१५ असोज, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका एक योद्धा घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा र पुष्पगुच्छा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । क्यान्सरबाट पीडित बस्नेतको बुधबार निधन भएको थियो ।
उनी एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । बस्नेत २०४८ को आमनिर्वाचनमा संखुवासभा–२ र २०५६ मा भोजपुर–१ बाट निर्वाचित भएका थिए ।
२००९ साल असोज २५ मा जन्मिएका बस्नेतले झापा आन्दोलनमा संलग्न भएर आफूलाई राजनीतिमा समाहित गरेका थिए । पछिल्लो समय एमाले विभाजन हुँदा उनी माधवकुमार नेपालसँगै लागेर नेकपा एकीकृत समाजवादीको उपाध्यक्ष बनेका थिए ।
एकीकृत समाजवादी र माओवादी केन्द्र एकता हुँदा भने उनी घनश्याम भुसालसँगै नेकपा संयुक्तमा लागेका थिए ।
उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि हुने नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले जानकारी दिए । अन्त्येष्टिअघि आर्यघाटमै शोकसभा हुने उनले बताए ।
प्रतिक्रिया 4