Comments Add Comment

थाक्यो मधेस: न आन्दोलन, न अमनचयन !

Bara-Kalaiya-aandolan-3

सुभाषप्रसाद साह

२६ मंसिर, बारा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्षनेताहरुको दिल्ली भ्रमणपछि मधेसका आन्दोलनकारीहरु थकितजस्तै देखिन थालेका छन् । अब प्रमुख राजनीतिक दल र मोर्चाबीच बार्ताबाटै मधेसको समस्या समाधान हुने आशा कार्यकर्ताहरुमा पलाउन थालेको छ ।

यद्यपि दिल्ली भ्रमणपछि प्रमुख दल र मोर्चा बीच भएको बार्ता बिना निष्कर्ष टुंगिएको छ । तैपनि मधेस आन्दोलनले चाडै नै विश्राम लिने विश्वास जागेको मोर्चाका स्थानीय कार्यकर्ताहरु बताउँछन् ।

तीन महिना लामो आन्दोलनले नेता-कार्यकर्ताहरु थाकिसकेका छन् । खोक्रो राष्ट्रवादको नारा लगाउने सत्तापक्षका प्रमुख नेताहरुको पनि भारतपरस्तता बुझिन लागेकाले मधेसमा जारी आन्दोलन चाँडै समाधान हुने मोर्चाका कार्यकर्ता बताउँछन् ।

दिनहुँ तात्ने मधेस अहिले अलमलमा

मधेस आन्दोलन शुरु भएदेखि नै दिनहुँ कलैया, बीरगञ्ज, सिम्रौनगढ, महागढीमाई सहितका क्षेत्रमा प्रदर्शन, नाराजुलश, बिरोधसभा लगायतका गतिविधि हुँदै आएका थिए । आन्दोलनको समर्थनमा विभिन्न संघ संगठनका साथै युवा, विद्यार्थी, कर्मचारी लगायतले र्‍याली निकाल्ने गरेका थिए ।

शान्तिपूर्ण आन्दोलनबाट मधेसको माग पूरा नभएपछि आन्दोलनरत दलले विगत ८० दिनदेखि नाकाबन्दीसहित आन्दोलनलाई सशक्त बनाउने आन्दोलनका कार्यक्रम शुरु गर्दै आएको छ । मोर्चाको नाकाबन्दीसहितको आन्दोलनले अहिले यहाँको जनजीवन कष्टकर बन्नुका साथै अस्तव्यस्त बनेको छ ।

तर, नेताहरुको दिल्लीयात्रा पनि मधेसी मोर्चाका कार्यकर्ताहरु आन्दोलनलाई निरन्तरता दिने कि बिश्राम लिने भन्ने दुविधामा परेका छन् ।

अझै सहज हुन सकेन जनजीवन

सरकारी बार्ताटोली र आन्दोलनरत दलका बीचमा पटक-पटक बार्ता भइरहेको भए पनि कुनै ठोस निर्णय नहुँदा जारी नाकाबन्दी एवं अनिश्चितकालीन तराई मधेस बन्द अझै फिर्ता भएको छैन।

आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका सबै कार्यक्रम जारी नै रहने आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव बताउँछन् ।

अनिश्चितकालीन बन्द र नाकाबन्दीले मध्य तराईका जिल्ला बारा र पर्साको जनजीवन कष्टकर बनाएको छ । जारी आन्दोलनले अति आवश्यक ग्यास, इन्धन, खाद्यान्य लगायत समाग्रीको अभाव भइरहेको छ । बढ्दो कालोबजारीले सर्वसाधारण जनताको जनजीवन कष्टकर हुन छाडेको छैन ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धनसहितका दलको आह्वानमा विभिन्न माग गर्दै शुरु भएको आन्दोलन तीन महिना कटिसकेको छ ।

प्रमुख दलका साथै आन्दोलनरत दलहरुको आ-आफ्नै हठले अहिले मध्य तराई मधेसको बारा र पर्सा मात्रै नभई देशैभरिका जनताको जनजीवन अस्तव्यस्त बनेको बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी बताउँछन् ।

देशकै आर्थिक राजधानी एवं प्रमुख नाकाको रुपमा रहेको बीरगञ्ज ठप्प छ । कलैया-बीरगंज, पोखरिया-बीरगञ्ज र पथलैया-बीरगञ्ज औद्योगिक क्षेत्रमा रहेका साना ठूला गरी दुई हजारभन्दा बढी उद्योग कलकारखानाहरु यही नाका प्रयोग गर्दै आवश्यक कच्चा पदार्थ ल्याउने गर्छन् ।

तर, आन्दोलन र नाकाबन्दीका कारण उद्योगले उत्पादन गरेका वस्तुका साथै आवश्यक कच्चापदार्थ आयात निर्यात गर्न नसकेको बारा उद्योग बाणिज्य संघका महासचिव राजकुमार साह बताउँछन् ।

नाकाबन्दी एवं आम हडतालका कारण कच्चा पदार्थ नाकामै अडकेपछि उद्योगहरु बन्द छन् । सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने बीरगञ्ज भन्सार, सुख्खा बन्दरगाह, डाबर नेपाल प्रालि, जगदम्बा स्टिल प्रालि, सूर्या नेपाल प्रालि, हुलास स्टिल प्रालि लगायत ठप्प रहेको छ । यी सबै कार्यालय र उद्योग बन्द भएका कारण सरकारले अर्बौं राजस्व गुमाइरहेको महासचिव साहको भनाइ छ ।

आन्दोलनले बाराको सिम्रौनगढ, मटिअर्वा, कचोर्वा, कवहिगोठ र पिपरपाती पचरौतासहित पाँचवटा छोटी भन्सार कार्यालय पनि मोर्चाका कार्यकर्ताले ठप्प पारेका छन् । मोर्चाले सबै भन्सार कार्यालयमा दिनहुँ धर्ना दिन छाडेको छैन ।

वीरगञ्ज देशको सबैभन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालय हो । धेरै उद्योग कल कारखानाहरु रहेको बारा र पर्साका उद्योगले प्रत्यक्षरुपमा कार्यरत २० हजारभन्दा बढी मजदुरले काम गर्न नपाएको महासचिव साह बताउँछन् ।

दिनहुँको प्रदर्शन र २४ सै घण्टा नाकाबन्दीले आयात निर्यात ठप्प भएको हुलास स्टील इन्डष्ट्रिज गढीमाई नगरपालिका सिमराका प्रशासन विभाग प्रमुख मोहन पौडेल बताउँछन् ।

‘बारा र पर्साको मात्रै उद्योग, कलकारखाना बन्दका कारण दैनिकरुपमा दुई अर्बभन्दा बढीको क्षति भइरहेको छ’ महासचिव साहले अनलाइनखबरसँग भने, ‘उद्योगको उत्पादन, बिक्रीवितरण ठप्प भएकाले राज्यले एक दिनमै पाउने करोडौं राजस्व पनि गुमाइरहेको छ ।’

देशमै सबैभन्दा महत्वपूर्ण उद्योग कलकारखाना बारा र पर्सामा छन् । देशकै सबैभन्दा ठूलो भन्सार पनि बीरगञ्ज नै हो ।

नेपाल सरकारले बीरगञ्ज भन्सार कार्यालय र बारा पर्साका उद्योगबाट पाउने राजस्व गुमाउन थालेपछि त्यसको असर देशकै अर्थतन्त्रमा परिरहेको कलैयास्थित रामराज मवि शाह बहुमुखी क्याम्पसका प्राध्यापक निवेश तिमिल्सिना बताउँछन् ।

मजदुर र विपन्नको बिजोग

आन्दोलनले रिक्सा चालक, ठेला चलाउनेसहितका ज्यालादारी गरी परिवार पाल्नेहरु सबैभन्दा बढी पीडित बनेका छन् । आन्दोलन लामो भएपछि गरिब, मजदुरका साथै विपन्न परिवारलाई कलैयास्थित समाज सुधार संस्थाले दाल, चामल वितरण गरेको छ ।

हालसम्म ६५ भन्दा बढी परिवारलाई खाद्यान्य वितरण गरिसकेको समाजले आउने दिनमा पनि यो सहयोग जारी रहने समाजका सचिव अमरदेव यादव बताउँछन् ।

यस्तै पीडितहरुकै सुचीमा रहेका छन् यातायात व्यवसायी र त्यसका मजदुरहरु । आन्दोलन शुरु भएदेखि नै यातायात बन्द भएपछि त्यसमा काम गर्ने मजदुर पनि कामविहीन बन्न पुगेका छन् ।

यातायात सञ्चालन गर्ने भन्ने बिषयमा आन्दोलनरत पक्षसँग पटक पटक प्रयास भए पनि यातायातका सवारी साधन चलाउन नसकिएको बारा बस व्यवसायी संघका अध्यक्ष दिपेन्द्र साह बताउँछन् ।

आन्दोलनका कारण सवारी साधन सञ्चालन नभएकाले किस्ता तिर्नुपर्ने र घरपरिवार चलाउन समस्या भएको यातायात मजदुर संघ बाराका अध्यक्ष विजय पटेलले दुखेसो पोखेका छन् ।

अहिलेसम्म बजारहरु बन्द छन् । कहिलेकाँही फाटफुट बजार खुले पनि आन्दोलनका दौरान कुनै अपि्रय घटना हुनेवितिकै बजार पूर्णरुपमा बन्द हुने गरेको छ ।

आन्दोलनरत दलले साझमा चार बजेपछि बजार खुल्न दिने आंशिक छुट दिने गरेका छन् । तर, आन्दोलनसँगै कहिँकतै अपि्रय घटना हुनेबित्तिकै पसल बन्द गराउन आन्दोलनकारीहरु सडकमा टायर बाल्ने र नाराजुलुश गर्ने गरेकाले व्यवसाय चौपट भएको यहाँका पसलेहरुको गुनासो छ ।

बिहान खुल्ने विद्यालयमा जाडो

यसवीचमा शिक्षकहरु पनि आन्दोलनको समर्थनमा पटक पटक र्‍यालीमा निस्केका थिए । केही समयअघि मोर्चाले विद्यालयहरु बिहानी समयमा खोल्न दिने निर्णय गरेको थियो । त्यसयता कतिपय विद्यालयहरु सञ्चालनमा आएका छन् । तराई मधेसका विद्यालयहरु बिहानी समयमा खोल्ने र पठनपाठन गर्ने निर्णय भए पनि अहिले जाडो मौसम भएकाले पठन पाठनमा समस्या आएको छ ।

मृतकका परिवार र घाइतेको पीडा उस्तै

जारी आन्दोलनका कारण कतिपय परिवारले आफ्नो जीवनको साहारा गुमाएका छन् । बुढो भइसकेका आमाबुबाका साथै घरपरिवार पाल्ने जिम्मेवारी भएका युवाहरुले आन्दोलनमा आफ्नो ज्यान गुमाएका छन् ।

कलैया-१० रंगपुरका २१ बर्षीय हेफाजत मियाँ अंसारीको कलैयामा भदौ १५ गते प्रहरीको गोली लागि मृत्यु भयो । साइकल मिस्त्री रहेका अन्सारी घरमा काम गर्ने एक्का व्यक्ति थिए । अन्सारीको मृत्युसँगै उनका परिवारलाई हातमुख जोर्न धौधौ परेको छ ।

यस्तै बाराको प्रसौनी-८ नौतन गण्डक निवासी २४ बर्षीय दीनानाथ साह, सोही ठाउँका २५ वर्षीय जयप्रकाश साह (भोला साह) को भदौ १५ गते बीरगञ्जको लक्षुमणवामा प्रहरीको गोली लागी मृत्यु भयो । भदौ १४ गते बीरगञ्जको राधेमाईमा पर्साको मनियारी निवासी २० बर्ष दिलिप चौरसियाको गोली लागी मृत्यु भयो ।

बीरगञ्ज नगवा निवासी २७ बर्षीय सोहन कलवार, पर्सा मनियारीका २७ बर्षीय धर्मविर सिंहको भदौ १५ गते बीरगंजको राधेमाइमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भयो ।

संविधान घोषणा भएकै दिन असोज ३ गते वीरगञ्जको रानीघाटमा पर्सा मैनपुर निवासी २४ बर्ष शत्रुधन पटेलको प्रहरीको गोली लागी मृत्यु भयो । त्यस्तै पर्साको पोखरिया निवासी ५ वर्षीया चन्दा पटेलको रुपन्देहीमा प्रहरीले अन्धाधुन्द गोली प्रहार गर्दा मृत्यु भयो । आन्दोलनकै समयमा बारा पर्साका हजारौं आन्दोलनकारीहरु घाईते भएका छन् ।

मधेसमा नाकाबन्दीसहितको आन्दोलन अहिले पनि जारी छ । मधेस आन्दोलन नेपालको आन्तरिक समस्या भए पनि यसको समाधान आन्तरिकरुपमै गर्न नसकेकाले बाहृय हस्तक्षेप बढेको कतिपय स्थानीय नेताहरुको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment