Comments Add Comment

अरब सागरमा चक्रवात विकसित, नेपाल पनि प्रभावित हुने

फाइल तस्वीर

२ जेठ, काठमाडौं । अरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौसमविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने मौसमविद्को पूर्वानुमान छ ।

‘नेपालमा चक्रवातको असर भोलि (सोमबार)देखि नै देखिन थाल्छ । भोलि विशेषगरी पश्चिम भूभागमा बदली हुन्छ’ मौसमविद् मञ्जु वासीले अनलाइनखबरसँग भनिन्, ‘अहिलेसम्मको विश्लेषणअनुसार पर्सि देशैभर बदली गराउँछ र वर्षा पनि हुन्छ ।’

‘ताउ ते’ सन् २०२१ को पहिलो चक्रवात हो । यसको बढी असर भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरातमा पर्ने मौसमविद्को अनुमान छ ।

यो चक्रवात गुजरात क्षेत्रमा सोमबार साँझ जमीनमा ठोक्किने पूर्वानुमान छ । त्यसपछि यसको गति र दिशाको विश्लेषण गरेर नेपालमा पर्ने थप असरबारे भन्न सकिने मौसमविद् वासी बताउँछिन् ।

मौसमविद्का अनुसार जमीनमा ठोक्किएपछि चक्रवात कमजोर हुने गर्दछ र यसको गतिसँगै दूरी पनि परिवर्तन हुने गर्दछ । ‘नेपालभन्दा पश्चिमतिर गयो भने नेपालमा यसले कम असर गर्छ । तर यदि यो उत्तरपूर्वतिर गयो भने नेपालमा बढी असर पर्छ’, मौसमविद् वासीले भनिन् ।

भारतमा अलर्ट

गोवा क्षेत्रको जमीनमा ठोक्किइसकेको यो चक्रवात गुजराततर्फ अघि बढेको भारतका मौसमविद्ले बताएका छन् । आगामी १२ घण्टासम्म यो निकै शक्तिशाली तुफानमा बदलिने आशंका छ । यो चक्रवातको बढी असर गुजरातमा पर्ने पूर्वानुमान छ ।

प्रभावित क्षेत्रमा भारी वर्षा र तुफान आउने भएकाले सतर्क रहन भारतको मौसम विभागले यसअघि नै पूर्वसूचना जारी गरिसकेको छ । सोही सूचनाको आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार महाराष्ट्र, केरल, तमिलनाडु, कर्नाटक र गुजरातका उच्च अधिकारीहरुसँग छलफल गरी पूर्वतयारीबारे जानकारी लिएका थिए । राज्य सरकारहरुले उद्धारकर्मीलाई तयारी अवस्थामा राखेको, वायु सेनाले उच्च सतर्कता अपनाएको लगायतका समाचार आइरहेका छन् ।

चक्रवातको नाम ‘ताउ ते’ कसले राख्यो ? यसको अर्थ के हो ?

बेला–बेला आउने यस्ता चक्रवातको नाम राख्ने चलन छ । अहिले अरब सागरमा विकसित चक्रवातको नाम ‘ताउ ते’ राखिएको छ ।

यसपटक म्यानमारले यो चक्रवातको नाम राखेको हो । एक प्रकारको हिंसक माउसुलीलाई बर्मी भाषामा ‘ताउ ते’ भन्ने गरिन्छ ।

वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार चक्रवात प्रभावित क्षेत्रका देशहरुले पालैपालो नाम राख्छन् । नेपालमा समुद्र नभएकाले चक्रवातको नाम राख्ने अवसर नेपालले पाउँदैन ।

सन् २०२० मा बंगालको खाडीमा विकसित पहिलो चक्रवातको नाम ‘अम्पुन’ राखिएको थियो । सोही वर्ष अरब सागरमा विकसित चक्रवातलाई ‘निसर्ग’ नाम दिइएको थियो । यी दुवै चक्रवातको असर नेपालमा पनि परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विनोद घिमिरे

ट्रेन्डिङ

Advertisment