भने, ‘तातो र झोलिलो खानेकुरा खानुपर्छ । चिया र कफी भने नपिएको राम्रो हो । हाइपोथर्मियाबाट जोगिन विस्तारै शरीरको तापक्रम बढाउनुपर्छ ।’
ट्रेकिङमा दैनिक कति हिँड्ने ?
ट्रेकिङ जानुअघि चिकित्सकको सल्लाह लिएर मात्र जानुपर्ने हो । स्वास्थ्य अवस्था कमजोर भएमा ट्रेकिङ जान हुँदैन । ‘स्वास्थ्य परीक्षण गरेर चिकित्सकको सल्लाह लिएर पदयात्रामा जानुपर्छ,’ डा. बुढाथोकीले भने ।
स्वास्थ्य परीक्षण गरेपछि ठिक भएमा कति उचाइमा जाने हो, त्यसको आधारमा हिँड्नुपर्ने हुन्छ । डा. बुढाथोकीका अनुसार ४ हजार मिटरमा जाने हो भने दिनमा ३०० मिटर चढ्नुपर्छ । ४ हजार मिटरमाथि जाने हो भने दिनमा १५० मिटर चढ्नुपर्छ । ‘लेक लागेको लक्षण देखिनासाथ त्यहीं रोकिनुपर्छ,’ उनले भने । आराम गर्दा पनि सहज नभएमा तल झर्नुपर्छ । छिटो-छिटो माथि जान्छु भन्दा जोखिम हुन्छ,’ उनले भने ।
पदयात्रामा गाइड लिएर गएमा दुर्घटना कम हुने विज्ञहरू बताउँछन् । तर नेपाली पर्यटक गाइड बिना ग्रुप बनाएर आफैं ट्रेकिङ जाने गरेका छन् ।

ट्रेकिङ जाँदा न्यानो कपडा महत्त्वपूर्ण हुन्छ तर त्यो पनि नलिइ जाने गरेको पाइएको छ । गाइड राईका अनुसार डाउन ज्याकेट, टोपी, पन्जा, थर्मस, सनग्लास, लौरो र सुक्खा खानेकुरा बोक्नु पर्ने हुन्छ ।
तत्काल स्वास्थ्यमा समस्या आएमा औषधि पनि प्रयोग गर्न सकिने डा। बुढाथोकी बताउँछन् । सिटामोल, जीवनजल, ब्यान्डेज, ह्यान्डिप्लास्ट, अल्टिच्युड सिकनेस ट्याबलेट, मलमजस्ता औषधि लैजान सकिन्छ ।
छैन मापदण्ड, हुँदैन अनुगमन
दैनिक कति हिँड्ने, कसरी हिँड्ने भन्ने मापदण्ड नेपाल सरकारले बनाएको छैन । अहिलेसम्म चलनचल्तीकै आधारमा पदयात्रा चलिरहेको छ । नेपाली पदयात्री सो नियममा नबसी आफूअनुकूल हिँड्ने गरेका छन् ।
विदेशी पर्यटक भने विदेशी संघसंस्थाले बनाएको मापदण्डको आधारमा पदयात्रामा हिँड्ने गरेका छन् । उचाइअनुसार दैनिक १५० मिटर र ३०० मिटर हिँड्ने मापदण्ड पनि नेपाल सरकारले बनाएको होइन ।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले मापदण्ड बनाएको छ । धेरैजसोले यही मापदण्ड अपनाएका छन् ।
‘अमेरिकाको विषयविज्ञले बनाएको मापदण्ड हो । यसैलाई मान्दै आएका छौँ । तर यसलाई नेपाल सरकारले स्वीकृत भने गरेको छैन,’ उनले भने ।
विदेशी संघसंस्थाले बनाएको मापदण्डलाई नै नेपालका ट्राभल एजेन्सीले आधार मानिरहेका छन् । तर विदेशी पर्यटकले भने परमिट लिए पुग्छ ।
‘नेपालीको हकमा केही पनि मापदण्ड छैन । ग्रुप बनाएर जाने गरेका छन् । विदेशीले भने परमिट लिनुपर्ने हुन्छ,’ पर्यटन विभागका निर्देशक लिलाधर अवस्थीले भने ।

पदयात्राको रुटमा छिर्ने ठाउँमा इन्ट्री प्वाइन्ट हुन्छ । त्यहाँ इन्ट्री गरेपछि पदयात्री कहाँ पुग्यो, के गर्यो, कुनै अनुगमन र निगरानी हुँदैन । जसका कारण नेपाली पर्यटक स्वनियममा नबस्ने गरेको पाइएको छ ।
‘फिजिकल जाँच गरेर मात्र पदयात्रामा जानुपर्ने हो । तर सरकारी मापदण्ड अहिलेसम्म बनेको छैन । आन्तरिक पर्यटकको लागि मापदण्ड बनाउनुपर्ने भएको छ । पदमार्गको ठाउँठाउँमा प्वाइन्ट बनाउनुपर्छ,’ नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक मणिराज लामिछानेले भने ।
पदमार्ग क्षेत्रका स्थानीय सरकारले बढी सचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने तर्क लामिछानेको छ । लेक लागेर मृत्यु हुनेको संख्या बढिरहेकाले अब मापदण्ड आवश्यक रहेको सरकारी अधिकारीहरू बताउँछन् ।
‘मापदण्ड अति आवश्यक भएको छ । सचेतना अपनाउनुपर्छ भनेर समन्वय गरिरहेका छौँ । ठाउँठाउँमा सूचना बोर्ड राख्नुपर्ने छ । पदयात्राको नियमन र निगरानी गर्नुपर्छ,’ निर्देशक लामिछानेले भने ।

पदयात्रामा नेपालीको मृत्यु भएपछि विदेशी पर्यटकसमेत असुरक्षित महसुस गर्ने र गलत सूचना प्रवाह हुने जोखिम बढेको बताउँछन् उनी । ‘आन्तरिक पर्यटकको नियमन नगर्ने हो भने विदेशी पर्यटक नआउने जोखिम हुन्छ । मृत्युका खबरले बाह्य पर्यटकमा नकारात्मक असर पर्छ । त्यसैले मापदण्ड बनाउनुपर्छ,’ उनले भने ।
नेपाली पर्यटकले यात्रा गर्न थालेको धेरै समय भएको छैन । सन् २०११ मा नेपाल सरकारले पर्यटन वर्ष मनायो । जसको नारा पहिले देश अनि विदेश भनेर मनाइयो । त्यसपछि नेपालीमा पनि घुम्ने बानीको विकास भयो । नेपाली घुम्न त थाले तर स्वनियमभन्दा बाहिर गएर पदयात्रा गर्दा ज्यान पनि गुमाइरहेका छन् ।
हिउँ पहिरोको जोखिम उस्तै
गत साता नै दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित येलुङ रि हिमाल (५६३० मि) आरोहणको लागि गएको टोली हिँउ पहिरोमा पर्यो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिउँ पहिरोमा परी ४ जना विदेशी नागरिक बेपत्ता भए । २ नेपाली र १ विदेशी गरी ३ जनाको ज्यान गयो । ५ जना नेपाली नागरिक घाइते भए ।
गत साता गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी हिमाल आरोहणमा गएका इटालीका ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको हिम पहिरोमा परेर मृत्यु भयो । हिउँ पहिरोमा परेर मृत्यु हुनेको संख्या पनि वर्षेनि बढिरहेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१ मा हिउँ पहिरोका ६ वटा घटना भएका थिए, जसमा ३ जना बेपत्ता भए । त्यसैगरी आर्थिक वर्ष २०८० मा ७ वटा घटना भएकोमा १२ जनाको मृत्यु भयो । ५ जना घाइते भए ।
आर्थिक वर्ष २०७९ मा ५ वटा घटना भए, जसमा ३ जनाको मृत्यु हुँदा ३ जना बेपत्ता भए । र, ११ जना घाइते भए । आर्थिक वर्ष २०७८ मा ७ वटा घटना हुँदा ६ जनाको मृत्यु भयो । १२ जना घाइते भए ।
हिउँ पहिरो र लेक लागेर मृत्यु हुनेको संख्या बढिरहेकाले पदयात्रामा निस्कनुअघि मौसमसम्बन्धी पूर्वजानकारी लिन विज्ञहरूको सुझाव छ । मौसम बुझेर यात्रामा निस्कने हो भने दुर्घटना कम हुने विज्ञहरूको भनाइ छ ।




सबै तस्वीरहरू : दिनेश गौतम/अनलाइनखबर
प्रतिक्रिया 4