+
+
Shares

स्लोभेनियाको प्रधानमन्त्रीमा फेरि दक्षिणपन्थी नेता जानेज जान्सा

९० सदस्यीय स्लोभेनियाली संसद्‌मा शुक्रबार भएको मतदानमा जान्साको पक्षमा ५१ र विपक्षमा ३६ मत परेको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ९ गते १४:४३

स्लोभेनियाको संसद्ले दक्षिणपन्थी राजनीतिज्ञ जानेज जान्सालाई पुनः देशको प्रधानमन्त्रीमा निर्वाचित गरेको छ। सन् २०२२ मा सत्ताबाट बाहिरिएका ६७ वर्षीय जान्साको यो पुनरागमनसँगै हालैका वर्षहरूमा उदारवादी सरकारले चलाइरहेको यस सानो युरोपेली युनियन सदस्य राष्ट्रको राजनीतिमा नयाँ परिवर्तन देखिएको छ।

९० सदस्यीय स्लोभेनियाली संसद्‌मा शुक्रबार भएको मतदानमा जान्साको पक्षमा ५१ र विपक्षमा ३६ मत परेको थियो। अब नयाँ प्रधानमन्त्री जान्साले आगामी १५ दिनभित्र आफ्नो नयाँ मन्त्रिमण्डलको स्वीकृतिका लागि संसदमा अर्को मतदानको सामना गर्नुपर्नेछ।

जान्साको यो नियुक्तिसँगै दुई महिनाअघि भएको आम निर्वाचनपछि देखिएको राजनीतिक गतिरोध अन्ततः समाधान भएको छ। गत मार्च २२ मा भएको निर्वाचनमा पूर्व उदारवादी प्रधानमन्त्री रोबर्ट गोलोबको ‘फ्रीडम मुभमेन्ट’ ले २९ सिट र जान्साको पपुलिस्ट ‘स्लोभेनियाली डेमोक्रेटिक पार्टी’ (एसडीएस) ले २८ सिट जितेका थिए।

गोलोबले झिनो अन्तरले अग्रता लिए पनि सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन नसकेपछि संसद् अनिर्णयको बन्दी बनेको थियो। बिहीबार मात्रै जान्सा र उनको दल एसडीएसले अन्य धेरै केन्द्र-दक्षिणपन्थी समूहहरूसँग मिलेर नयाँ सरकार गठनका लागि गठबन्धन सम्झौतामा हस्ताक्षर गरेका थिए।

यस नयाँ गठबन्धनसँग संसदमा कुल ४३ सिट रहेको छ। यो नयाँ संयुक्त सरकारमा एसडीएस, न्यू स्लोभेनिया, डेमोग्राट्स, स्लोभेनियाली पिपुल्स पार्टी र फोकस रहेका छन्। यसबाहेक दक्षिणपन्थी ‘रेस्निका’ पार्टीले सरकारमा औपचारिक रूपमा सामेल नभए पनि गठबन्धनलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेको छ।

जानेज जान्सा स्लोभेनियाको प्रधानमन्त्री बनेको यो चौथो पटक हो। यसअघि उनले सन् २००४ देखि २००८, २०१२ देखि २०१३ र २०२० देखि २०२२ सम्म देशको नेतृत्व गरिसकेका छन्। संसदमा सरकारको भावी लक्ष्यहरू प्रस्तुत गर्दै प्रधानमन्त्री जान्साले अर्थतन्त्रको विकास, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीविरुद्धको लडाइँ तथा विकेन्द्रीकरणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।

उनले धनीहरूका लागि करको दर घटाउने तथा निजी शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्ने वाचा समेत गरेका छन्। यसै महिनाको सुरुमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जान्साले नयाँ गठबन्धनले कम खर्चिलो तर उच्च गुणस्तरको राज्य व्यवस्था सुनिश्चित गर्ने दाबी गरेका थिए।

प्रधानमन्त्री जान्सा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुराना प्रशंसक हुन्। साथै, उनी हंगेरीका पूर्व पपुलिस्ट प्रधानमन्त्री भिक्टर ओर्बानका पनि नजिकका सहयोगी हुन्, जो गत महिना भएको निर्वाचनमा पराजित भएका थिए।

अन्तर्राष्ट्रिय मामिलामा जान्सा इजरायलका कट्टर समर्थक हुन्। पूर्ववर्ती गोलोब सरकारले सन् २०२४ मा प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिने निर्णय गरेकोमा जान्साले त्यसको कडा आलोचना गरेका थिए। आफ्नो अघिल्लो कार्यकालमा जान्सामाथि लोकतान्त्रिक संस्थाहरूलाई कमजोर पारेको र सञ्चार स्वतन्त्रतामाथि अङ्कुश लगाएको आरोप लागेको थियो ।

यसका कारण त्यतिबेला स्लोभेनियामा व्यापक जनप्रदर्शन हुनुका साथै युरोपेली युनियनले समेत उनको कदमको गम्भीर समीक्षा गरेको थियो। अघिल्लो कार्यकालमा जस्तै यस पटक पनि उनको दक्षिणपन्थी तथा पपुलिस्ट कार्यशैलीलाई लिएर युरोप र स्लोभेनियाभित्र चासोका साथ हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?