News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको चुमनुव्री गाउँपालिका–४ मा स्याउ उत्पादन राम्रो भए पनि सडक सञ्जाल नजोडिएर ढुवानीमा समस्या भइरहेको छ।
- किसान लाक्पा डुन्डुपले स्याउ ढुवानी खर्च महँगो र स्याउ बिग्रने समस्या भएको बताउनुभयो।
- स्याउबाट बनाएको रक्सी बिक्रीका लागि पालिकाको अनुमति नहुँदा उत्पादन थन्किएको र अनुदानको माग गरिएको छ।
८ जेठ, गोरखा । उत्तरी गोरखामा उत्पादित स्याउ बजारसम्म पुर्याउन ढुवानीको समस्या हुने गरेको छ । सडक सञ्जाल नजोडिएका कारण आफूले उत्पादन गरेका स्याउलाई बजारसम्म पुर्याउन निकै मुस्किल परिरहेको किसानहरूको गुनासो छ ।
स्याउ उत्पादन राम्रो भएपनि ढुवानीमा समस्या झेलिरहेको चुमनुव्री गाउँपालिका–४ नाम्रुङमा किसान लाक्पा डुन्डुप बताउँछन् । ‘सडक छैन, मान्छेलाई बोकाएर सम्भव हुँदैन,’ उनले भने, ‘खच्चडबाट ढुवानी गर्दा स्याउमा चोट लागेर आधा बिग्रिहाल्छ ।’ सडक नभएकै कारण ढुवानी खर्च निकै महँगो पर्ने गरेको उनको दुखेसो छ ।
‘नाम्रङदेखि पाङसिङसम्म खच्चडले प्रति केजी ३५ रुपैयाँ ढुवानी खर्च लिन्छ । पाङसिङबाट गाडीमा बजार ल्याउँदा थप ढुवानी खर्च लाग्छ । ढुवानीकै कारण हामीले घाटा खानुपरेको छ,’ उनले भने ।

डुन्डुपले पाँच वर्षअघि इटालीबाट विरुवा ल्याएर उनले स्याउ खेती थालेको बताए । ‘सुरुको चरणमा परीक्षण स्वरूप चार हजार विरुवा लगाएका थिएँ । उत्पादन राम्रो भएपछि खेती विस्तार गर्दै लगेँ,’ उनले भने, ‘अहिले १२ हजार ५ सय बोट छन् ।’
एउटै बोटमा कम्तीमा तीस किलो स्याउ उत्पादन हुने उनले बताए । ‘बर्सेनि ५० हजार किलोजति स्याउ फल्छ । तर ढुवानी समस्याले स्टोरमै थन्किने अवस्था छ,’ उनले दुखेसो पोखे ।
बजारमा माग बढी भएपनि ढुवानी गर्न नसकेर स्याउ स्टोरमै थन्किएको उनको भनाइ छ । उनले अगाडि भने, ‘फेरि लामो समय यत्तिकै राख्दा स्याउ बिग्रिन्छ, ण्त्यसैले त्यसको सुकुटी, एप्पल साइडर र रक्सी बनाउन थालेका छौं ।’

स्याउबाट उत्पादित रक्सी बिक्री वितरणका लागि पालिकाले अनुमति नहुँदा झन् समस्या हुने गरेको उनको अनुभव छ । ‘तीस हजार लिटर स्याउको रक्सी अनुमति नभएकैले थन्काएर राखेको छु,’ डुन्डुपले भने ।
यसअघि उनले हेलिकप्टरमार्फत समेत स्याउ ढुवानी गरेका थिए । त्यसरी ढुवानी खर्च झन् महँगो पर्नथालेपछि उनी निराश छन् । ‘पर्यटक लिएर मनास्लु क्षेत्र आएको हेलिकप्टर रित्तै फर्कन्थ्यो । त्यसैमा ढुवानी गरेर स्याउ काठमाडौं लगेर पनि बेचँे । तर ढुवानी नै महँगो पर्नगयो,’ डुन्डुपले भने । ढुवानी समस्याका कारण टिपेर राखेको धेरै स्याउ कुहिएर खेर गएको उनले सुनाए ।
पालिकाले ढुवानीमा अनुदान दिनुपर्ने उनको माग छ । ‘अहिले सामान बोक्ने ड्रोनहरु पनि छन्, पालिकाले की त्यसको व्यवस्था गर्नुपर्यो या हेलिकप्टरबाट ढुवानी गर्न अनुदान दिनुपर्यो,’ उनले भने ।
अहिले उनले गाला, फुजी, गोल्डेन डेलिसियस, क्विन रेड डेलिसियस र रेड डेलिसियस गरी पाँच जातका स्याउ खेती गरेका छन् । उनका अनुसार असोज र कात्तिक महिनामा स्याउ टिप्ने सिजन हो । आउन लागेको सिजनमा टिप्नुपर्ने स्याउको बजारीकरणबारे उनी चिन्तित छन् ।
चुमनुव्री गाउँपालिकाको ल्हो, क्र्याक, सिर्दिवास, लोक्पा लगायतका ठाउँमा पनि स्थानीयले स्याउ खेती गरेका छन् । तर ढुवानी नै प्रमुख समस्या बन्ने गरेको छ । कृषि निर्देशनालयबाट अनुदानमा विरुवा पाएपनि ढुवानीका लागि कुनै निकायले सहजीकरण नगरेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया 4