Comments Add Comment

प्रधानमन्त्री चढेको विमान होल्ड छानविनः एटीसीको कान जाँच्न निर्देशन

६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी ओली सवार विमान होल्डमा राखिएको विषयमा छानविन गर्न गठित समितिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने रायसहित प्रतिवेदन दिएको छ ।

केही दिनअघि गृहजिल्ला गएका प्रधानमन्त्री ओली भद्रपुर विमानस्थलबाट काठमाडौं आउँदा चढेको यति एयरलाइन्सको विकमान झण्डै ७ मिनेट होल्डमा परेको थियो । त्यसबारे छानविन गर्न संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा समिति बनेको थियो ।

समितिले हालै पर्यटनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा विमानमा भीभीआईपी रहेको पूर्वसूचना नभएको खुलेको छ ।

भीभीआईपीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख पर्छन् । उनीहरुको उडान हुँदा एम्बुलेन्स लगायत तयारीमा अवस्थामा राख्नुपर्छ ।

प्रतिवेदनअनुसार प्रधानमन्त्री भद्रपुर गएको र फर्किएको सूचना विमानस्थल प्रमुखलाई नै थिएन । सम्बन्धित एयरलाइन्सको ग्राउण्ड ह्याण्डल गर्ने अधिकारीले यस्तो सूचना विमानस्थल प्रशासनलाई दिनुपर्ने हुन्छ ।

साथै प्रधानमन्त्री फर्किने क्रममा भद्रपुर विमानस्थलका अधिकारीले पनि यसबारे सूचना नदिएको पाइएको छ । पाइलटले पनि निकै ढिला मात्र विमानमा भीभीआईपी रहेको जानकारी एटीसीलाई गराएको थियो ।

प्रतिवेदनमा उल्लेख भएअनुसार पाइलटले भीभीआईपी रहेको सूचना दिँदा एयर ट्राफिक कन्ट्रोलर तीन जना थिए । तीनै जनाले भीआईपी मात्र सुनेको बयान छानविन समितिसामू दिएका छन् ।

एयर ट्राफिक कन्ट्रोलरहरुको श्रवण क्षमता अन्तराष्ट्रिय मापदण्ड अनुसार भए नभएको पत्ता लगाउन कान परीक्षण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । एक जना होइन, तीनै जनाले भीभीआईपीलाई भीआईपी सुनेका श्रवण शक्तिमा केही समस्या हो भनेर कान जाँच सुझाव दिइएको हो, समिति स्रोतले अनलाइनखबरलाई भन्यो ।

छानबिन समितिले भद्रपुर विमानस्थलका अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ भने यति एयरलाइन्सको ग्राउण्ड ह्याण्डल गर्ने अधिकारी र पाइलटहरुलाई सचत गराउन भनेको छ । सातै अब भीभीआईपी उडानको सूचना विभिन्न च्यानलबाट लिन सुझाएको छ ।

प्रतिवेदनअनुसार प्रधानमन्त्री सवार विमान अवतरण गर्ने क्रममा कतार एयरवेजको विमानको टेक अफको समय थियो । यो विमानले जुन दिशाबाट टेक अफ गर्न खोजेको थियो, त्यतातर्फ हावाको बहावले समस्या भएपछि ट्याक्सीवे तर्फ गयो । त्यही बेला श्री एयरलाइन्सको विमान आयो । र, त्यसलाई ल्याण्ड गर्न दिइयो ।

सोही समयमा रन वेमा कुकुर पनि देखिएको अध्ययनका क्रममा पाइएको छ । कुकरलाई रन वेबाट हटाउँदासम्म प्रधानमन्त्री सवार विमानले तीन चक्कर लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment