News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय सुर्खेत र हुलाक निर्देशनालयले समझदारी पत्रमा हस्ताक्षर गरी सरकारी कुरियर सेवा सञ्चालनमा ल्याएका छन्।
- अब राहदानी विभागबाट पासपोर्ट प्रिन्ट भएर आएको राहदानी हुलाकले सात दिनभित्र सेवाग्राहीको घरमै पुर्याउने व्यवस्था गरिएको छ।
- सेवाग्राहीले राहदानी, नागरिकता, प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू घरमै पाउनेछन् र १०० थान खाममा हुलाक महसुल बापत टिकट टाँस गर्नुपर्नेछ।
२४ वैशाख, सुर्खेत । जिल्ला हुलाक मार्फत अब सुर्खेतवासीको घरदैलोमै राहदानी पुर्याउने भएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय र हुलाक निर्देशनालय सुर्खेतका निर्देशक गोविन्दप्रसाद पाण्डेले समझदारी पत्रमा हस्ताक्षर गरेसँगै ‘सरकारी कुरियर सेवा’ सञ्चालनमा आएको हो ।
उक्त सेवा सञ्चालनमा आएसँगै अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
नेपाल सरकारको शासकीय सुधारको १०० दिने कार्य योजना अनुसार उक्त सेवा सुरु गरिएको हुलाक निर्देशनालयका निर्देशक पाण्डेले जानकारी दिए ।
‘अब सेवाग्राहीले राहदानी विभागबाट पासपोर्ट प्रिन्ट भएर आएको हप्तौंसम्म पर्खिनु पर्ने वा बुझ्नकै लागि प्रशासन धाउनु पर्ने छैन,’ उनले भने, ‘हुलाकका कर्मचारीले नागरिकको ढोकैमा ल्याइदिने छन् ।’
जिल्ला प्रशासन कार्यालय र हुलाक निर्देशनालय भएको ९ बुँदे सहमति भएको छ । सहमति अनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले राहदानी विभागबाट राहदानी प्राप्त भएपछि सेवाग्राहीको घरमा पुर्याउन सम्बन्धित व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर राखी हुलाक निर्देशनालयलाई हस्तान्तरण गर्नेछ ।
हुलाकले ती राहदानी बुझेको ७ दिनभित्र सम्बन्धित व्यक्तिको हातमा पुर्याउने निर्देशक पाण्डेले बताए ।
उनका अनुसार, राहदानी हराउने वा दुरुपयोग हुने जोखिमलाई शून्यमा झार्न सेक्युर डेलिभरीको अवधारणा समेत अपनाइएको छ ।
राहदानीसँगै हुलाकले नागरिकता, प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू घरमै पुर्याउने व्यवस्था गरेको छ । सेवा ग्राहीले १०० थान खाममा हुलाक महसुल बापत लाग्ने टिकट टाँस गर्नुपर्नेछ ।
प्रतिक्रिया 4