Comments Add Comment

‘राजनीतिमा अपराधीकरणको चरम रुप’

दिपक मनाङ्गेः गुण्डा नाइकेदेखि मन्त्रीसम्म

१६ वैशाख, काठमाडौं । २०५० देखि ७५ सालसम्म काठमाडौं प्रहरी प्रमुखमा जो प्रमुख भएर आए, हरेकको सूचीमा हुन्थे राजीव गुरुङ उर्फ दिपक मनाङ्गे । चुनाव हुँदा होस् या ‘गुण्डा समूह’सँग जोडिएका जुनसुकै घटना हुँदा होस्, उनी पक्राउ पर्नु सामान्य बनिसकेको थियो ।

पक्राउ परेनन् भने चाहिँ उनी आफैं कनिष्ठ प्रहरीहरुसँग सोध्थे, ‘मलाई … (प्रहरी प्रमुखको नाम) दाइले किन समातेनन् ?’ अधिकारीहरुका अनुसार प्रहरीले पक्राउ नगर्दा उनी छायाँमा परेको महसुस गर्थे, आफ्नो गतिविधि जारी रहेको छनक दिन पनि हिरासत पुग्नुपर्छ भन्ने मान्थे ।

तर मनाङ्गबाट स्वतन्त्र प्रदेशसभा सदस्यका रुपमा गण्डकी प्रदेशसभामा प्रवेश पाएका उनी शुक्रबार मन्त्री समेत बनेका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

२०४० बाटै अपराध यात्रा आरम्भ

प्रहरीको रेकर्डअनुसार मनाङ्गे काठमाडौंको पुरानो गुण्डामध्येमा पर्छन् । २०४६ सालको जनआन्दोलनपछि नेपालमा गुण्डागर्दी मौलाएको हो । उनी पनि त्यसपछि नै ठमेलमा गुण्डाको रुपमा उदाएका हुन् । काठमाडौं प्रहरीमा लामो समय काम गरेका एक अधिकृतका अनुसार मनाङ्गेले ठमेलमा टाउको उठाउँदै गर्दा उपत्यकामा अर्का गुण्डा चक्रे मिलेन मात्रै थिए । ठमेलमा डान्स बार र रेष्टुरेन्टहरु खुल्दै जाँदा मनाङ्गले हप्ता असूली गर्न थालेका थिए ।

प्रहरी अधिकृतहरुका अनुसार उनी ‘सलामी’ भन्दै रकम उठाउँथे । नदिनेहरु उनको समूहको निशानामा परिहाल्थे । उनले होटलहरुमा जम्मा हुने वियरको खाली बोतल समेत छोड्दैनथे । खाली बोतल संकलन गरेर विक्री गर्दा राम्रो कमाई हुने देखेपछि त्यसमा हात हालेका उनले महिनामा १०/१२ लाखसम्म कमाएको एक प्रहरी अधिकृत सुनाउँछन् ।

०५९ सालमा ठमेलको एक्सजोन डिस्कोमा नेपाली सेनाका एकजना मेजरलाई कुटपिट गरेपछि चाहिँ उनी चर्चामा आए । आफू पनि कारबाही पर्ने डरले मेजरले उजुरी त दिएनन्, तर प्रहरी प्रतिवेदनकै आधारमा सार्वजनिक अपराध ऐनअनुसार कारबाही प्रक्रिया अघि बढेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि सुनायो ।

Deepak-manange

तर आफू दिपक मनाङ्गे नभए राजीव गुरुङ भएको दाबी गर्दै सर्वोच्च अदालत गए र उनी रिहा पनि भए । पुनरावेदनमा उच्च अदालत, पाटनले भने दिपक मनाङ्ग र राजीव गुरुङ एउटै भएको प्रहरीको प्रमाणलाई स्वीकार गर्‍यो र, पुनः एक वर्ष कैद सजायको फैसला भयो ।

त्यही बेला राजधानीमा अरु गुण्डा समूहहरु जन्मिए, मनाङ्गेको प्रभाव कमजोर हुँदै गयो । महाराजगञ्ज क्षेत्रका मिलन चक्रे र चाबहिलका राजु गोर्खालीले गिट्टी बालुवा र जग्गा व्यवसायमा हात हाल्न थाले । मनाङ्गेको रजगज चाहिँ ठमेल क्षेत्रमै सीमित थियो, झगडा मिलाइदिने र हप्ता असूलीले मात्र नपुग्ने भएपछि उनले चक्रेको क्षेत्रतिर हात हाल्ने कोसिस गरे । डिस्कोमा काम गर्ने बाउन्सर गणेश लामालाई पनि उनले आफ्नो समूहमा सामेल गराए ।

काठमाडौंको गुण्डागर्दी दुनियाँमा पकड बढाउने क्रममा उनको समूहको बानेश्वरका मिलन सेक्सीसँग पनि झगडा हुन थाल्यो । पानीपोखरीको चुफाङ रेष्टुरेन्टमा मनाङ्गेको समूहले २१ वैशाख २०६१ मा चक्रे मिलनलाई आक्रमण गर्‍यो । मिलनको देब्रे हात छिन्यो, मनाङ्गेसहित उनका समूहका रवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामाविरुद्ध किटानी जाहेरी पर्‍यो । घटनामा १८ चैत २०६१ मा उनी पक्राउ परे, कुटपिट कसूरमा उनी दोषी ठहरिए । जिल्ला अदालत, काठमाडौंले २ वर्ष कैद सजायको फैसला सुनायो ।

सजाय काटेर २८ माघ २०६३ मा उनी थुनामुक्त भए । तर जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग ठहर गर्दै ५ वर्ष जेल सजाय सुनायो, अरुलाई सफाइ दियो । त्यसविरुद्ध सरकारी वकिलको कार्यालय सर्वोच्च गयो । अदालतमा मनाङ्गेको तर्फबाट कुनै दाबी प्रस्तुत नभएको र पुनरावेदनको समय पनि सकिएको भन्दै जेल जानुको विकल्प नभएको आदेश भएको थियो । ६ वैशाख २०७५ मा उनलाई काठमाडौं प्रहरीले स्वयम्भुबाट पक्राउ गरेको थियो ।

प्रहरी अधिकृतहरुका अनुसार पछिल्लो समय उनका अपराधिक गतिविधि देखिएका थिएनन् । यद्यपि प्रहरीले उनीमाथि निगरानी छाडेको थिएन, हाल उनी यार्सागुम्बा लगायतका जडिबुटीको व्यवसायी गरिरहेको प्रहरी रेकर्डले देखाउँछ ।

राजनीतिक यात्रा

मनाङ्गे मन्त्री बन्नुले समग्र राजनीतिक प्रणाली कस्तो छ भन्ने देखाउँछ – हेमन्त मल्ल, पूर्वडीआईजी

नेपालमा गुण्डागर्दीमा संलग्नहरुले प्रहरीबाट बच्न राजनीतिक फेरो समात्ने गरेका छन् । मनाङ्गे पनि ०४७ सालदेखि ०६८ सालसम्म अधिकांश समय राप्रपासँग जोडिएका थिए । तर, ०६२/०६३ को आन्दोलनपछि राप्रपा कमजोर बन्दै जाँदा उनले अन्य दलहरुको फेरो समात्न थाले ।

२०६६ फागुन ५ मा उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरे, ०६८ सालतिर संघीय समाजवादी पार्टी प्रवेश गरे । ०७३ सालमा राप्रपा प्रवेश गरेका उनी एक वर्षपछि एमालेमा प्रवेश गरे ।

मनाङ्गको प्रदेशसभा क्षेत्र नं. ‘ख’बाट उनलाई २०७४ सालमा एमालेले टिकट दिने निर्णय गर्‍यो । तर सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा व्यापक विरोध भएपछि पार्टी निर्णयबाट पछि हट्यो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिए, एमालेले कसैलाई उठाएन ।

चुनावमा विजयी भए पनि अदालतको आदेशपछि उनले सपथ लिन पाएनन् । नख्खु कारागारबाट ६ महीनापछि थुनामुक्त भएसँगै उनले १५ पुस २०७५ मा सपथ ग्रहणको माग गर्दै प्रदेशसभामा निवेदन दिए ।

उनले सपथ लिन पाउने वा नपाउने विवादकै बीच १४ माघमा सपथ ग्रहण गरे । माननीय बनेपछि पनि मनाङ्गेको शैली भने फेरिएन । २०७६ माघ पहिलो साता मनाङ्गेले कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई झापड हाने ।

पोखराको भण्ढारढिकमा भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनको तयारी भइरहेका वेला उनले गुरुङलाई झापड हानेका थिए । कुटपिटमा संलग्न भएको भन्दै प्रहरीले उनलाई ९ माघमा पक्राउ गर्‍यो । तर, मनाङ्गेले भ्रष्टाचार मौलाएको र आफूले व्यक्तिमाथि नभइ प्रवृत्तिमाथि प्रहार गरेको दाबी गरे ।

‘जनता हेर्‍यो त्यतै भ्रष्टाचार छ, न काम गर्ने अधिकार छ, न समितिले केही गर्न सक्छ’ भन्दै ७ असार २०७७ मा प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएपछि पनि उनी चर्चामा आएका थिए ।

यो पनि पढ्नुहोस मनाङे-लामा सम्बन्धः गुरू-चेला !

रमेश खरेल भन्छन् – राजनीतिमा अपराधीकरणको पराकाष्ठ

मनाङ्गे मन्त्री बनेपछि पहिले उनलाई पक्राउ गर्ने अधिकृतहरु चाहिँ के सोचिरहेका होलान् ? उनलाई दुईपटकसम्म पक्राउ परेका एक अधिकृत यो प्रश्नमा हाँस्छन् मात्र । भन्छन्, ‘यो देशमा गुण्डागर्दीले कुन तहसम्म जरा गाडेको छ भन्ने प्रमाण हो ।’

मनाङ्गेहरुलाई डन नभई ‘फ्याउरे भएको’ सार्वजनिक अभिव्यक्ति दिने पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेल पनि उनलाई मन्त्री बनाइनुले देशका माथिल्लो तहमा बस्ने पनि गुण्डागर्दी र भ्रष्टाचारमा संलग्न छन् भन्ने देखिने बताउँछन् । ‘यो राजनीतिमा अपराधीकरणको पराकाष्ठ हो’, खरेलले अनलाइनखबरसँग सुनाए, ‘दिपक मनाङ्गले एउटा क्षेत्र तर्साउँथ्यो, नेताहरु देशै तर्साइरहेका छन् । त्यसैले दुईबीच फरक देखिन्न ।’

अर्का एकपूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चाहिँ बहालवाला थुप्रै सांसदहरुको पनि आपराधिक पृष्ठभूमि भएको उल्लेख गर्दै ‘को कति एक्सपोज भए’ भन्ने मात्र फरक रहेको सुनाउँछन् ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी पनि मनाङ्गे मन्त्री बन्नुले समग्र राजनीतिक प्रणाली कस्तो छ भन्ने देखाएको सुनाउँछन् । उनी भन्छन्, ‘अहिले राजनीतिमा जुन किसिमका घटनाहरु देखिइरहेका छन्, त्यसले समग्र व्यवस्थाप्रति नै वितृष्ण पैदा गराइरहेको छ ।’

काठमाडौं प्रहरीका अर्का एक अधिकृतका अनुसार मनाङ्गे भन्थे, ‘पुलिस नेतादेखि डराउँछ, नेता गुण्डादेखि डराउँछ, गुण्डा पुलिसदेखि डराउँछ ।’ तर गुण्डागर्दीमा संलग्नहरु आफैं राजनीतिज्ञ बन्न थालेपछि मनाङ्गेले सुनाउने गरेको नेता–प्रहरी–गुण्डाको चक्र पनि अब असान्दर्भिक हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
गौरव पोखरेल

ट्रेन्डिङ

Advertisment