Comments Add Comment

राजकुमारले केपीलाई भने ‘महामुर्ख’, केपीले भने, ‘जे पायो त्यही नबोल्नुहोस्’

हुनत नेपाली सिनेमाका चलचित्रकर्मीहरु चर्चा पाउनको लागि जुनसुकै हतकण्डा पनि अपनाउन तयार छन् । झन मिडियाको जमघट भएको स्थानमा त हतकण्डाको नाटक कुनै नौलो कुरा होइन ।rajkumar-rai-and-kp-pathakशनिबार काठमाण्डौमा आयोजना भएको चलचित्र कलाकार संघको १२ औ साधारण सभामा पनि यस्तै दृश्य देखियो । चलचित्र समाज महासंघका अध्यक्ष केपी पाठकलाई हरेक कुरा नकारात्मक रुपमा हेर्ने गरेको आरोप लाग्दै आएको छ । चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइले पनि यस्तै आरोप लगाए उनलाई ।

चलचित्रको बर्गीकरण क्यामेराको आधारमा हुनु हुदैन भन्दै सर्वोच्चमा मुद्दा दायार गरेपछि केपी धेरै चलचित्रकर्मीको आखाको तारो पनि बनेका छन् । राजकुमारले उनलाई औला उठाउँदै भने, ‘तिमी र चलचित्र बिकास बोर्डका सदस्य निलहरी काफ्ले उस्तै हौं । हरेक कुरालाई नकारात्मक दृष्टिकोणले हेर्ने ।’ उनले केपीलाई महामुर्खको संज्ञा पनि दिए ।

केपी पनि के कम, मुख फोरि हाले, ‘तपाई जस्तो जिम्मेबार मान्छेले चलचित्रको बर्गीकरण क्यामेराको आधारमा विश्वव्यापी रुपमा भएको छ भन्दै मिडियामा भन्न मिल्छ, ल देखाउनुहोस् कहाँ छ यस्तो चलन । अध्ययन नै नगरी प्याच्च बोल्दै हिड्न मिल्छ ।’

केपीको कुरा सुनेपछि राजकुमारको बोली रोकियो । उनले भने, ‘यि माओवादीहरु यस्तै हुन्, बोलेर कहाँ सकिन्छ र ?’ राजकुमार र केपीको भनाभन करिब आधा घन्टा सम्म चल्यो ।

उसो त निर्देशक केपी पाठक हरेक कुरालाई नकारात्मक रुपमा विश्लेषण गर्न सिपालु छन् । राजकुमार भने हरेक कुरामा चाडै रिसाई हाल्ने कुराले चर्चित छन् । यसैले पनि यि दुइको जुहारी हेर्नलायक नै देखियो ।

अन्त्यमा राजकुमारले केपीलाई भने, ‘मिडियामा आउन पाए तिमी जे पनि बोल्न सक्छौ । अब यो समाचार मिडियामा आइहाल्छ, तिमीले खोजेको पनि यही हो क्यारे ।’ यति भन्दै राजकुमार आफ्नो बाटो लागे, केपी आफ्नो गन्थन टुङग्याउने सुरमा थिएनन् ।

केपी एकिकृत नेकपा माओवादी निकट मानिन्छन् भने राजकुमार नेपाली कांग्रेस निकट । तर चलचित्र कलाकार संघको कार्यक्रम स्थल बाहिर केपी र राजकुमारको बादबिबादले बेमौसमे बाजा बजाइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment