१६ माघ, काठमाडौं । मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदारले आन्दोलन रोक्न र दलहरुबीच संवादबाटै सहमति जुटाउन पहल लिने भएका छन् । उनले माघ ८ गते राति आफूले राखेको तीनबुँदे प्रस्तावलाई नै सहमतिको विन्दू बनाउन पहल थालेका छन् ।

तीन दिनसम्म चलेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकमा अध्यक्ष गच्छदारले आफ्नो तीनबुँदे प्रस्तावबारे नेताहरुलाई प्रष्ट पारेपछि अब मुलुकलाई मुठभेडको दिशामा जान नदिन आफूले भूमिका देखाउने बताएका हुन् ।
गच्छदारले यसबीचमा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीसँग लगातार कुराकानी भइरहेको आफ्नो पार्टीको बैठकमा रिपोटिङ गरेका छन् ।
गच्छदार प्रस्तावमा के छ ?
मधेसी मोर्चाका नेता गच्छदारले माघ ८ गते राति दलहरुबीच सहमतिका लागि शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा लगभग सहमति भएको भन्दै मस्यौदा समितिमा पठाउन प्रस्ताव गरेका थिए ।
उनले संघीयताका सवालमा ६ देखि ९ प्रदेशमा एक महिनाभित्र सहमति जुटाउने, प्रदेशको नाम प्रादेशिक सभाले राख्ने गरी टुंगो लगाउने र सीमांकन राजनीतिक तहबाटै बढीमा एक डेढ महिनाभित्र टुंग्याउने प्रस्ताव राखेका थिए ।
त्यसमा कांग्रेस एमाले सहमत भए पनि एमाओवादी नेतृत्वको मोर्चाभित्रै असहमति भएपछि सहमति हुन सकेको थिएन । यसबीचमा एमाले नेता माधव नेपालदेखि संविधानसभा अध्यक्ष सुवास नेम्वाङसम्मले गच्छदारकै प्रस्तावबाट सहमतिको विन्दु भेटिने बताएका थिए ।
पार्टीमा गच्छदारको समर्थन
पार्टीमा गच्छदारको प्रस्तावमा फरक मत राख्दै आएका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवलेसमेत सहमतिका लागि अध्यक्षको प्रस्ताव मिलन विन्दु हुन सक्ने बताए ।
‘हामीले पनि शुरुमा उहाँको प्रस्ताव बुझेका थिएनौं, बैठकबाट क्लियर भयो’ रायले अनलाइनखबरसँग भने ‘त्यसबाट वार्ता गर्न सकिन्छ’ ।
फोरम लोकतान्त्रिकका महासचिव तथा प्रमुख सचेतक रामजनम चौधरीले दलहरुबीच सहमतिका लागि गच्छदारको प्रस्ताव नै उत्कृष्ट रहेको दाबी गरे ।
‘विजय दाइको प्रस्तावलाई राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पनि राम्रो भनेको छ, माधव नेपाल र सभामुखले पनि त्यहीँबाट वार्ता शुरु गरौ भन्नुभएको छ’ चौधरीले भने ‘प्रश्नवाली समितिबाट कांग्रेस एमाले ब्याक हुनासाथ त्यसमै सहमति हुन सक्छ’ ।
मधेसी मोर्चाभित्रकै केही व्यक्तिहरुले यो प्रस्तावमा सहमति हुँदा गच्छदारको हाइट राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा माथि पुग्ने देखेर सो प्रस्तावमा सहमति हुन नदिएको चौधरीले दाबी गरे ।
आन्दोलनमा जाँदा देशले थेग्न नसक्ने र गृहयुद्ध हुने देखिएकाले वार्तामा जोड दिइएको गच्छदारले बताइरहेको चौधरीले जानकारी दिए । ‘अब आन्दोलन हुँदा प्रहरीसँग होइन, राजनीतिक दलसँग र जनता जनताबीच भिडन्त हुन्छ’ चौधरीले भने ‘त्यसले मुलुकलाई गृहयुद्धमा लैजान्छ’ ।
‘सुशील र गच्छदार दाजुभाइ, ओली दोस्त’
चौधरीका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले यसबीचमा गच्छदारसँग चार-पाँच पटक टेलिफोनमा कुरा गरिसकेका छन् । ओलीले पनि गच्छदारसँग कुरा गरिरहेको चौधरीले बताए ।
‘सुशील दाइ र बिजय दाइको सम्बन्ध दाजुभाइको जस्तो छ, बिजय दाइले सुशील दाइलाई दाजुभाइको नाताले चिया खाना आउँछु, तर सहमतिका लागि तपाईले नै वातावरण बनाउनुपर्छ भन्नुभयो’ चौधरीले भने ।
त्यस्तै ओली र गच्छदारको बीचमा पनि पूरानो दोस्ती रहेकाले कुराकानी भइरहेको उनले बताए । ‘उहाँहरु छ/सात वर्ष सँगै जेल बसेकाले राम्रो दोस्ती छ, कुराकानी त नियमित भइरहेको छ’ महासचिव चौधरीले भने ‘उखान टुक्का छाडेर सहमतिको प्रस्तावसहित आउन भन्नुभएको छ’ ।
आफूहरुको नीति कांग्रेस एमालेसँगै बार्तै नगर्ने नरहेको उनले बताए । त्यस्तै एमाओवादीले जसरी संसदीय समितिसमेत बहिस्कार नगर्ने उनले प्रष्ट पारे ।
गच्छदारको मुखबाट कांग्रेस- एमालेको प्रस्ताव
उता मधेसी मोर्चाकै नेता उपेन्द्र यादवले भने गच्छदारले अगाडि सारेको प्रस्तावलाई गच्छदारको मुखबाट आएको कांग्रेस एमालेको प्रस्तावको संज्ञा दिएका छन् ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष यादवले अनलाइनखबरसँगको अन्तरवार्तामा गच्छदारको प्रस्तावलाई मधेसी मोर्चा र प्रचण्ड नेतृत्वको गठबन्धनले अस्वीकार गरिसकेको बताएका छन् ।
प्रतिक्रिया 4