News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालको सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक, सुरक्षित र पारदर्शी बनाउन डिजिटल प्रणाली अनिवार्य भएको छ।
- स्मार्ट कार्ड, क्युआर कोड, जीपीएस ट्र्याकिङ र एटीएम मेसिनले यातायात व्यवस्थापनलाई प्रविधिमैत्री बनाउनेछन्।
- डिजिटल प्रणालीले व्यवसायीलाई आम्दानीको स्पष्ट तथ्याङ्क उपलब्ध गराउने र यात्रु तथा श्रमिकलाई सुविधा र सम्मान दिनेछ।
नेपालको सार्वजनिक यातायात क्षेत्र यात्रु ओसारपसार गर्ने माध्यम मात्र होइन, यो देशको आर्थिक, सामाजिक, शैक्षिक तथा राष्ट्रिय विकासको मेरुदण्ड हो। एउटा विद्यार्थी विद्यालय पुग्न, किसान बजारसम्म आफ्नो उत्पादन पुर्याउन, बिरामी अस्पताल पुग्न, कर्मचारी आफ्नो कार्यस्थलसम्म जान, पर्यटक नेपाल घुम्न तथा देशको समग्र आर्थिक गतिविधि सञ्चालन हुन यातायात क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ।
तर, विगत लामो समयदेखि नेपालको सार्वजनिक यातायात प्रणाली अनेक समस्याबाट गुज्रिरहेको छ। नगदमा आधारित भाडा प्रणाली, टिकटिङ व्यवस्थाको कमजोरी, यात्रु र सहचालक बीच हुने दैनिक विवाद, वास्तविक आम्दानीको अस्पष्टता, व्यवसायीहरूको आर्थिक असुरक्षा, चालक तथा सहचालकहरूको अस्थिर श्रम वातावरण, यात्रु सुरक्षाको अभाव तथा प्रविधिमैत्री व्यवस्थापनको कमीले नेपालको सार्वजनिक यातायात क्षेत्रलाई आधुनिक युगमा पनि परम्परागत संरचनाभित्र सीमित बनाइरहेको छ।
आज विश्व डिजिटल प्रविधिमा आधारित व्यवस्थापनतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। बैङ्किङ, स्वास्थ्य, शिक्षा, सञ्चार, व्यापार तथा सरकारी सेवाहरू डिजिटल हुँदै गइरहेका छन् भने नेपालले पनि डिजिटल नेपालको अवधारणालाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ। यस्तो अवस्थामा सार्वजनिक यातायात क्षेत्रलाई पनि आधुनिक, सुरक्षित, पारदर्शी तथा डिजिटल प्रणालीमा रूपान्तरण गर्नु समयको माग मात्र होइन, राष्ट्रिय आवश्यकता समेत बनिसकेको छ।
नेपालको अधिकांश सार्वजनिक यातायात अझै पनि नगद प्रणालीमा आधारित छ। यात्रुले नगद तिर्ने, सहचालकले टिकट दिने वा कतिपय अवस्थामा टिकट नै नदिने, छुटको विवाद हुने, वास्तविक यात्रु सङ्ख्या नदेखिने तथा व्यवसायीले वास्तविक आम्दानी थाहा नपाउने अवस्था अहिले पनि धेरै ठाउँमा विद्यमान छ। कतिपय अवस्थामा चालक तथा सहचालकले दिने हिसाब र वास्तविक आम्दानी बीच अन्तर हुने गुनासो व्यवसायीहरूबाट सुनिन्छ। गाडीले दिनभरि कति ट्रिप गर्यो, कुन रुटमा कति यात्रु यात्रा गरे, कति भाडा सङ्कलन भयो भन्ने स्पष्ट तथ्याङ्क सुरक्षित रूपमा उपलब्ध नहुँदा व्यवसाय व्यवस्थापन पनि चुनौतीपूर्ण बनेको छ।
यसको प्रत्यक्ष असर व्यवसायी, यात्रु तथा श्रमिक सबैमा परेको छ। चालक तथा सहचालकहरूले दिनभरि यात्रुसँग नगद लेनदेन गर्दा मानसिक तनाव झेल्नुपर्छ। यात्रुले पनि धेरै अवस्थामा सही भाडा, सुरक्षित सेवा तथा पारदर्शी टिकटिङ सुविधा पाउन सकिरहेका छैनन्।
यही चुनौतीलाई समाधान गर्न डिजिटल सार्वजनिक यातायात प्रणाली अत्यन्त प्रभावकारी विकल्पका रूपमा अगाडि आएको छ। स्मार्ट कार्ड, नगदरहित भुक्तानी प्रणाली, क्युआर कोड, जीपीएस ट्र्याकिङ, एटीएम (इलेक्ट्रोनिक टिकेटिङ मेसिन) तथा रियल टाइम डेटा व्यवस्थापन प्रणालीले नेपालको यातायात क्षेत्रलाई नयाँ युगतर्फ लैजान सक्छ। आजको आधुनिक यातायात प्रणालीमा यात्रुले नगद बोक्न आवश्यक पर्दैन। स्मार्ट कार्ड वा मोबाइल वालेट मार्फत केही सेकेन्डमै भाडा तिर्न सकिन्छ।
यात्रु बसमा चढ्दा कार्ड ट्रयाप गर्ने र गन्तव्यमा ओर्लंदा पुनः ट्रयाप गर्ने प्रणाली मार्फत स्वचालित रूपमा वास्तविक दूरी अनुसार भाडा कट्टी गर्न सकिन्छ। यसले यात्रु र सहचालक बीच हुने विवादलाई कम मात्र गर्दैन, भाडा प्रणालीलाई पूर्ण रूपमा पारदर्शी बनाउँछ।
स्मार्ट कार्ड प्रणाली सार्वजनिक यातायात क्षेत्रको आधुनिकीकरणको आधार हो। एकपटक कार्ड लिएपछि यात्रुले आवश्यकता अनुसार रकम रिचार्ज गरेर विभिन्न रुटमा सहज रूपमा प्रयोग गर्न सक्छन्। यस्तो प्रणालीले चानचुनको झन्झट हटाउँछ, समय बचत गर्छ, टिकटिङ प्रक्रियालाई सहज बनाउँछ तथा यात्रुहरूलाई आधुनिक सेवा अनुभव गराउँछ।
विद्यार्थी, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूलाई डिजिटल प्रणाली मार्फत स्वचालित छुट सुविधा दिन सकिन्छ। मासिक पास प्रणाली लागू गर्न पनि स्मार्ट कार्ड अत्यन्त उपयोगी हुन्छ। दैनिक कार्यालय जाने कर्मचारी, विद्यार्थी तथा नियमित यात्रुहरूका लागि यस्तो सुविधा समय र खर्च दुवै हिसाबले लाभदायक हुन्छ।
डिजिटल यातायात प्रणालीको अर्को महत्त्वपूर्ण पाटो एटीएम मेसिन हो। एटीएम मेसिनले टिकटिङ, यात्रु गणना, भाडा व्यवस्थापन तथा रियल टाइम डेटा सङ्कलनको काम गर्छ। यसमा जीपीएस, स्मार्ट कार्ड र क्युआर प्रणाली जडान गर्न सकिन्छ। यात्रुले भुक्तानी गरेपछि डिजिटल टिकट प्राप्त गर्छन्।
व्यवसायीहरूले मोबाइल एप वा वेब पोर्टलमार्फत आफ्नो गाडीको सम्पूर्ण गतिविधि हेर्न सक्छन्। कुन गाडी कहाँ पुगेको छ, कति यात्रु यात्रा गरिरहेका छन्, दिनभरि कति आम्दानी भयो, कुन समयमा बढी यात्रु भए, कुन रुट प्रभावकारी छ भन्ने सम्पूर्ण जानकारी रियल टाइममा प्राप्त हुन्छ। यसले व्यवसाय व्यवस्थापनलाई वैज्ञानिक तथा तथ्याङ्कमा आधारित बनाउँछ।
जीपीएस ट्र्याकिङ प्रणालीले सार्वजनिक यातायातलाई थप सुरक्षित तथा व्यवस्थित बनाउँछ। गाडी कहाँ छ, कति समयमा गन्तव्यमा पुग्छ, रुट परिवर्तन गरिएको छ वा छैन भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सकिन्छ। यसले यात्रु सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँछ।
दुर्घटना वा आकस्मिक अवस्थामा गाडीको अवस्थाबारे तुरुन्त जानकारी प्राप्त गर्न सकिन्छ। भविष्यमा स्मार्ट बस स्टप तथा मोबाइल एप मार्फत यात्रुले आफ्नो मोबाइलबाट बसको वास्तविक स्थान हेर्न सक्ने प्रणाली विकास गर्न सकिन्छ। यसले यात्रुहरूको समय व्यवस्थापनलाई पनि सहज बनाउँछ।
डिजिटल सार्वजनिक यातायात प्रणाली लागू भएपछि सवारीधनी तथा व्यवसायीहरूले सबैभन्दा ठूलो लाभ प्राप्त गर्नेछन्। नगदमा आधारित प्रणालीमा हुने आर्थिक अनियमितता कम हुनेछ। प्रत्येक टिकट डिजिटल रूपमा रेकर्ड हुने भएकाले वास्तविक आम्दानी स्पष्ट रूपमा देखिनेछ। व्यवसायीहरूले आफ्नो गाडीको दैनिक, साप्ताहिक तथा मासिक रिपोर्ट सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
कुन गाडीले राम्रो आम्दानी गरिरहेको छ, कुन रुटमा सुधार आवश्यक छ, कहाँ खर्च बढी भइरहेको छ भन्ने विश्लेषण गर्न सकिनेछ। यसले व्यवसायलाई दीर्घकालीन रूपमा व्यवस्थित, पारदर्शी तथा नाफामूलक बनाउँछ। डिजिटल कारोबारका आधारमा बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायीहरूलाई ऋण तथा अन्य वित्तीय सुविधा प्रदान गर्न पनि सहज हुन्छ।
चालक तथा सहचालकहरूको जीवनस्तर सुधार गर्न पनि डिजिटल प्रणालीले महत्त्वपूर्ण भूमिका खेल्छ। अहिले धेरै चालक तथा सहचालक अस्थिर आय, मानसिक तनाव तथा असुरक्षित कार्य वातावरणमा काम गरिरहेका छन्। नगद कारोबारका कारण यात्रुसँग विवाद हुने, हिसाब मिलाउन समस्या पर्ने तथा व्यवसायीसँग अविश्वासको वातावरण सिर्जना हुने समस्या छ।
डिजिटल प्रणाली लागू भएपछि यस्तो समस्या कम हुन्छ। पारदर्शी आम्दानीका आधारमा व्यवस्थित तलब प्रणाली लागू गर्न सकिन्छ। श्रमिकहरूको सामाजिक सुरक्षा, बीमा तथा बैङ्किङ पहुँचलाई पनि सहज बनाउन सकिन्छ। प्रविधिमैत्री वातावरणमा काम गर्दा चालक तथा सहचालकहरूको पेशागत सम्मान पनि बढ्छ।
यात्रुहरूका लागि डिजिटल सार्वजनिक यातायात प्रणाली झन् प्रभावकारी हुन्छ। छिटो भाडा भुक्तानी, सुरक्षित टिकटिङ, पारदर्शी भाडा दर तथा डिजिटल सुविधा यात्रुहरूको मुख्य लाभ हो। यात्रुले नगद बोक्न नपर्ने भएकाले चोरी वा रकम हराउने जोखिम कम हुन्छ। विद्यार्थी, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिहरूले स्वचालित छुट सुविधा प्राप्त गर्न सक्छन्। मासिक पास प्रणालीले दैनिक यात्रा गर्ने यात्रुहरूलाई विशेष राहत दिन्छ। डिजिटल टिकटिङ प्रणालीले यात्रुको यात्रा विवरण सुरक्षित राख्न सहयोग गर्छ, जसले भविष्यमा सुरक्षा व्यवस्थापनलाई पनि थप प्रभावकारी बनाउन सक्छ।
सरकारका लागि पनि डिजिटल सार्वजनिक यातायात प्रणाली अत्यन्त लाभदायक छ। वास्तविक आम्दानीको तथ्याङ्क उपलब्ध हुँदा कर प्रणाली पारदर्शी हुन्छ। यातायात व्यवस्थापन, रुट अनुगमन तथा सार्वजनिक सेवा सुधारका लागि डेटामा आधारित नीति निर्माण गर्न सकिन्छ। नगद कारोबार कम हुँदा भ्रष्टाचार तथा आर्थिक अनियमितता घट्छ। डिजिटल अर्थतन्त्र विस्तार गर्न सार्वजनिक यातायात क्षेत्रको योगदान अत्यन्त महत्त्वपूर्ण हुन सक्छ।
भविष्यको नेपाल स्मार्ट तथा डिजिटल नेपाल बन्ने हो भने सार्वजनिक यातायात क्षेत्रको रूपान्तरण अपरिहार्य छ। स्मार्ट कार्ड, क्यासलेस पेमेन्ट, डिजिटल टिकटिङ तथा जीपीएसमा आधारित व्यवस्थापन प्रणालीले केवल प्रविधिको प्रयोग मात्र बढाउँदैन, यसले आर्थिक पारदर्शिता, श्रमिक सम्मान, यात्रु सुविधा तथा राष्ट्रिय विकासलाई समेत नयाँ दिशा दिन्छ। यातायात क्षेत्रलाई व्यवस्थित, आधुनिक तथा विश्वसनीय बनाउन अब परम्परागत व्यवस्थाबाट बाहिर निस्कन आवश्यक छ।
आजको विश्व डेटा र डिजिटल प्रविधिको युगमा प्रवेश गरिसकेको छ। नेपालले पनि समयअनुसार आफ्नो सार्वजनिक यातायात प्रणालीलाई आधुनिक बनाउँदै लैजानुपर्छ। यदि सरकार, निजी क्षेत्र, बैङ्किङ संस्था, प्रविधि कम्पनी तथा यातायात व्यवसायीहरू एउटै उद्देश्यका साथ अगाडि बढे भने निकट भविष्यमा नेपालले सुरक्षित, पारदर्शी तथा पूर्ण डिजिटल सार्वजनिक यातायात प्रणाली निर्माण गर्न सक्छ। यस्तो प्रणालीले यात्रुलाई सुविधा, व्यवसायीलाई विश्वास, श्रमिकलाई सम्मान तथा राष्ट्रलाई आर्थिक पारदर्शिता प्रदान गर्नेछ।
डिजिटल सार्वजनिक यातायात एउटा प्रविधि मात्र होइन, यो आधुनिक नेपालको आधार निर्माण गर्ने परिवर्तनको अभियान हो।
(सिलवाल उद्यमी हुन्।)
प्रतिक्रिया 4