Comments Add Comment

संसदमा राष्ट्रपति आउँदा सभासद दौरा सुरुवालमा सजिए

savasad-dress-code१५ असार, काठमाडौं । राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका प्रायः सबै पुरुष सभासद दौरा सुरुवाल र कोटमा सजिएका थिए । उनीहरुलाई नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेदेखि समाजवादी जनता दलका प्रेमवहादुर सिंहसम्मले साथ दिएका थिए ।

राप्रपा र राप्रपा नेपालका सभासदहरु त दौरा सुरुवालमा सजिने नै भए । सत्तापक्षको लहरमा रामचन्द्र पौडेलदेखि झलनाथ खनालसम्मका नेताहरुको ड्रेस कोड सभामुख सुवास नेम्वाङसँग ठ्क्याक्कै मिल्थ्यो । सत्ता पक्षका महिला सभासदहरु पनि व्यवस्थापिका संसद सचिवालयले तोकेको डे्रस कोडमै थिए ।

पुरुष सभासदले सेतो दौरा सुरुवालमा खैरो कोट लगाएका थिए । टोपी भने ढाकाटोपी वा भादगाउँले जे लगाए पनि छुट थियो । महिला सभासदको हकमा सारी र ब्लाउज जुन रंगको भए पनि खैरो कोट लगाउनुपर्ने प्रावधान थियो ।

विपक्षीको लहरमा बसेका प्रमुख विपक्षी नेता प्रचण्डलगायत प्रायः कुनै पनि एमाओवादी सभासदले दौरा सुरुवाल लगाएको देखिएन । पहिले पनि नन्दकुमार प्रसाई दौरा सुरुवाल लगाउने एकमात्र माओवादी सभासद हुन्थे । मधेशी दलका सभासदहरुले पनि ड्रेस कोडमा मतलव गरेको देखिएन ।

संसद सचिवालयको उर्दी

व्यवस्थापिका संसद सचिवालयले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकमा औपचारिक पोशाक लगाएर आउन सभासदहरुलाई सूचना गरेको थियो । सामान्यतः औपचारिक कार्यक्रममा ड्रेस कोडको सूचना दिने गरिएको संसद सचिवालयले जनाएको छ ।

‘तर माओवादी र मधेशवादी दलका माननीय ज्यूहरुलाई दौरा सुरुवाल लगाउँदा विदेशी भइन्छ कि भन्नेखालको सोचले गाँजेको देखिन्छ’ सचिवालयका एक बरिष्ठ अधिकारीले अनलाइनखबरसँग भने- ‘सर्ट पाइन्टभन्दा त दौरा सुरुवाल नै नेपाली पोशाक होइन र ?’

एमाओवादीका संसदीय दलका प्रस्तावित उपनेता टोपबहादुर रायमाझी दौरा सुरुवाल नेपालको पहिचान भए पनि पार्टीमा आफूले त्यसको महत्व बुझाउन नसकेको बताउँछन् । ‘दौरा सुरुवाल हाम्रो पहिचान हो, तर केही साथीहरु यसमा हीनताबोध व्यक्त गर्छन्’ रायमाझी भन्छन् ।

रायमाझीले मन्त्री भएका बेला दौरा सुरुवाल लगाएरै हिँड्ने अठोट गरे पनि त्यसमा लामो समय टिक्न सकेका छैनन् । एमाओवादीले जस्तै मधेसवादी दलका सभासदहरुले पनि दौरा सुरुवालप्रति आपत्ति जनाउँदै आएका छन् ।

सभामुखको व्यंग्य

सधैं दौरा सुरुवाल कोटको औपचारिक पोशाकमा सजिने सभामुख सुवास नेम्वाङले आफ्नो स्वभाव अनुसार सभासदहरुलाई बेला बेलामा संसद बैठकमा आउँदा लगाउनुपर्ने पोशाकका बारेमा व्यंग्यात्मक सुझाव दिने गरेका छन् । ‘हाम्रा माननीयज्यूहरु कुनै दिन ब्राजिल वा अर्जेन्टिनाको जर्सी लाएर संसदमा आउनुभयो भने आश्चर्य हुँदैन’ एक अनौपचारिक जमघटमा नेम्वाङले व्यंग्य गरेका थिए ।

टिसर्ट पाइन्ट लगाएर आउने महिला तथा पुरुष सभासदहरुलाई उनले अनौपचारिक ढंगले भने पनि औपचारिक पोशाक लगाउन बाध्य पार्ने गरी व्यंग्य कस्ने गरेका छन् ।

फेसबुकमा फोटो हाल्ने रहर

आइतबार एकै ड्रेस कोडमा रहेका सत्तारुढ दलका सभासदहरु शीर्ष नेताहरुसँगै बसेर फोटो खिच्दै फेसबुकमा अपलोड गर्न पनि व्यस्त देखिएका थिए ।

यिनैमध्येका एक ओखलढुंगा २ का कांग्रेस सभासद रामहरी खतिवडाले राष्ट्रपति बाहिरिएलगत्तै सभामुख नेम्वाङ, एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेता र सभासदहरुसँगको फोटो अपलोड गरिहाले ।

कांग्रेस र एमालेले औपचारिक समारोहमा सभासदहरुलाई दौरा सुरुवाल तथा सारी, ब्लाउजसहितको ड्रेस कोड पालना गर्न निर्देशन नै दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment