+
+
Shares

एमालेको निर्देशन : नेतृत्वको रक्षा, कार्यकर्तालाई चेतावनी

अपानि हेर्दा एमाले नेतृत्व अनुशासनको सवालमा थप चर्को हुने देखिएको छ । अरु पार्टीको तुलनामा एमाले नेतृत्वबाट प्रश्न गर्नेहरूमाथि कठोर निर्णयहरू गर्दै आएको छ । विशेषगरी ओलीको आलोचना गर्नेहरूले एमाले छोड्नुपर्ने स्थिति बन्ने गरेको छ ।

सइन्द्र राई सइन्द्र राई
२०८३ असोज २० गते १९:४१

२० असोज, काठमाडौं । नेकपा एमालेले पार्टी नेतृत्वको रक्षा र कार्यकर्तालाई थप कस्नेगरी अन्तरपार्टी निर्देशिका–३ (अपानि) जारी गरेको छ ।

असोज पहिलो साता सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकबाट भएको निर्णय समेटेर अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अपानि बमोजिम अब एमाले नेता तथा कार्यकर्ताहरूले नेतृत्वका बारेमा सार्वजनिक टिप्पणी गर्न पाउने छैनन् ।

‘आजसम्म जो–जसले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने । केन्द्रीय कमिटीको चालु बैठकलाई कटअफ बैठक मान्ने,’ अपानिमा भनिएको छ, ‘अब उप्रान्त कसैले पार्टीको नीति, निर्णय र नेतृत्वको विरुद्धमा सार्वजनिक रुपमा आलोचना, विरोध, निन्दा, अपमान गरेमा वा गुटबन्दी गरेमा वा अराजक तथा अनुशासनहीन क्रियाकलाप गरेमा स्पष्टीकरण सोध्ने र कारबाही गर्ने ।’

यसका लागि कारबाही गर्ने निकायहरूलाई थप अधिकार सम्पन्न बनाइने भएको छ । ‘पार्टीमा अनुशासनहीनता नियन्त्रण गर्न केन्द्रीय अनुशासन आयोग सक्रिय रहने,’ अपानिमा लेखिएको छ, ‘केन्द्रीय अनुशासन आयोगलाई यसअनुरुप अघि बढ्न कुनै व्यवधान वा अप्ठ्यारो भएमा केन्द्रीय कमिटीले बाधा अड्काउ फुकाएर भए पनि सहयोग गर्ने ।’

अनुशासन आयोगका अलवा कारबाहीको निर्णय केन्द्रीय संगठन विभागबाट पनि हुने जानकारी दिइएको छ । ‘त्यस्तो (अनुशासनको) क्रियाकलाप गरेको पाइएमा कारबाहीको विषय बनाउने र कारबाही गर्ने अधिकार केन्द्रीय कमिटीले अनुशासन विभागलाई दिने,’ ओलीको निर्देशन छ ।

अपानि हेर्दा एमाले नेतृत्व अनुशासनको सवालमा थप चर्को हुने देखिएको छ । अरु पार्टीको तुलनामा एमाले नेतृत्वबाट प्रश्न गर्नेहरूमाथि कठोर निर्णयहरू गर्दै आएको छ । विशेषगरी ओलीको आलोचना गर्नेहरूले एमाले छोड्नुपर्ने स्थिति बन्ने गरेको छ ।

पार्टीका संस्थापक नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालदेखि भीम रावल, घनश्याम भूसालहरूको ठूलो पंक्तिले ओलीसँग मतभेद भएकै कारण एमाले छोडेका थिए । १७ वर्ष जेलजीवन बिताएका घनेन्द्र बस्नेतले नेतृत्वसँगको मतभेदकै कारण एमाले छोडेका थिए ।

गत वर्ष मात्र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने निर्णय लिइएको थियो । व्यापारीको दानबाट केन्द्रीय कार्यालय भवन बन्नु हुन्न भन्ने अडान लिएकै कारण विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरिएको थियो ।

तर २१ फागुनको निर्वाचनमा सर्मनाक पराजय बेहोरेपछि पार्टी नेतृत्व परिवर्तनको पक्ष ठूलो जनमत देखिएको छ । १३ वटा समूहबाट सुझाव लिँदा केही बाहेक सबै ठाउँबाट नेतृत्व पुनर्गठनको पक्षमा सुझाव दिएका छन् ।

निर्वाचनपछि नेतृत्व पुनर्गठनको अभियान उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ र महासचिव शंकर पोखरेलहरूले नै चलाएका थिए ।

केन्द्रीय कमिटी बैठकसम्म आइपुग्दा भने पार्टी पुनर्गठन सुझाव संकलन कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल नै नहुने स्थिति बन्यो । पुनगर्ठन कार्यदलको प्रतिवेदनलाई बैठकमै प्रस्तुत हुन नदिएर ओलीले आफ्नो छुट्टै प्रतिवेदन पेश गरेका थिए ।

अपानिमा ओलीको त्यही प्रतिवेदनको निष्कर्ष खण्ड समेटिएको छ । जहाँ, नेतृत्व शक्तिशाली हुने र कार्यकर्तालाई थप कस्ने निर्देशन जारी गरिएको छ ।

जिम्मेवारी लिने, अध्यक्ष नछोड्ने

पुनगर्ठनको आवाज उठाउनेहरूप्रति कारबाहीको चेतावनी दिइएको अपानिमा अध्यक्ष ओलीले पद नछोड्ने सन्देश दिइएका छन् । यद्यपि निर्वाचन परिणामप्रतिको नैजिक जिम्मेवारी स्वीकार्ने बताएका छन् ।

‘पार्टी अध्यक्षको हैसितयले म निर्वाचन परिणामप्रतिको नैतिक जिम्मेवारी स्वीकार गर्छु,’ अपानिमा ओलीले लेखेका छन्, ‘सत्य हो– हामीले बैरीको चौतर्फी हमलाको आवश्यक प्रतिकार गर्न र त्यसलाई पराजित गर्न सकेनौं ।’

तर नैतिक जिम्मेवारी लिनुको अर्थ नेतृत्व छोड्नु नरहेको तर्क पनि ओलीले गरेका छन् । ‘जिम्मेवारी स्वीकार गर्नु र मैदान छोडेर भाग्नु एउटै कुरा होइन । विरामी देखेर डाक्टरले अस्पताल छोड्दैन । बालीमा रोग रागेको देखेर किसानले खेत छोड्दैन,’ ओलीको सन्देश छ ।

निर्वाचन पराजयका अनेक चर्चा गरिए पनि नेतृत्वको योग्यतामाथि कुनै त्रुटि अपानिमा औंल्याइएको छैन । बरू निर्वाचनपछि उत्पन्न अन्योललाई केन्द्रीय कमिटीले प्रष्ट पार्ने काम गरेको तर्क गरिएको छ ।

अर्थात् पुनर्गठनको पक्षमा आवाज उठाउनेहरूको समय सकियो, अब ओलीलाई थप बलियो बनाउनेगरी पार्टी परिचालित हुनुपर्नेछ ।

‘आत्मसमीक्षा नेतृत्व विस्थापन गर्ने अभ्यास होइन । आत्मसमीक्षा त नेतृत्वलाई अझ जिम्मेवार बनाउने प्रक्रिया हो,’ अपानिमा भनिएको छ । अध्यक्षले मात्रै गल्ती गर्न नसक्ने भाष्य बलियो बनाउन धार्मिक ग्रन्थहरू ‘महाभारत र उपनिषद्’हरू सम्झने काम गरिएको छ ।

‘महाभारतले पनि युद्धको कारण एक व्यक्तिमा मात्र खोज्दैन,’ अपानिमा लेखिएको छ, ‘हाम्रो हार पनि त्यस्तै बहुकारणीय घटना हो । कसैले सबै दोष अधयक्षको भन्छ भने ऊ सजिलो सिकार खोजिरहेको छ ।’

निर्वाचन पराजयको कारण राजीनामा दिनु पर्दैन भनेर ओलीले पटकपटक आफ्नो मात्रै गल्ती नभएको व्यहोरा अपानिमा लेखेका छन् । ‘म अध्यक्षका रुपमा आफ्नो भागको जिम्मेवारी स्वीकार गर्छु । तर यो पनि भन्छु– यो समय भाग्ने समय होइन, यो समय दोषारोपणमा अल्झिने समय पनि होइन,’ ओलीले निष्कर्षमा लेखेका छन् ।

सच्चिनुपर्ने एमाले पंक्ति

अध्यक्षको गल्ती देखाएर हुने गुटबन्दी रोकिनुपर्ने निर्देशन सहितको अपानिले चुनावी पराजयको पछाडि १० कारण औंल्याएको छ । जहाँ, लगभग सबैजसो गल्ती पार्टी संरचनामा रहने कार्यकर्ताहरूबाट हुन पुगेको निष्कर्ष निस्कन्छ ।

पहिलो– आधारसम्म नपुग्नु ।

जनताको घर, खेत, कारखाना, विद्यालय, अस्पताल, बजार, सहकारी र युवाहरुको डिजिटल संसारसम्म पार्टी नेता तथा प्रतिनिधिहरु नपुग्दा एमाले पराजित हुन पुगेको निचोड छ ।

दोस्रो– युवासँगको सम्बन्ध ।

नवपुस्ताले एमालेको इतिहास बुझ्न नसकेको तर्क गरिएको यो बुँदामा एमाले पंक्तिले पनि युवाहरूलाई बुझाउन नसकेको निष्कर्ष निकालिएको छ ।

तेस्रो– विरोधीको प्रहार ।

विरोधीहरूको आरोपलाई मात्रै जनताले पत्याएको, तर त्यसको खण्डन गर्न एमाले पंक्ति कमजोर बन्दा निर्वाचन पराजित हुनु पर्‍यो ।

चौथो– ठूलो पार्टी संरचना ।

पार्टी संरचना विशाल हुँदा चलायमान हुन नसकेको निष्कर्ष एमालेले निकालेको छ । जसकारण एमालेले पराजय बेहोर्ने वातावरण बन्यो ।

पाँचौ– आफ्नै आकांक्षी भारी ।

विशाल संगठन हुँदा त्यसबाट उत्पन्न आकांक्षाको सम्बोधन हुन सकेन । जसकारण एमालेले हार्नु पर्‍यो ।

छैटौं– डेलिभरी ।

एमालेले ठूलो सुधार गरेपनि जनताको सामान्य काम सम्बोधन हुन सकेन । ‘हामीले ठूलठूला सुधारहरु गरे पनि अनअपेक्षा अनुरुप सुधार हुन सकेन,’ अपानिमा लेखिएको छ ।

सातौं– झुटो प्रचारको भारी ।

विरोधीहरूले लगाएको झुटो प्रचारलाई पार्टीपंक्तिले खण्डन गर्न सकेन । जसकारण जनता भ्रममा परे, र एमालेले भोट पाएन ।

आठौं– केन्द्रीय र स्थानीय दूरी ।

केन्द्रीय नेतृत्वसँग स्थानीय नेतृत्वको दूरी बढ्दा जनताको समस्या थाहा नभएको विश्लेषण एमालेले गरेको छ । ‘राष्ट्रिय भाषणले स्थानीय पीडा छोप्न सक्दैन,’ अपानिमा भनिएको छ, ‘चुनाव स्थानीय मनोविज्ञानको पनि योगफल हो ।’

नवौं– उम्मेदवार छनोटमा त्रुटि ।

एमालेले सदावहार निष्कर्ष निकाल्ने उम्मेदवार छनोट त्रुटिको विषय यो अपानिमा पनि लेखिएको छ । सही उम्मेदवार नहुँदा चुनाव हार्नुपरेको पुरानै निष्कर्षमा एमाले छ ।

दशौं– विचार बुझाउन सकिएन ।

चुनावी पराजयको अन्तिम कारण भने एमालेको विचारलाई मतदातासम्म पुर्‍याउन नसकिनुलाई मानिएको छ । ‘हामीले सिद्धान्त राख्यौं, तर त्यसको नयाँ जीवनसँगको सम्बन्ध पर्याप्त स्पष्ट गर्न सकेनौं । जे–जति गर्यौं, त्यसलाई अल्गोरिदमले खाइदियो ।’

यी कुनैपनि बुँदामा पार्टी नेतृत्वको कमजोरी उल्लेख छैन । पार्टी संरचनामा बसेका नेताहरूले नेतृत्वको कामलाई जनतासम्म पुर्‍याउन नसक्दा एमालेले ऐतिहासिक पराजय बेहोर्नु परेको निष्कर्ष अपानिमा उल्लेख गरिएको छ ।

गल्ती सच्याउनुपर्ने पंक्ति र कारबाहीको चेतावनी समावेश गरिएको अपानिले एमालेले गर्ने दुई कार्यभार र १५ कामलाई समेटेको छ । दुई कार्यभारमा संविधान र लोकतन्त्रको रक्षा एवं आगामी चुनावको तयारीलाई मानिएको छ ।

१५ काम भने संगठनात्मक विषयसँग जोडिएको छ, जुन काम एमालेका कार्यकर्ताहरुबाट गरिनुपर्नेछ ।

यो अपानिसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा वरिष्ठ नेताको भूमिका सहित स्वागत गरिएको छ ।

‘अध्यक्ष पछिको दोस्रो वरीयतामा रहेर केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र सचिवालयको बैठकमा भाग लिने । अध्यक्षलाई सहयोग गर्ने र पार्टीलाई सही एवम् समयोचित निर्णय गर्न योगदान गर्ने,’ भण्डारीको अधिकार र कर्तव्यबारे भनिएको छ ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?