नेपाली कांग्रेसका नेताहरू महाधिवेशनको पक्ष र विपक्षमा दुई चिरा भएका छन् । संस्थापनका नेताहरू चुनावअघि नियमित वा विशेष महाधिवेशन गर्न नहुने पक्षमा छन् भने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा मंसिरभित्र नियमित हुन नसके विशेष महाधिवेशन गरेर चुनावमा जानुपर्ने अडानमा छन् ।
नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने मागसहित हस्ताक्षर संकलन गरी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकिएको छ । महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवशेनका पक्षमा हस्ताक्षरको अगुवाइ गरेपछि संस्थापन पक्ष रुष्ट छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गर्ने कार्यले पार्टी विभाजन हुने चिन्ता उनीहरूको छ ।
१४औं महाधिवेशनका लागि तय भएका प्रतिनिधिको अवधि सकिएको र उनीहरूको हस्ताक्षर वैध नहुने दाबीसमेत संस्थापन पक्षका नेताहरूको छ ।
मूलतः महाधिवेशनका विषयमा केन्द्रित रहेर कांग्रेस महामन्त्री गगन थापासँग अनलाइनखबरकर्मी लिलु डुम्रेले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
तपाईं र अर्का महामन्त्री विश्वप्रकाश शर्माको अगुवाइमा म्याद सकिएका महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेको आरोप छ नि ?
कुतर्कको कुनै उत्तर र उपचार हुँदैन । महाधिवेशन प्रतिनिधिहरूले निर्वाचित गरेको केन्द्रीय समितिको अवधि हुने, तिनलाई निर्वाचित गर्ने प्रतिनिधिहरूको चाहिँ अवधि नहुने ? यो कुतर्क त हुँदै हो, त्यसमाथि सिंगो पार्टी र महाधिवेशन प्रतिनिधिहरूकै अपमान गरियो । किनकि, प्रतिनिधिहरूले विधानले दिएको अधिकार प्रयोग गरेर नै हस्ताक्षर गरेका हुन् ।
तिमीले विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने हैसियत राख्दैनौ भन्नु तानाशाही, आत्मकेन्द्रित र ठालुवाद हो । यसलाई मैले कुन रूपमा बुझ्छु भने, हामीहरू दुई/पाँच जना छौं, पार्टी भनेकै हामी हौं, हामीबाहेक कोही पनि छैन, हामीबाहेक कसैले जानेको छैन भन्ने सोचको परिणाम हो । त्यसैले यस्तो कुतर्कको उत्तर दिइराख्न आवश्यक ठान्दिनँ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने साथीहरूले कसैलाई हटाउन वा कसैलाई बनाउन खोजेको होइन । उहाँहरूको चिन्ता पार्टीप्रति हो । देशमा यत्रो उथलपुथल हुँदा पार्टीमा छुनुपर्छ । छोएको देखिनुपर्छ । पार्टीमा छोएको नागरिकलाई लाग्नुपर्छ । पार्टीको चिन्ता गर्नेलाई उल्टै हेप्ने ? तिम्रो वैधानिकता छैन, म्याद सकियो भन्ने ? अहिले जसले महाधिवेशन प्रतिनिधिको म्याद सकियो भन्छ उसलाई नागरिकले चुनावमा तिम्रो पनि म्याद सकियो भनिदिन्छन् ।
तपाईंले नियमित महाधिवेशन मंसिरभित्रै गर्न सकिन्छ भनेर राख्नुभएको प्रस्ताव केन्द्रीय समितिमा छलफलको एजेन्डा बन्न सकेन । प्रस्तावबारे केन्द्रीय समितिमा छलफल नै हुनसक्ने अवस्था छैन भने महाधिवशेन कसरी हुनसक्ला ?
मंसिर मसान्तसम्म १४औं महाधिवेशनमा निर्वाचित भएर आएको केन्द्रीय समितिको पदावधि हो । हाम्रो विधानले म्याद थप्न सक्ने व्यवस्था गरेको छ । यो भन्दा अघिल्लो कमिटी पनि म्याद थपेकै हो । केन्द्रीय समितिको बहुमतले म्याद थपबारे निर्णय गर्नसक्छ । २०८२ मंसिरमै अधिवेशन गर्ने भनेर मैले आज होइन, महासमितिको बैठकको बेला नै कार्यतालिका प्रस्तुत गरें । सभापतिजीले नै यो निर्णय गर्ने अधिकार केन्द्रीय समितिलाई छ भन्नुभएको हो ।

२०८२ सालमा महाधिवेशन नगर्ने र म्याद थपेर २०८३ सालमा महाअधिवेशन गर्ने कुरा सभापतिले औपचारिक र अनौपचारिक रूपमा पटकपटक भन्नुभएको छ । एक प्रकारको निष्कर्ष वा समझदारी के बनेको हो भने, २०८२ मंसिरमा महाअधिवेशन नभए २०८३ मा हुन्छ । तर २०८३ सालमा पनि छिटो गर्न पाए हुन्थ्यो, वैशाखमा गर्न पाए हुन्थ्यो । मंसिर किन पुर्याउने ? यिनै वरिपरि हाम्रो छलफल र बहस चलिरहेको हो । अब २३ भदौअघिको नेपाल र त्यसपछिको नेपाल एउटै हो ? त्यसो भए संसद् किन छैन त ? त्यो संसद्बाट प्रचण्ड बहुमत प्राप्त गरेका पूर्वप्रधानमन्त्री ओलीजीको नेतृत्वमा सरकार किन छैन त ? हामी यत्ति कुरा पनि किन स्वीकार्न सक्दैनौं ? अब २०८३ सालमा महाधिवेशन गर्ने सुविधा हामीसँग छैन ।
फागुनमा हुने चुनावको तयारीमा जानु छ । चुनावमा जानुभन्दा पहिले कांग्रेसले आफूभित्र सुधारका लागि केके निर्णय गर्यो ? देश र जनतालाई बताउने कुराहरू के हुन् ? पार्टीका एजेन्डा केके हुन् ? नयाँ पुस्ताले सडकबाट उठाएका सुशासन लगायतका विषयहरूका सन्दर्भमा कांग्रेसले के प्रस्ताव लिएर आउँदैछ ? कांग्रेसप्रति सडकमा देखिएको रिसको भारीलाई बिसाउन के नयाँ प्रस्ताव लिएर आउँदै छ ? यी सबै नभनी हामी चुनावमा गएर हुन्छ ? त्यो भन्नका निम्ति महाअधिवेशन अपरिहार्य भएन ?
हाम्रो कार्यालय छैन । पालमुनि बसेर ६ महिनामा गर्नुपर्ने काम ६ घण्टामा गरेर भए पनि अधिवेशन गर्छौं भन्नुपर्ने बेला हो यो । अधिवेशनबाट नयाँ नेतृत्व ल्याउँछौं, केही नयाँ निर्णयहरू गर्छौं, केही नयाँ निष्कर्ष निकाल्छौं र, देश र जनतालाई बताउँछौं भनेर आउनुपर्ने होइन ?
दुई दिनको उथलपुथलले देशलाई यहाँ पुर्याइसक्यो । नयाँ आएको सरकारले फागुनमा चुनाव गर्छु भनिरहेको छ । थोरै मेहेनत गर्यौं भने नियमित महाधिवेशन मजाले गर्न सकिन्छ । प्राविधिक कुरा देखाएर महाधिवेशन नगर्दा कार्यकर्ताको मात्रै होइन, नागरिकको पनि अपमान हुन्छ ।
एउटा कुरामा प्रष्ट हुन आवश्यक छ । अहिले अधिवेशन भएन भने चुनावमा जाँदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवा नै हो । चुनावअघि अधिवेशन भएन भने सभापतिले दिनुभएको कार्यभारको यात्रा त्यहीँ टुंगिन्छ । त्यसपछि सभापतिको नेतृत्वमा चुनावमा जान्न भनेर कसले भन्न पाउँछ ? अहिलेको कार्यवाहकले तपाईं होइन मेरो नेतृत्वमा चुनावमा जानुपर्छ भन्न सक्नुहुन्छ ? सभापति स्वस्थ भएर फर्केपछि कार्यवाहक सभापतिले तपाईं स्वस्थ हुनुभएको छैन भन्न त पाउनुहुन्न नि । हामी परिस्थिति, नेतृत्व, नीति सबै सन्दर्भमा बृहत् ढंगबाट बहस गर्छौं, छलफल गर्छौं, समीक्षा गर्छौं, निखारिएर आउँछौं भन्नकै लागि त महाधिवेशन हो ।
महाधिवेशन एउटा अनुष्ठान हो । महाधिवेशनमै परीक्षण पनि होला । हामी एकअर्काले तिमी गलत, म सही भनिरहेका छौं । कार्यकर्ताबाट निर्णय गराऔं न, को सही को गलत । महाधिवेशन गरौं, नयाँ नेतृत्वले चुनावमा डोर्याएर लिएर जाऔं, हार्नेले जित्नेलाई मद्दत गरौं । पहिले अनुमान लगाएर प्रक्रियाबाट भाग्नु कदाचित राम्रो होइन ।
सदस्यता वितरण र नवीकरणको मुख्य जिम्मेवारी लिएर समयमा काम नसक्ने, अहिले द्रुत गतिमा महाधिवेशन गरौं भनेर असम्भव कुरा गर्ने भनेर तपाईंमाथि कतिपय नेताको आरोप छ नि ?
पार्टीको विधान, परम्परा, अभ्यास नबुझ्नेहरूलाई ढाँटछल गर्न सकिन्छ भन्ने लागेको होला । अहिले जसले जे भनिराख्नुभएको छ, उहाँहरू जिम्मेवारीमा (महामन्त्री) हुँदै गर्दा पनि विवादहरू हुन्थ्यो । पहिला महाअधिवेशनको कार्यतालिका बन्थ्यो । कार्यतालिकाअनुसार क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको प्रक्रियामा गएपछि विवाद हुन्थ्यो । विवाद मिलाउने, क्रियाशील सदस्यता टुंग्याउने अनि वडाहरूको अधिवेशन गर्दै आएका हौं ।
मैले यसपटक विधानको व्यवस्था लागु गर्न खोजेको हो । क्रियाशील सदस्यता नवीकरण, वितरण प्रत्येक वर्ष गर्ने भनेर विधानमा लेखिएको छ । विधानमा लेखिएको छ भने कार्यान्वयन किन नगर्ने ? अहिले जति काम भएको छ, त्यो सबै अतिरिक्त हो ।

विगतमा महाअधिवेशको निर्णय गरेर कार्यतालिका बनाइसकेपछि कम्तीमा ६/७ महिना यही काममा लगाउँथ्यौं । त्यो ६/७ महिना लाग्ने काम अब दुई महिनामा गर्नुपर्यो । दुई महिनामा गर्न नसकिने भन्ने होइन । ६/७ महिना लाग्ने काम दुई महिनाभित्र गर्नसक्ने सामर्थ्य राख्दैनौं भने जेनजी पुस्ताको अपेक्षाअनुसार देशलाई गतिदिने क्षमता कांग्रेसले राख्छ भन्ने दाबी कसरी गर्न सक्छौं ? यत्रो प्रविधिको जमानामा आफ्नो अधिवेशन त समयमा गर्न सक्दैनौ भने तिमीसँग केको आशा भनेर सोध्नेलाई के उत्तर दिने ?
क्रियाशील सदस्यताको जिम्मा लिएर काम नगरेको भन्ने नेताहरूलाई मेरो उत्तर हुन्छ- केन्द्रीय समितिले अविध थप्दै आएका कारण जिल्ला कमिटीहरूले क्रियाशील टुंग्याएर नबुझाएका हुन् । असोज मसान्तसम्म केन्द्रीय समितिले नै म्याद थपिदिएको हो । कार्यतालिका नै बनेको छैन भने अहिले नै नवीकरण किन टुंग्याउने ? भनेर हो नि । त्यतिबेला हामीसँग समय थियो, अब छैन ।
चुनावअघि महाधिवेशन गर्दै आएको कांग्रेसको परम्परा छ । जस्तो, २०७४ को चुनावअघि महाअधिवेशन भयो । २०७९ को चुनावअघि चौधौं महाधिवेशन भयो । दोस्रोपटक देउवा सभापतिमा चुनिनुभयो । यी दुवै चुनाव सभापतिका रूपमा देउवाले हाँक्नुभयो । १५औं महाधिवेशन २०८४ को चुनावअघि गर्नेवाला थियौं । अब चुनाव सरेर २०८२ मा आइसकेपछि अधिवेशन पनि चुनावअघि गर्नुपर्यो । अधिवेशनबाट आएको नेतृत्वले नै यो वर्षको चुनाव हाँक्ला ।
चुनावमा मसँग मत माग्न आउने कांग्रेस के हो भनेर देश र जनताले थाहा पाउनु पर्दैन ? पुरानालाई त जनताले सडकमा फालिसके त । अहिले कसैले मलाई नहराए पनि काठमाडौं-४ को सांसद त म होइन नि । मेरो सांसद पद सडकबाट नागरिकले खोसेर लिइसके । म मेरै क्षेत्रमा जाँदै गर्दा के भनेर जान्छु अब ? तपाईंलाई भोट किन दिने भनेर मलाई सोध्दा जवाफ दिनुपर्दैन ?
नेकपा एमाले र माओवादी अधिवेशन गरेर चुनावमा जाँदैछन् । पालमुनि बसेर एमाले किन अधिवेशन गर्दैछ ? माओवादी कमिटी भंग गरेर किन अधिवेशन गर्दैछ ? उनीहरू अधिवेशनबाट केही नयाँ कुरा लिएर जनतामा जालान् । हाम्रो भने चुनाव देखाएर महाअधिवेशन सार्ने उल्टो कुरा गरिँदैछ । म भन्छु- चुनावकै कारण पनि महाधिवेशन पहिले नै गर्नुपर्छ । महाअधिवेशनले जे म्यान्डेट दिन्छ, त्यसको आधारमा चुनावमा जाने हो । यसमा प्रष्ट हुनुपर्छ ।
बैठकमा कार्यतालिका नै पेस गर्न नसक्ने अवस्थामा महाधिवेशनको प्रक्रिया चाहिँ कसरी सुरु हुनसक्छ त ?
सभापतिले अनुमति नदिई मैले प्रस्ताव लिएर जान मिल्दैन । कात्तिक १३ गतेबाट फेरि बैठक सुरु हुँदैछ । बैठकबाट महाधिवेशनको कार्यतालिका लिएर जान पनि सकिन्छ । यो केन्द्रीय समितिबाट अहिले महाधिवेशन गर्दैनौं भन्ने सभापति पक्षका बहुमत साथीहरूको कुरा रहला । बहुमतको आधारमा हामी निर्णय गराउँछौं भन्ने कुरा पनि रहला । तर बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको पत्र त सभापति, म कसैले पनि रोक्न पाउँदैनौं नि ।

महामन्त्रीद्वयले विशेष महाधिवेशनका लागि हस्ताक्षरको आह्वान गरे भन्ने बुझाइ छ । एकछिनलाई मानौं, हामी दुवै महामन्त्री कार्यवाहक सभापतिसँग मिलेर अहिले महाधिवेशन नगरौं भन्नेमा गयौं रे । रोक्न पाइन्छ त विशेष महाधिवेशन ? हामी को हो महाधिवेशन प्रतिनिधिको अधिकार खोस्ने ? ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बोलाएको विशेष महाधिवेशन हामी कसैले रोक्ने अधिकार छैन ।
एउटै कारणले मात्रै विशेष महाधिवेशन रोकिन्छ । त्यो के भने, केन्द्रीय समितिले मंसिरभित्रै नियमित महाधिवेशन गर्ने निर्णय गर्यो भने विशेष महाधिवेशनका मागकर्ताहरूलाई बोलाएर निवेदन फिर्ता लिएर जानुस् भन्न सकिन्छ । तर विशेष महाधिवेशनका लागि समय पुगेन भन्ने सुविधा छैन । महाधिवेशन प्रतिनिधिलाई हेप्न पाइँदैन ।
दुई महामन्त्रीले हस्ताक्षर अभियान सञ्चालन गरी पार्टी विभाजन गर्न लागे भन्ने आशंका पनि छ नि ?
हामी दुई महामन्त्रीले पार्टीभित्र लामो जीवन व्यतित गरेको छौं । हाम्रो उद्देश्य पार्टीलाई एकीकृत राख्ने र थप सुदृढ बनाउने हो । सँगसँगै पार्टीलाई थप सान्दर्भिक बनाएर जाने हो । पार्टी बलियो हुन हामी एक हौं भनेर मात्रै हुँदैन । नागरिकले पत्याउने हुनुपर्छ । पार्टीको चिन्ता उहाँहरूलाई जति छ, त्यो भन्दा बढी चिन्ता हामीलाई छ ।
दोस्रो कुरा, ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको सार्थकता रहनुपर्छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने प्रतिनिधि केही पनि होइनन्, हस्ताक्षर गर्नेहरू अवैधानिक हुन् भन्ने कुराले बरु पार्टीलाई फुटतिर लैजान्छ । नियमित वा विशेष महाधिवेशनलाई महत्व नदिँदा पार्टीलाई थप कमजोर बनाउँछ ।

महाधिवेशन पार्टीको नयाँ जीवनका लागि हो । म र अर्का महामन्त्रीको महत्वकांक्षाले गर्दा यो अवस्था आएको हो भन्नेहरूलाई केन्द्रीय समितिको बैठकमा भनिदिएको छु- हामी विशेषबाट नेतृत्वमा नआउने लिखित गर्दिन्छौं । भुइँमा बस्छौं । को आउने हो आउनुस् ।
हामी २३ भदौअघि देशभरि घुमिरहेका थियौं । तलको कुरा बुझिराखेका थियौं । अनि आत्तिएर सभापतिलाई भन्थ्यौं- यस्तो भइराखेको छ, गल्ती नगरौं । पार्टी भित्र र बाहिरका साथीहरूसँग पनि कुराकानी गरिरहेका छौं । हामीले केही कुरा बुझेर नै पार्टीले ऐतिहासिक सुधारका लागि संकल्प गरेन सकिन्छौं भनिरहेका हौं ।
साथीहरूले सानो घेराबाट हेरिराख्नु भएको छ । हामी महामन्त्री व्यक्तिगत रूपमा सदस्य मात्रै भएर बस्न तयार छौं । चुनावमा उम्मेदवार नबन्न पनि तयार छौं । अरू उम्मेदवार जिताउन जानुपर्छ भने पनि हामी तयार छौं । महाधिवेशन नगर्ने हो भने त हामी महामन्त्री पदमा छँदैछौं नि । महाधिवेशन एउटा यस्तो अनुष्ठान हो, जसबाट कांग्रेसले आफूलाई धोई पखाली गर्छ । आफू भित्रका घाउमा मल्हम लगाउँछ । दाग सफा गर्छ । कतिपय नयाँ कुरा थप्छ । गलत कुराहरू छोड्छ ।
नागरिकका सामु हामीले गुमाएको विश्वास पुनर्स्थापित गर्नुछ । त्यो अनुष्ठानबाट आएपछि मात्रै नागरिकले पत्याउने अवस्था हुन्छ । कस्तो कुरा नबुझेको ।
तपाईंले वर्तमान कार्यसमितिको अवधि थप्ने प्रस्ताव पेस नगर्ने घोषणा गरिसक्नुभएको छ । कथं बहुमतको आधारमा यो समितिको अवधि थपियो भने महामन्त्री पदबाट राजीनामा दिनुहुन्छ ?
मैले के निर्णय के गर्छु भन्नेबारेमा अहिले नै निष्कर्षमा गर्दा समझदारी बन्दैन । कुनै पनि सकारात्मक टुंगोमा पुगिँदैन भने अनुमानका भरमा भविष्यवाणी गर्दिनँ । तर बहुमतको आधारमा निर्णय गर्दै हामीहरू देखाइदिन्छौं भन्ने बाटोतिर नेताहरू लागेर नियमित महाधिवेशन रोक्नुभयो भयो भने विशेष महाधिवेशनमा जानैपर्छ । चुनावअघि नै कि नियमित अधिवेशन हुन्छ कि त विशेष ।

महाधिवेशन नगराई महामन्त्री पद छोडेर भाग्ने कुरा म किन गर्छु ? महाधिवेशन गराउने जिम्मा महामन्त्रीको रूपमा मेरो पनि हुन्छ नि ।
विशेष महाधिवेशन अप्रिय हुने पार्टी नेताहरूको बुझाइ छ नि ?
पार्टी भनेको हामी केन्द्रीय समितिमा भएका सय-डेढ सय मान्छे मात्रै हौं र ? पार्टी भनेको हामी सांसदहरू मात्र पनि होइन । ८ लाख बढी क्रियाशील सदस्य छौं । चुनावमा कांग्रेसले २७ लाख मत ल्याएको छ । ती २० लाख मान्छे को हुन् ? ती मतदाताको चाहिं कांग्रेस पार्टी होइन ? यो पटक लाखौं नयाँ मतदाता आउँदै छन् । जो अस्ति हाम्रो विरुद्धमा आन्दोलनमा आए । हामी भएको सरकारको विरुद्धमा आए । पुरानो पार्टी, पुरानो नेतृत्वको विरुद्धमा आए । तिनीहरूसँग हामी मत माग्न जाँदैनौं ? हामी आफ्नै घरभित्रको मात्र चिन्ता गरिरहेका छौँ । कांग्रेसले केही पनि सुधार नगरी यथास्थितिमा कसरी मत माग्न सक्छ ?
तलको कुरा सुन्नुपर्छ, मान्नुपर्छ । कांग्रेससँग नागरिक रिसाएका छन् । हाम्रा परम्परागत मतदाता रिसाएका छन् । लाखौं मतदाता हामीलाई मत नहाल्ने मुडमा छन् । पार्टी ठूलो अफ्ठ्यारोमा छ । हामीले थुप्रै गल्ती-कमजोरी स्वीकार्नु पर्नेछ, समीक्षा गर्नु पर्नेछ, सुधार्नु पर्नेछ, नयाँ कुराहरूको बारेमा तयारी गर्नु पर्नेछ । महाधिवेशनबाट नयाँ भएर आयौं है, बदलिएर आयौं है, सफा भएर आयौं है, शुद्ध भएर आयौं भन्नु पर्नेछ । अनि मात्र कांग्रेस फेरि नागरिकसँग जोडिन्छ । अनि मात्र पार्टी बलियो हुन्छ ।
तपाईं पार्टीको ढोका नयाँ पुस्ताका लागि खोल्नुपर्छ भन्नुहुन्छ । तर विशेष महाधिवेशनबाट मूल नेतृत्व मात्रै चयन हुँदा पार्टी संरचनाभित्र नयाँ प्रतिनिधि चयन हुने अवस्था रहँदैन । नयाँ पुस्ता सहभागी हुन नपाउने विशेष महाधिवेशन गर्न नहुने विचारहरू पनि कांग्रेसमा छ नि ?
त्यसकारण नै नियमित महाधिवेशन गर्नुपर्छ भनिरहेका छौँ । हस्ताक्षर गर्ने प्रतिनिधिले पनि नियमित महाधिवेशन गर्न ढाँटछल होला भनेर विशेषको माग गरेका हुन् । चुनावमा जानुअघि पार्टी नयाँ लिडरसिपमा जानुपर्छ । त्यो नयाँ लिडरसिप जो पनि हुनसक्छ । जेएनजी मुभमेन्टले पुरानो पुस्ताको मान्छे माग्यो । आउनुभयो त प्रधानमन्त्री बनेर सुशीला कार्की ।

हाम्रो पार्टीमा पनि त्यस्तै हुनसक्छ । यहाँ कुनै पुस्ताको कुरा छैन । जो पनि आउन सक्नुहुन्छ । हामी नै हुनुपर्छ भन्ने छैन । सबैको भावना समेटेर फलानो चाहिँ हुन्छ भन्ने अवस्था आउन सक्छ ।
नियमित गर्न सकिएन भने विशेष महाधिवेशन किन गर्नपर्छ भने, कम्तीमा नयाँ लिडरसिपले नागरिकसँग कुरा गर्नसक्छ । २०४८ सालमा कांग्रेसले सर्वाधिक मत पाउँदा त्यो बेलामा कुनै पनि भ्रातृ संस्था थिएनन् । त्यति ठूलो नागरिक भरोसा थियो ।
आन्दोलनबाट आएको पार्टी थियो र यसले मलाई भविष्य दिन्छ भन्ने नागरिक भरोसा थियो । भरोसा भएमा तलको पार्टीको पंक्ति नभए पनि मत आउने रहेछ । साथीहरू टेक्निकल कुरा मात्र गरिरहनुभएको छ । भरोसा पुनर्स्थापित नगरी टालटुल गरेर मात्र पुग्दैन ।
तस्वीर/भिडियोः शंकर गिरी
प्रतिक्रिया 4