Comments Add Comment

काँग्रेसको सिद्धान्तवाट प्रभावित भएँ : रामेश्वर खनाल

१० भदौ काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल सोमबार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । एमाओवादी नेता बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार रहेका खनाल आगामी संविधानसभामा पाल्पाबाट उम्मेदवारी दिने तयारीसहित कांग्रेस प्रवेश गर्नु भएको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा भएको कार्यक्रममा कांग्रेस सभापति कोइरालाले खनाललाई टिका लगाएर पार्टी प्रवेश गराउनुभयो ।पार्टी प्रवेशपछि पूर्वसचिव खनालले काँग्रेसको सिद्धान्तवाट प्रभावित भएकाले काँग्रेसमा प्रवेश गरेको बताउनुभयो ।

पूर्व अर्थसचिव रामेश्वर खनाललाई पार्टी सदस्यता प्रदान गर्दै कांग्रेस सभापति सुशील कोइराला ।
पूर्व अर्थसचिव रामेश्वर खनाललाई पार्टी सदस्यता प्रदान गर्दै कांग्रेस सभापति सुशील कोइराला ।

उहाँले काँग्रेस राष्ट्रिय स्वाधीनताका सवालमा लामो इतिहास बोकेको पार्टी भएकाले सिद्धान्तप्रति प्रभावित हुँदै पार्टी प्रवेश गरेर काम गर्ने अठोटका साथ आफू राजनीतिमा आएको बताउनुभयो । उहाँले भन्नुभयो,’ काँग्रेसमा जे बोलिन्छ, त्यो गरिन्छ । यसले पनि प्रभावित बनाएको हो । उहाँले वीपी कोइरालाकै पालादेखि काँग्रेसले शिक्षा, स्वास्थ्य तथा आर्थिक क्षेत्र गरेका अनुकरणीय काम गरेको स्मरण गर्नुभयो । खनालले सक्रियरुपमा काँग्रेसको सिद्धान्तमा रही काम गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले पार्टीमा बसेर अल्प विकासशीलबाट मुलुकलाई विकासशील राष्ट्रमा बदल्न आफ्नो तर्फबाट सहयोग गर्ने बताउनुभयो ।

राम्रो स्थान दिन्छौं : कोइराला

कार्यक्रममा काँग्रेस सभापति सुशील कोइरालाले समाजवादी आर्थिक नीतिलाई अघि वढाउन खनालको महत्वपूर्ण योगदान रहने बताउनुभयो । कोइरालाले खनाललाई पार्टीमा राम्रो स्थान दिने बताउनुभयो । उहाँले भन्नुभयो,’खनालजी हाम्रो पार्टीमा प्रवेश गर्नु खुशीको कुरा हो, उहाँको क्षमताअनुसार पार्टीले राम्रो किसिमको भूमिका दिन्छ ।’

उपसभापति रामचन्द्र पौडेलले खनालको प्रवेश वौद्धिकताको प्रवेश भएको टिप्पणी गर्नुभयो । उहाँले खनालको प्रवेशले पार्टीलाई थप उर्जा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समग्र काँग्रेसको सिद्धान्त, विचार र आस्थामा थप उर्जा दिएको छ । ‘

पूर्वअर्थसचिव खनाल एमाओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । भट्टराई अर्थमन्त्री भएका बेला उहाँले सचिवका रुपमा भट्टरार्इसँग काम गर्नुभएको थियो । खनाल ०३७ सालमा निजामति सेवामा प्रवेश गर्नु भएको हो । पाल्पा क्षेत्र नम्बर ३ का खनाल ०६३ सालमा अर्थसचिव बन्नुभएको थियो । पछि भ्याट छलीको छानविनबारे तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग विवाद भएपछि खनालले ०६७ फागुनमा अर्थसचिवबाट राजीनामा दिनुभएको थियो ।

पाल्पा ३ बाट चुनाव लड्ने चर्चा

खनालले आफ्नै गृहजिल्ला पाल्पा ३ बाट कांग्रेसका तर्फबाट टिकट पाउने सम्भावना रहेको स्रोत बताउँछ । पाल्पा-३ मा ०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसले ३ सय ३२ भोटले मात्रै पराजय व्यहोरेको थियो । एमालेले जितेको सो क्षेत्रमा एमाले, कांग्रेस र एमाओवादी तीनवटै दलले १२/१२ हजार मत ल्याएका थिए ।

कांग्रेस बैठक बुधबारदेखि

यसैबीच नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ । चुनावी रणनीति तय गर्न केन्द्रीय समितिको बैठक बोलाइएको हो । त्यसअघि मंगलबार चुनावी खर्च जुटाउन पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा गठित निर्वाचन कोष निर्माण समितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment