Comments Add Comment

निर्वाचन आउन तीन सातामात्र बाँकी रहँदा मतदाता शिक्षा सामग्री र नामावली गाउँ पुगे

१४ कात्तिक, काठमाण्डौं । निर्वाचन आयोगले संविधानसभा निर्वाचन तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । निर्वाचन मिति तीन साता मात्र बाँकी रहँदा आयोगले मतदाता शिक्षासम्बन्धी पुस्तक, पोस्टर पम्लेट, फोटोसहितको मतदाता नामावलीलगायतका निर्वाचनका सामाग्रीहरू सबै जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइसकेको छ ।

आयोगले मतदाता शिक्षासम्बन्धी हाते पुस्तक, निर्वाचन प्रचारसम्बन्धी पोस्टर जनताका हातहातमा पुर्याइसकेको छ भने मतदातालाई मतदान गर्ने तरिकाबारे पनि शिक्षा दिइएको छ । आयोगले कात्तिक तेस्रो सातासम्म मतदाता शिक्षा सामग्री वितरण गरिसक्ने र मतदाता शिक्षा तालिम कात्तिकको दोस्रो सातासम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको मतपत्र हल्का नीलो रंग र समानुपातिकतर्फको रंग हल्का रातो छापिएको छ । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ १ करोड ४९ लाख ५२ हजारको संख्यामा मतपत्र छापिएको छ । दुवै मतपत्र बुधबारदेखि जिल्ला–जिल्लामा पठाउन सुरु गरिएको छ । निर्वाचनभन्दा एक साताअघि २ सय ४० ओटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने आयोगको योजना छ । मतदानको सबै परिणाम २५ मंसिरभित्र गरिसक्ने आयोगको लक्ष्य छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीका अनुसार आयोगले निर्वाचनको अघिल्लो दिन ३ मंसिरभित्र मतदातालाई मतदाता परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा निर्वाचनमा भाग लिएका सबै दलले परिणाम आफ्नो हातमा पार्न प्रचार प्रसारलाई तीव्रता दिएका छन् । उनले आयोगले निर्वाचनको अन्तिम तयारीमा जुटेको बताउँदै पर्यवेक्षण, तालिम, सञ्चार, मतदाता शिक्षा, लैंगिक तथा समावेशी नीति लिएर आफ्नो काम अघि बढाइरहेको बताए । निर्वाचन आयोगले निर्वाचन र सञ्चार, मतदाता शिक्षा, निर्वाचन सामग्री, लेखा, निर्वाचन सुरक्षा, निर्वाचन सञ्चालन तथा व्यवस्थापन, निर्वाचन पर्यवेक्षण गरी आठ विषयमा तालिम सञ्चालन गरेको राजधानी दैनिकमा खबर छ ।

मुख्य प्रशिक्षक प्रशिक्षण, क्षेत्रीय प्रशिक्षक प्रशिक्षण, जिल्ला प्रशिक्षक प्रशिक्षण र स्रोत केन्द्रस्तरीय प्रशिक्षणसमेत गरी ३६ हजार ३७ तालिम प्राप्त व्यक्ति निर्वाचन प्रक्रियामा कार्यरत रहेको आयोगले जानकारी दिएको छ । मतदाता शिक्षाका लागि केन्द्रदेखि मतदाता स्थलसम्मको संरचना तयार गरी मतदाताको घरदैलोसम्म शिक्षा र सन्देश लैजाने व्यवस्था आयोगले गरेको छ । मतदाता स्वयंसेवक, निर्वाचन शिक्षा कार्यकर्ता, सुपरिवेक्षक र समन्वयकर्तासमेत ३० हजार परिचालन भएका छन् । आयोगका सूचनाहरू विभिन्न ३० भाषामा गोरखापत्रमा प्रकाशन गरिने आयोगले जनाएको छ ।

१२ राष्ट्रिय टेलिभिजन, ३ सय ४ ओटा एफएम स्टेसनबाट जिंगल एवं पिएसय प्रसारण हुने कार्य जारी रहेको पनि आयोगले जनाएको छ । निर्वाचनमा मतदात अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, श्रेणीविहीन गरी १ लाख २५ हजार ८ सय ५८ र स्वयंसेवक ८८ हजार ९ सय ४४ गरी २ लाख १४ हजार ८ सय २ कर्मचारी आवश्यक पर्ने आयोगले प्रारम्भिक अनुमान गरेको छ । चुनावी हिंसा जोखिम न्यूनीकरणका लागि भदौको पहिलो सातादेखि संयुक्त निर्वाचन केन्द्र सञ्चालन गरिएको छ । यो केन्द्र मंसिरको दोस्रो सातासम्म सञ्चालन हुनेछ ।

मंसिर मसान्तसम्म निर्वाचन आचारसंहिताको अनुगमन गर्ने आयोगले जनाएको छ । आचारसंहिता गत ७ साउनदेखि लागू भएको थियो । आयोगले सञ्चारमाध्यमको अनुगमन मंसिर तेस्रो सातासम्म गर्ने जनाएको छ । निर्वाचन पर्यवेक्षणसम्बन्धी प्रतिवेदन मंसिर मसान्तसम्म आइसक्नुपर्ने आयोगले जनाएको छ । निर्वाचनमा तीन अन्तर्राष्ट्रिय र ५४ स्वदेशी गरी ५७ संस्थालाई पर्यवेक्षण स्वीकृति दिइएको छ । हालसम्म अन्तर्राष्ट्रिय संस्थाबाट ६१ र राष्ट्रिय पर्यवेक्षकहरू १ हजार २ सय ५० परिचालित भइसकेका आयोगले जाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment