सिड्नी । साताको साहित्य डट कमले यस बर्षको साताको साहित्य पुरस्कार लेखक रमेश सायनको कविता, नाम धनिमाया थारु-बर्ष चौरासी लाई दिने घोषणा गरेको छ । साताको साहित्य डट कममा अगष्ट २०१२ देखि जुलाई २०१३ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट पाठकहरूको प्रतिक्रिया र साताको साहित्यको निर्णयको आधारमा तीन उत्कृष्ट रचनाहरू गत हप्ता सार्वजनिक गरिएका थिए ।
जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा ईश्वरमणि अधिकारीको कविता इच्छापत्र र सौरभ कार्कीको कविता, हजार प्रश्नको साझा कविता-अंगेरिको पातमा बेरिएको जीवन ले सर्वाधिक पाठक प्रतिक्रिया पाएका थिए । चार सदस्यीय निर्णायक समितिले तीन उत्कृष्ट रचना मध्येबाट सर्बोत्कृष्ट रचनाको रुपमा रमेश सायनको रचनालाई सर्वसम्मत चयन गरेको थियो । निर्णायक मण्डलमा कवि महेन्द्र पौडेल, ऋषि आचार्य (सम्पादक-नेपाली पत्र अष्ट्रेलिया), सुजित सिग्देल (सम्पादक-नेपाली टाइम्स अष्ट्रेलिया) र निष्प्रभ सजी (सम्पादक-साताको साहित्य) रहेका थिए ।
यस पुरस्कार आउँदो अक्टोवर महिनामा काठमाडौँमा एक समारोहका बीच प्रदान गरिने साताको साहित्यले जनाइएको छ । लेखकले पुरस्कार स्वरुप नगद बीसहजार रुपैया र ताम्र पत्र प्राप्त गर्नेछन् । गतबर्ष यो पुरस्कार साहित्यकार रविन्द्र समीरको लघुकथा ढुङ्गाको देवतालाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया 4