Comments Add Comment

बैंक वित्तीय संस्थाको निक्षेप परिचालन घट्यो

Nepali money२३ असोज काठमाडौं । चालू आर्थिक वर्ष २०७१/०७२ को साउन महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन गत वर्षको यसै अवधिको भन्दा ०.६ प्रतिशत अर्थात ७ अर्ब ८७ करोड रुपैयाँले घटेको छ । अघिल्ल्लो वर्षको यसै अवधिमा निक्षेप परिचालन ०.५ प्रतिशत अर्थात ५ अर्ब ४९ करोड रुपैयाँले घटेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार वाषिर्क विन्दुगत आधारमा भने २०७१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १८.३ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा वाणिज्य बैंकहरुको निक्षेप परिचालन ०.१ प्रतिशत र  विकास बैंकहरुको निक्षेप परिचालन २.३ प्रतिशतले घटेको छ ।  वित्त कम्पनीहरुको निक्षेप परिचालन १.५ प्रतिशतले बढेको राष्ट्र बैकले जनाएको छ ।

गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको निक्षेप परिचालन ०.६ प्रतिशतले घटेको थियो भने विकास बैंक र वित्त कम्पनीहरुको निक्षेप परिचालन क्रमशः ०.९ प्रतिशत र १.४ प्रतिशतले बढेको थियो ।

 कर्जा प्रवाह बढ्यो

साउन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा तथा लगानी ०.९ प्रतिशत अर्थात १२ अर्ब २ करोड रुपैयाँले बढेको छ । गत वर्षको यस अवधिमा यस्तो कर्जा तथा लगानी सीमान्तरुपले अर्थात ४८ करोड रुपैयाँले घटेको थियो ।

समीक्षा अवधिमा वाणिज्य बैंक र वित्त कम्पनीहरुको कर्जा तथा लगानी क्रमशः १.५ प्रतिशत र २.० प्रतिशतले बढेकोे छ भने विकास बैंकहरुको कर्जा तथा लगानी १.३ प्रतिशतले घटेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशत ३ अर्ब ५० करोड रुपैयाँले बढेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ०.२ प्रतिशत अर्थात २ अर्ब २४ करोडले घटेको थियो ।

वाषिर्क विन्दुगत आधारमा २०७१ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९.४ प्रतिशतले वृद्धि भएको छ । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंक र वित्त कम्पनीहरुको कर्जा प्रवाह क्रमशः १.१ प्रतिशत र १.६ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ४.५ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ अर्ब ५५ करोड रुपैयाँले बढेको छ । गत वर्षको सोही अवधिमा उक्त क्षेत्रतर्फको कर्जा  ३२ करोडले मात्र बढेको थियो ।

समीक्षा अवधिमा निर्माण क्षेत्रतर्फको कर्जा ८२ करोड रुपैयाँले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको ६८ करोड रुपैयाँले र थोक तथा खुद्रा व्यापारतर्फको कर्जा २ अर्ब ९२ करोड रुपैयाँले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment