+
+
Shares

ओलीले घर फर्कन गरेको अपिल शब्दजाल र भ्रम : भीम रावल

ओलीकै कारबाहीमा परेर पार्टीबाट निष्कासित भएका रावलले ओलीले अझै आत्मालोचना नगरेको जिकिर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते २१:११

१४ कात्तिक, काठमाडौं । पार्टी छाडेकालाई फर्कन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई भीम रावलले शब्दजाल र भ्रमको संज्ञा दिएका छन् ।

शुक्रबार साँझ ओलीले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेकाहरूलाई एकजुट हुन अपिल गरेका थिए । ओलीकै कारबाहीमा परेर पार्टीबाट निष्कासित भएका रावलले ओलीले अझै आत्मालोचना नगरेको जिकिर गरे ।

‘ओलीले विगतमा भन्दै आएका शब्दजाल र भ्रमका पोकामात्रै तारतम्य मिलाएको देखेँ,’ अनलाइनखबरसँग उनले भने ।

रावलका भनाइ जस्ताको तस्तै:

मैले केपी ओलीजीले लेख्नुभएको कुरा सबै पढेँ । उहाँले गठबन्धन सरकारको नेतृत्व गरेर दुईवटा ठूला दलले हामी सबै शक्तिशाली हुन्छौं, हामी सबै गर्छौं भन्नुभएको थियो । त्यो पूर्ण रुपमा असफल भएपछि, देशको कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका शासनका केन्द्रहरू ध्वस्त भएपछि त्यो दोष अब टाउकोमा आउने भयो भनेर उहाँले त्यसबाट जोगिनका लागि गरेजस्तो आह्वान लाग्यो ।

किनभने यदि उहाँले यहाँ जस्ता शब्दजालहरू ओछ्याउनुभएको छ । त्यो उहाँको हृदयदेखि आएको थियो भने के भन्नुपर्थ्यो भने– मैले विगतमा फलाना फलानालाई कारबाही गरेँ । उषाकिरण तिम्सिना, विन्दा पाण्डे, भीम रावलदेखि उदयपुर, अछाम, कैलालीका सयौं मान्छे छन् । त्यतिबेला जे गरियो अब त्यो कुरा आजैका मितिबाट सम्पूर्ण रुपमा फिर्ता गरेको छु ।

विगतमा जुन एकीकृत समाजवादी बन्यो, त्यो बेलामा दुई जना अध्यक्ष बनाउने भनेर बालकोटमा केही साथीहरू बसेर निर्णय गरेका थियौं । त्यसलाई कार्यान्वयन गरेर पार्टी जोगाउने भनेर हामीले अन्तिमसम्म प्रयास गरेका थियौं । त्यो समेत कार्यान्वयन गरेको भए सायद पार्टीको एकता हुन्थ्यो । ती सम्पूर्ण विगतका निर्णयहरू मैले गलत कुरा फिता लिएको थिएँ । ती गलत कुरा फिर्ता लिएको छु । अब साथीहरूले पनि सोच विचार गर्न आग्रह गर्छु भनेको भए उहाँले त्यो सही विश्लेषण गरेर फर्कनु भनेको भए सही सुनिन सक्थ्यो ।

अब विद्या भण्डारीजीको सदस्यता रोकेकोदेखि सबै कुरा मैले बैठकमा राख्छु, मेरो तर्फबाट आजकै मितिबाट ती सबै निर्णय फिर्ता लिएको छु भनेको भएदेखि साँच्चै भनेको हो कि जस्तो लाग्थ्यो । तर उहाँले जे भाषा बोल्नुभएको छ, आफ्ना गलत क्रियाकलापमाथि ढाकछोप गर्ने, नेकपा एमाले कमजोर भएको हुनाले तलका कार्यकर्तामा भएको निराशालाई पानी छम्कने कोशिस बाहेक मैले त्यो अपिलमा कुनै सार्थक कुरा देखिनँ ।

ओलीले विगतमा भन्दै आएका शब्दजाल र भ्रमका पोकामात्रै तारतम्य मिलाएको देखेँ ।

भित्र मनदेखि भनेको भए त अघि मैले भनेको कुरा हुनुपर्‍यो नि । जो जोलाई मैले कारबाही गरेँ, आजका मितिबाट रद्द गरेँ भन्नुपर्‍यो नि । ती कुरालाई बैठकमा राखेर औपचारिकता दिन्छु भन्नुपर्‍यो नि । यी सबै कुरा आजको स्थितिले स्मरण भयो भन्नुपर्‍यो नि ।

त्यस्ता मुखले भनेको भरमा स्वाधीनता जोगिने भए देशको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका जल्न पर्थ्यो ?

समाजवादीको नेताहरूलाई कसरी खसालेर बोल्नुभएको थियो । कमसेकम उहाँले विद्या भण्डारीको त नाम लिनुपर्‍यो । सदस्यता नवीकरण भएको मान्छेलाई अयोग्य भन्नुभएको छ । उहाँले त्यसबारे केही बोल्नुभएको छैन नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?