१८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा दलहरुले पाएको मत र सिटबारे जानकारी गराएको छ । मंगलबार सबै दलका प्रतिनिधिलाई कार्यालयमा बोलाएर आयोगले समानुपातिकमा पाएको मत अनुसार सिट घोषणा गरेको हो ।
जस अनुसार कांग्रेसले ९१, एमालेले ८४ र एमाओवादीले ५४ सिट पाएको छ । निर्वाचन आयोगका अनुसार कांग्रेसले २४ लाख १८ हजार ३ सय ७० मत पाएको थियो भने एमालेले २२ लाख ३९ हजार ६ सय ९ र एमाओवादीले १४ लाख ३९ हजार ७ सय २६ मत पाएको छ । यस्तै ६ लाख ३० हजार ६ सय ९७ मत पाएको राप्रपा नेपालले २४ सिट पाएको छ ।
संविधानसभा निर्वाचनमा १ सय २२ दल सहभागी भएका थिए । जसमा ३० दलले कम्तिमा १ सिटका लागि आवश्यक पर्ने २१ हजारभन्दा बढी मत प्राप्त गरेका छन् । अघिल्लो संविधानसभामा २५ दल थिए ।
आयोगले प्रक्रिया पुर्याएर २५ गतेभित्र उम्मेदवारहरुको सूची बुझाउन दलहरुलाई पत्र समेत दिएको छ । यसरी उम्मेदवारको सूची पेस गर्दा ५० प्रतिशत महिला, मधेसी पुरुष १५.६ र महिला १५.६, दलित महिला ६.५र पुरुष ६.५, उत्पीडित जाति जनजाति पुरुष १८.९ र महिला १८.९, पिछडिएका वर्ग २.२ र खस आर्य तथा अन्य पुरुष १५.१ र महिला १५.१ प्रतिशत पेस गनुपर्नेछ ।
एमाओवादीसहित ९ दल अनुपस्थित
सविधानसभामा एकीकृत नेकपा माओवादीसहितका ९ दलले सर्वदलीय बैठक बहिस्कार गरेका छन् । निर्वाचनमा धाँदली भएको भन्दै ९ दलले स्वतन्त्र छानविन आयोग गठन नगरेसम्म आयोगको कुनै पनि छलफलमा भाग नलिने घोषणा गरेका छन् ।
बैठकमा अनुपस्थित हुने दलहरुमा एमाओवादी, तमलोपा, सदभा्वना, राष्ट्रिय जनमुक्ति, मधेसी जनअधिकार फोरम, तमसपा, संघीय समाजवादी, फोरम गणतान्त्रिक र संघीय सद्भावना रहेका छन् । आयोगका प्रवक्ता वीरबहादुर राईका अनुसार एमाओवादीलाई पत्र पठाइएको छ भने अन्य दललाई पठाउने तयारी भइरहेको छ ।
संविधानसभामा पुगेका ३० दलको सूची र सिट संख्या
प्रतिक्रिया 4