Comments Add Comment

डा. भट्टराईले भने– मैले प्रधानमन्त्री ओलीलाई भेटेकै हुँ

२ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका छन् । ओलीले राष्ट्रिय सरकार बनाउन नमानेपछि यो कुरा अरुलाई नभनेको भट्टराईको भनाइ छ ।

पूर्वप्रधानमन्त्री डा. भट्टराईले आइतबार ट्वीटरमार्फत् यो कुराको खुलासा गरेका हुन् । ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो । मैले वर्तमान/पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो । वहाँले नमानेपछि अरूलाई नभनेको हुँ,’ भट्टराईले लेखेका छन् । उनले अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह पनि गरेका छन् ।

ओली निकट एमाले नेता महेश बस्नेतले हालै एक टेलिभिजन अन्तर्वार्तामा डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएका थिए । त्यही सन्दर्भमा भट्टराईले ओलीलाई आफूले भेटेको र भेटमा राष्ट्रिय सरकार बनाउन भनेको प्रष्टीकरण ट्वीटरमार्फत् दिएका हुन् ।

यसअघि डा. भट्टराईले धारा ७६ (२) बमोजिम सबै दलको सहभागीता र वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन सकिने ट्वीट पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment