News Summary
Generated by OK AI. Editorially reviewed.- बाँकेमा खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकाका पाँच जनालाई घरमै पुगेर राहदानी वितरण गरिएको छ।
- जिल्ला हुलाक कार्यालयका प्रमुख गजेन्द्रप्रकाश थारुले केही सातायता घरमै राहदानी वितरण सुरु भएको बताए।
- राहदानी वितरण निशुल्क भएपनि हुलाक महसुलका रूपमा रु ६५ तोकिएको छ र यो सेवा प्रभावकारी हुँदै गएको छ।
९ जेठ, नेपालगञ्ज । बाँकेमा हुलाक कार्यालयमार्फत यहाँका तीन स्थानीय तहका पाँच जनालाई घरघरमा पुगेर राहदानी वितरण गरिएको छ ।
जिल्लाको खजुरा गाउँपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिकामा अहिलेसम्म पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी वितरण गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
सरकारले सेवाग्राहीलाई घरमै राहदानी पुर्याउने नयाँ अभ्यास सुरु गरेपछि डुडुवा गाउँपालिकाका कमलकुमार वर्मा उत्साहित थिए ।
‘पहिले राहदानी बनाउँदा सास्ती हुन्थ्यो । अहिले घरमै आउन थालेको छ । यसले सेवाग्राहीको समय र खर्च पनि बचत भएको छ’, उनले भने ।
पहिले राहदानी बनाउन करिब एक महिना समय लाग्ने गरेको भन्दै अहिले १५ दिनमा घर आइपुगेको उनले उल्लेख गरे । राहदानी घरमा आइसकेकाले अब विदेश जाने तयारी सुरु गर्ने उनको भनाइ छ ।
जिल्ला हुलाक कार्यालयका प्रमुख एवं हुलाक अधिकृत गजेन्द्रप्रकाश थारुले केही सातायतादेखि जिल्लामा पाँच जना सेवाग्राहीलाई घरमा पुगेर राहदानी उपलब्ध गराइएको उल्लेख गर्दै अन्य केहीको राहदानी हुलाक कार्यालयमा आउनेवित्तिकै वितरण गरिने जानकारी दिए ।
सुरुमा राहदानी प्राप्त गर्ने व्यक्तिको व्यक्तिगत विवरण समाविष्ट गरिने र सम्बन्धित व्यक्तिलाई जिल्ला प्रशासन कार्यालयमा कहाँबाट राहदानी बुझ्ने भनेर सोध्ने गरिएको उनले बताए ।
सेवाग्राहीले राहदानी बनेपछि जहाँबाट प्राप्त गर्न चाहनुहुन्छ सोहीअनुसार राहदानी वितरण गर्ने विधि रहेको हुलाक अधिकृत थारुले बताए । उनले दूरीअनुसार बढीमा दुई दिनमा स्थानीय प्रशासनबाट हुलाक कार्यालयमा राहदानी आउनेबित्तिकै वितरण हुने उल्लेख गर्दै यो सेवा प्रभावकारी हुँदै गएको जानकारी दिए । उनका अनुसार सेवाग्राहीका लागि यो सेवा निशुल्क भएपनि हुलाक महसुलका रूपमा रु ६५ भने तोकिएको छ ।
राहदानी घरमा पुर्याउनका लागि जिल्लामा स्थानीय प्रशासन र हुलाक कार्यालयमार्फत मौखिक सहमतिसमेत भएको थियो । उक्त सहमतिअनुसार गत वैशाख ३ गतेदेखि बाँकेका सेवाग्राहीलाई राहदानी घरघरमा पुर्याउने अभ्यास सुरु भएको हो । सङ्घीय सरकारको १०० दिने कार्यसूचीअनुसार समावेश गरिएको घरमै सेवा पुर्याउने कार्यक्रमअनुरूप सो सम्झौता गरिएको थियो । स्थानीय तह र सम्बन्धित वडाको समन्वयमा सेवाग्राहीलाई राहदानी वितरण गरिँदै आइएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया 4