News Summary
Generated by OK AI. Editorially reviewed.- केपी शर्मा ओलीले पुस्तान्तरण स्वाभाविक भए पनि निश्चित विधि, तालिम र क्षमता विकासबाट मात्र सम्भव हुने बताएका छन्।
- आइतबार मिसन पार्टी जागरण अभियानमा उनले नयाँ पुस्तालाई सीधै नेतृत्व दाबी नगरी योग्य भएर क्रमशः जिम्मेवारी लिन सुझाव दिएका छन्।
- ओलीले पुस्तान्तरणको नाममा बाबु–छोरा र हजुरबा–नातिबीच द्वन्द्व सिर्जना गरेर समाज भाँड्न खोजिएको आरोप लगाएका छन्।
२५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि त्यो निश्चित विधि र पद्धतिबाट मात्र सम्भव हुने बताएका छन्।
उनले नयाँ पुस्तालाई सीधै नेतृत्व दाबी गर्नुको साटो तालिम र क्षमता विकासमार्फत आफूलाई योग्य बनाउन सुझाव दिएका छन्।
आइतबार पार्टीको मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले समाजमा पुस्तान्तरणको नाममा नयाँ विवाद र विभाजन ल्याउन खोजिएको आरोप लगाए।
‘विगतमा जात, धर्म र भूगोलको नाममा जनतालाई विभाजित गर्न खोजियो। अहिले त्यो नसकेपछि बाबु–छोरा र हजुरबा–नातिबीच द्वन्द्व सिर्जना गरेर समाज भाँड्न खोजिँदैछ,’ ओलीले भने।
युवा पुस्ताले पुरानो पुस्तालाई तत्काल नेतृत्व छाड्न दिइरहेको दबाबलाई लक्षित गर्दै उनले भने, ‘हस्तान्तरण र पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यो नचाहेर पनि हुन्छ। तर, एकैचोटि प्राध्यापक भइँदैन। लेक्चररबाट सुरु गर्नुपर्छ। नयाँ पुस्तालाई योग्य, दक्ष बनाएर क्रमशः जिम्मेवारी दिँदै लैजानुपर्छ, यसका लागि अलिकति समय लाग्छ।’
ओलीले आफ्नो राजनीतिक इतिहास सम्झँदै तत्कालीन समय र अहिलेको समयबीच तुलना गर्न नमिल्ने स्पष्ट पारे। ‘२००६ सालमा पुष्पलालले २४ वर्षको उमेरमा पार्टी खोल्नुभयो भन्दैमा अहिलेको २४ वर्षेले पार्टी खोल्छु भनेर हुँदैन। सीपी मैनाली २० वर्षमा र म १९ वर्षमै पार्टी प्रमुख भएका थियौँ। तर, त्यो बेला आन्दोलनको समय थियो। अहिले १९ वर्षको मान्छे पार्टी प्रमुख हुनुपर्छ भन्यो भने त्यो हास्यास्पद हुन्छ,’ उनले भने।
अहिलेको समय आन्दोलनको नभएको प्रस्ट पार्दै ओलीले थपे, ‘अहिले आन्दोलन छैन, त्यसैले नयाँ पुस्ताले तालिम गर्नुपर्छ, सिक्नुपर्छ। युवा–युवा भनेर हल्ला चलाएर मात्र हुँदैन, समाज सबै उमेर समूहको संयोजनबाट चल्ने हो।’
शारीरिक र मानसिक रूपमा कमजोर भएपछि नेतृत्व आफैंले जिम्मेवारी छाड्ने उनको भनाइ थियो। ‘बुढाबुढी भएर हातगोडा नचल्ने, आँखा नदेख्ने, कान नसुन्ने र विचार गर्न नसक्ने भएपछि कसैले नभने पनि आफैं जिम्मेवारी छाड्नुपर्छ। यो धेरै लफडा गरिरहनुपर्ने विषय नै होइन,’ ओलीले भने।
हाल पार्टीभित्र बलियो एकता आवश्यक रहेको भन्दै उनले पुस्तान्तरण जस्ता झमेलामा नअल्झिन कार्यकर्तालाई निर्देशन दिए। एमालेले नै देशलाई सही बाटो देखाउने दाबी गर्दै उनले एउटा निर्वाचन हार्दैमा पार्टी कमजोर नहुने बताए। उनले उच्च मनोबलका साथ जागरण अभियानमा होमिन सम्पूर्ण नेता–कार्यकर्तालाई आग्रह समेत गरे।
प्रतिक्रिया 4