Comments Add Comment
शपथ अध्यादेश :

‘त्यो पर्दैन’ विवादपछि शपथको ढाँचाबाट सरकारले हटायो ‘प्रतिज्ञा गर्छु’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिँदै प्रधानमन्त्री ओली । फाइल फोटो ।

७ जेठ, काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीबाट केपी शर्मा ओलीले लिएको शपथ विवादित बन्यो । शपथमा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ओलीले प्रयोग गरेनन्, राष्ट्रपति भण्डारीले पुनः ‘प्रतिज्ञा गर्छु’ भनेपछि ओलीले ‘त्यो पर्दैन’ भने ।

शपथ ग्रहणको भाषाबाट प्रतिज्ञा शब्द उच्चारण नगरेको भन्दै पुनः सपथ लिनुपर्ने माग पनि उठ्यो । विवादपछि ओली सरकारले हालै ‘सपथ सम्बन्धी अध्यादेश, २०७८’ जारी गर्दै शपथको ढाँचाबाट प्रतिज्ञा भन्ने शब्द नै हटाएको छ ।

अध्यादेशको दफा ३ उपदफा (२) मा सपथ सम्बन्धी ढाँचाको व्यवस्था गरिएको छ । अनुसूचीमा भएको ढाँचामा ‘प्रतिज्ञा गर्दछु’ भन्ने वाक्यांश हटाइएको छ ।

पद तथा गोपनीयताको शपथको ढाँचामा सिधै भनिएको छ, ‘म …. नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक ईश्वरको/देश र जनताको नाममा शपथ लिन्छु कि… ।’ पहिले सत्य निष्ठापूर्वकपछि ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द प्रयोग गर्ने गरिएको थियो ।

अध्यादेशमा ईश्वर वा देश र जनताको नाममा मध्ये एउटा शब्दवाली प्रयोग गर्न सकिने भनिएको छ । तर शपथ ग्रहण गर्नुअघि शपथ गराउने पदाधिकारीलाई त्यसबारे जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।

अध्यादेशमा सपथ लिँदा वा गराउँदा सरकारी कामकाजको नेपाली भाषामा गर्नुपर्ने भनिएको छ । तर सार्वजनिक पद धारण गर्ने व्यक्तिले चाहेमा आफ्नो मातृभाषामा पनि शपथ लिनसक्ने दफा ५ को उपदफा (२) मा व्यवस्था गरिएको छ ।

भनिएको छ, ‘शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैंले प्रमाणित गरी शपथ गराउने पदाधिकारीसमक्ष शपथ लिनु अगावै पेश गर्नुपर्नेछ ।’ शपथ ग्रहण गर्दा सरकारले तोकेको औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने पनि भनिएको छ ।

हेर्नुस् सपथको नयाँ ढाँचा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment