Comments Add Comment

प्रचण्डको अमेरिका यात्रा : न भव्य स्वागत, न विरोध

टिप्पणीः केही प्रश्न, विरोध अनि सन्देश

६ चैत, काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको बाल्टिमोर पुगेका नेकपा अध्यक्ष प्रचण्डको विषयलाई लिएर सामाजिक सञ्जाल तातेको छ ।

प्रचण्डविरुद्ध तिलकबहादुर श्रेष्ठ नाम गरेका एक व्यक्तिले फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) मा इमेल पठाएको अनाधिकृत चर्चा सामाजिक सञ्जालमा भाइरल बनेको छ । त्यसैमा टेकेर विभिन्न मिडियाले ‘प्रचण्डविरुद्ध एफबीआईमा उजुरी’ भन्ने समाचार बनाएका छन् ।

लगत्तै अमेरिकी सरकारले प्रचण्डबारे ‘नो इन्भेस्टिगेसन सर्कुलर’ पठाएको चर्चा पनि चलिरहेकै छ । यीबाहेक प्रचण्डको अमेरिका भ्रमणसम्बन्धी थप ‘र्‍युमर’हरु चलेका, चलाइएका छन् ।

खासै चर्चामा नरहेको एउटा अनलाइनले ‘प्रचण्डलाई अमेरिकामा नेपाली समुदायद्वारा भव्य स्वागत’ भनेर समाचार लेख्यो । त्यही समाचारको लिंक प्रचण्डको आधिकारिक टि्वटरमा देखेपछि अमेरिकामा रहेका कतिपय सञ्चारकर्मीले समेत त्यसमा चासो राखे । कतै प्रचण्डको नामबाट कसैले नक्कली टि्वटर ह्याण्डल चलाएको त होइन ? फ्याक्ट चेक गर्दा त्यो प्रचण्डको सक्कली टि्वटर नै रहेको पुष्टि भयो ।

के प्रचण्डलाई बाल्टिमोरमा नेपाली समुदायबाट भव्य स्वागत नै भएको हो त ? समाचारमा प्रचण्डपुत्री गंगा दाहालको फेसबुकबाट तानिएको एउटा तस्वीरसमेत राखिएको थियो, जसमा ४ जनामात्रै ठिंग उभिएका देखिन्छन् । कसैले स्वागत गरेको देखिँदैन ।

वास्तवमा प्रचण्डलाई कसैले पनि ‘भव्य स्वागत’ गरेकै थिएन । तैपनि भव्य स्वागत भनेर समाचार बन्यो । त्योभन्दा अचम्म त के भने त्यही ‘भव्य स्वागतवाला’ समाचारलाई प्रचण्डको सचिवालयले नै सेयर गरिदियो, जसलाई देखेर अमेरिकामा रहेका सञ्चारकर्मीहरु छक्क परे ।

किनभने, अमेरिकामा बुधबार बिहानसम्म प्रचण्डलाई कर्हीँ पनि ‘भव्य स्वागत’ भएको छैन । उनी पत्नीको उपचार गराउने व्यक्तिगत काममा अमेरिका पुगेका हुन् । उनलाई बिमारी पत्नीको तनाव छ र उपचारकै चिन्तामा छन् । मंगलबारदेखि सीता दाहालको चेकअप सुरु भएको छ ।

नयाँ नाम सुनिएको अर्को एउटा अनलाइनले प्रचण्डका विषयमा अर्को समाचार बनायो- ‘अमेरिकामा पनि प्रचण्डप्रतिको आक्रोश उच्च…..।’

यो समाचारमा प्रचण्ड र सीता दाहालको तस्वीरसहितको प्ले कार्ड बोकेर नेपाली समुदायले जुलुस लगाउँदै गरेको तस्वीरसमेत राखिएको छ । तर, यो तस्वीर फेक हो । फोटोसपबाट बनाइएको हो ।

हेर्नुहोस् फेक तस्वीर

यो तस्वीर भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएका बेला वाशिंटन डीसीमा रहेका नेपालीहरुले गरेको विरोध प्रदर्शनका बेला खिचिएको हो । र, यो तस्वीर अमेरिकामा रहेका पत्रकार गिरीश पोखरेलले खिचेका हुन् । अहिले त्यही तस्वीरमा प्रचण्ड र सीता दाहालको फोटो टाँसेर प्रचण्डविरुद्ध प्रदर्शनी भएको जस्तो गरी प्रचार गरिएको छ र फेक न्युज बनाइएको छ ।

अमेरिकामा रहेका नेपाली समुदायसँग बुझ्दा बुधबार बिहानसम्म प्रचण्ड र सीता दाहालविरुद्ध त्यहाँ कुनै विरोध प्रदर्शन भएको छैन, कतै जुलुस निस्किएको छैन । कतै कालोझण्डा पनि देखाइएको छैन । र, कतै उनीहरुको स्वागत सत्कार पनि भएको छैन । कसैले प्रचण्ड र सीता दाहालको भव्य स्वागत पनि गरेको छैन, सडकमा उत्रेर विरोध पनि गरेको छैन ।

प्रचण्ड परिवार नेपालबाट अमेरिका पुगेपछि त्यहाँ हरेको नेपाली दूताबासले उनीहरुलाई रिसिभ गरेको छ । अरु नेपाली समुदायलाई भेटघाट गर्न दिइएको छैन । राजदूत आफैंले अस्पताल पुर्‍याएका छन् । उपचारका लागि पुगेका प्रचण्ड र उनका परिवारलाई दूतावासका कर्मचारीबाहेक अरुले भेटघाट गरेको स्थिति पनि छैन, बुधबार बिहानसम्म ।

पूर्वप्रधानमन्त्री प्रचण्डलाई राजदूतबासमा पुष्पगुच्छा दिएर ‘रिसिभ’ गरिएका केही तस्वीरहरु छोरी गंगा दाहालले फेसबुकमा पोस्ट गरेकी छन् । र, त्यसैलाई राखेर कतिपयले कुनै ठूलै घटना जसरी ‘प्रचण्डलाई राजदूताबासमा भव्य स्वागत’ भन्ने ढंगका अतिरञ्जित प्रचारबाजी गरिरहेका छन् । नेकपाका कार्यकर्ताहरुले पनि त्यसलाई ठूलै घटना भएजसरी महत्व दिएर प्रचार गरिरहेका छन् ।

‘एफबीआई’ को उजुरीसम्बन्धी प्रश्न

मंगलबार रातिदेखि फैलिएको अर्को र्‍युमर हो- केन्टकी स्टेट युनिभर्सिटीका रिसर्चर ‘तिलकबहादुर श्रेष्ठ पीएचडी’ ले प्रचण्डलाई ‘आतंककारी’ भन्दै  एफबीआई, बाल्टीमोरमा उजुरी गरे भन्ने प्रचारबाजी ।

यो अपुष्ट प्रचारबाजीसँगै सामाजिक सञ्जालमा तिलक श्रेष्ठको तस्वीर राखेर गाली गर्ने र श्रद्धाञ्जलीसम्म दिने काम प्रचण्डका समर्थकहरुले गरिरहेका छन् ।

र, यही बाहनामा नेकपाका कतिपय कार्यकर्ताले विदेशमा बासेवास गर्ने नेपाली समुदायमाथि नै अनर्गल गालीगलौच गरिरहेका छन् ।  विदेशमा बस्ने नेपालीलाई ‘भगौडा’ भन्ने र स्वदेशमा बस्नेलाई ‘भ्रष्टाचारी’ भन्नेसम्मको अशिष्ट दोहोरी सामाजिक सञ्जालमा सुरु भएको छ । यसका साथै माओवादी हत्यारा हुन् या राजनीतिक परिवर्तनका सम्वाहक हुन् भन्ने किसिमको बहस पनि सामाजिक सञ्जालमा चर्किएको छ, चर्काइएको छ ।

तर, के तिलकबहादुर श्रेष्ठले प्रचण्डविरुद्ध एफबीआईमा इमेल लेखेकै हुन् त ? उनले त्यस्तो इमेल लेखेका हुन् भने त्यो कसरी सार्वजनिक भयो ? कसले सार्वजनिक गर्‍यो ? व्यक्तिगत इमेल तिलक श्रेष्ठ आफैंले सार्वजनिक गरेका हुन् भने उनले आफ्नो फेसबुकमा किन यसबारेमा केही लेखेका छैनन् ? किन कुनै पनि मिडियामा आफ्नो भनाइ राखेका छैनन् ?

हामीले यसबारेमा श्रेष्ठलाई सोध्ने प्रयास गर्‍यौं । तर, उनी सम्पर्कमै आउन चाहेनन् । यो अवस्थामा तिलक श्रेष्ठका नाममा जुन इमेल भाइरल बनिरहेको छ, यसको आधिकारिकता नै अहिलेसम्म पुष्टि हुन सकिरहेको छैन ।

हेर्नुहोस् एफबीआईलाई लेखेको भनिएको पत्र

इमेलमार्फत गरिएको ‘गोप्य’ उजुरीको आधिकारिकता स्वतन्त्र रुपमा पुष्टि हुनै नसकिरहेको अवस्थामा कतिपयले प्रचण्डविरुद्ध उजुरी गर्ने तिलक श्रेष्ठ जेल पर्ने प्रचारसमेत गर्न भ्याइसकेका छन् ।

टिप्पणीः केही प्रश्न, विरोध अनि सन्देश

प्रचण्डको अमेरिका भ्रमणलाई लिएर केही प्रश्नहरु उठेकै छन् । माओवादीप्रतिको विरोध अनि राजनीतिक नेतृत्वप्रतिको विरोध र आक्रोश पनि मुखरित भएकै छ । अनि यो घटना परिघटनाले केही सन्देशहरु पनि जरुर दिएकै देखिन्छ ।

प्रचण्डको अमेरिका भ्रमणसँगै देश विदेशमा नेपाली समुदायमा आइरहेको प्रतिक्रियालाई हेर्दा केही भएकै छैन चाहिँ भन्न मिल्दैन । यो परिघटनाबाट हामीले केही पाठहरु सिक्न सक्नुपर्छ ।

प्रथमतः प्रचण्ड आफ्नी पत्नीको उपचार गराउन गएका हुन् । कोही पनि विरामी हुँदा, कसैको मृत्युहुँदा वा कसैमाथि दुःख पर्दा सहानुभूति जनाउने नेपाली संस्कार र संस्कृति हो । शुत्रलाई पनि दुःख पर्दा हाँस्नु हुँदैन भन्ने नेपाली मान्यता छ, के यो मान्यता खण्डित हुन थालेको हो ? किनभने, पर्यटनमन्त्री रविन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा परेर निधन हुँदासमेत खुच्चिङ भन्नेहरु भेटिए सामाजिक सञ्जालमा । र, प्रचण्डको हकमा पनि यही कुरा सत्य हो ।

नेपालमा माओवादी कार्यकर्ताहरु, जनयुद्धका योद्धाहरु अनि सर्वसाधारण नागरिकहरु उपचार नपाएर छटपटाउनुपरेका बेला प्रचण्ड लगायतका नेताहरु चाहिँ सिंगापुर, अमेरिकामा उपचार गर्न जाने ? यस्तो प्रकारको आक्रोश पनि नेपाली जनतामा धेरै पहिलेदेखि रहँदै आएको छ । र, जनताको यो आक्रोश नाजायज छैन । नेताहरुले जनताको यो आवाजलाई गम्भीरतापूर्वक लिनैपर्छ र उचित सम्वोधन गर्नैपर्छ, जनतालाई जवाफ दिनैपर्छ । सत्ता चलाइरहेका दलका नेताहरुले त झनै जनताको यो आवाजलाई नरमरुपमा लिँदै व्यवहारबाटै जवाफदिने सकेसम्म प्रयास गर्नुपर्छ ।

सामाजिक सञ्जालहरु हेर्दाखेरि कतिपय मानिसहरुले प्रचण्डपत्नीको उपचार खर्च राज्यका तर्फबाट व्यहोरिएको हो कि व्यक्तिगत हो भनेर प्श्न उठाएका छन् । राज्यका तर्फबाट हो भने आपत्ति छ र व्यक्तिगत हो भने ३ कठ्ठा जग्गा भएको परिवारसँग पैसा कहाँबाट आयो भनेर आम जनमानसमा प्रश्न उठेको छ ।

सार्वजनिक जीवन बिताइरहेका नेताहरुको परिवारिक खर्चपर्च पारदर्शी भएन भने यस्ता प्रश्न उठ्ने र संशय पैदा हुने गर्छन् । यस्तो विषयमा उपचार गरेर फर्केपछि प्रचण्ड परिवारले खर्च र त्यसको स्रोत सहजरुमा जनसमक्ष ल्याइदिने हो भने यी प्रश्नहरु हल भएर जान्छन् ।

केही समयअघि अमेरिका पुगेका बेला डा. बाबुराम भट्टराईको पनि चर्को विरोध भएको थियो । अहिले सामाजिक सञ्जालमा प्रचण्डको जसरी विरोध भइरहेको छ, देश विदेशमा रहेको एउटा ठूलो समुदाय माओवादीलाई मन पराउँदैन भन्ने कुराको दृष्टान्त हो । यसका साथै नेपालका नेताहरुले केही गरेनन् भन्ने आक्रोश पनि विदेशमा रहेका नेपालीहरुमा रहने गरेको छ । र, उनीहरु बेलाबेलामा नेताहरुमाथि यसरी खनिने गर्दछन् ।

तर, प्रचण्डको अमेरिका भ्रमणको विषयलाई लिएर अहिले जसरी ‘डायस्पोरा भर्सेस नेपाल’ हुनेगरी गालीगलौच सुरु गरिँदैछ, यो चाहिँ देशको हितमा छैन र सभ्य समाजका लागि सोभनीय छैन । नेपाली समूदायवीचको एकता र सदभावले मात्रै यो जातिको सम्मान र अस्थित्वको रक्षा हुन्छ ।

स्वदेशमा र विदेशमा रहेका एकथरि मानिसहरुको सोचाइ अहिले पनि माओवादीलाई आतंककारीकै रुपमा देख्ने रहेको छ । द्वन्द्वको मारमा परेका कतिपय पीडितहरुलाई त्यस्तो लाग्नु र न्याय नपाएको गुनासो गर्नु स्वाभाविकै भए पनि कतिपय तेस्रो पक्षका मानिसहरु पनि यसमा भाग लिइरहेका छन्, जसले मेलमिलाप भन्दा झगडा बढ्ता गराइरहेको छ ।

नेपालीहरुलाई अहिले चाहिएको, मेलमिलाप, शान्ति र समृद्धि हो । विगतकै द्वन्द्वको छारो कन्याएर हामी कहाँ पुगौंला ? सबैले सिर्जनात्मक र सकारात्मक सोच्ने पो हो कि ? प्रचण्डको विरोध गरेर, उनीविरुद्ध जसरी गरेर वा उनलाई जेलमा हालेर नेपाल र नेपालीको भविश्य राम्रो हुने कल्पना सामान्य चेत भएको मानिसले गर्न सक्दैन ।

यो कुरा सत्य हो कि अमेरिकाले माओवादीलाई विगतमा आतंकवादी संगठनको सूचीमा राखेको थियो । तर, शान्ति प्रक्रियामा आइसकेपछि अमेरिकाले माओवादीमाथि राजनीतिक व्यवहार गर्दै आइरहेको छ । तर, अमेरिकीहरुले माओवादीलाई राजनीतिक शक्तिका रुपमा स्वीकारिसक्दा पनि कतिपय नेपालीहरुले नै माओवादीलाई राजनीतिक शक्तिका रुपमा स्वीकार गर्न नसक्दा यस्ता लफडाबाजीहरु हुने गरेका छन् । निश्चयले विगतको सशस्त्र द्वन्द्व सुखद थिएन । माओवादी र राज्यपक्ष दुवैबाट धेरै गल्तीहरु भएकै थिए । तर, त्यो तीतो विगतलाई सम्झिएर हामी कहाँ पुगौंला ? यो प्रश्न पुनः एकचोटि सतहमा आएको छ ।

यो पनि पढ्नुहोस पीडक पक्षको हस्तक्षेप रोक्न माग गर्दै राष्ट्रसंघ भवनमा डा. केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment