Comments Add Comment

‘निजी विद्यालयबाट गुणस्तरीय शिक्षालाई योगदान पुगेको छैन’

७ वैशाख, काठमाडौं । शिक्षासम्बन्धी एसिया प्रशान्त क्षेत्रमा कार्यरत नागरिक सञ्जालले सामुदायिक विद्यालयमा लगानी बढाउन सरकारलाई सुझाव दिएको छ ।

Students-from-Banke

‘शिक्षामा सार्वजनिक निजी साझेदारी’सम्बन्धी छलफल कार्यक्रमका लागि नेपाल आएका ‘एसिया-साउथ प्यासिफिक एसोसिएसन फर बेसिक एन्ड एडल्ट एजुकेसन’ (आस्प्बे) का विशेषज्ञ रेने रायले यस्तो सुझाव दिएका हुन् ।

‘अन्तराष्ट्रिय अध्ययन र अनुभवले शिक्षामा निजीकरण र व्यापारीकरण हुनु हुँदैन,’ राजधानीमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यस्तो कुनै प्रमाण छैन जहाँ निजी विद्यालयको सिर्जनशीलताका कारण गुणस्तरीय शिक्षालाई योगदान पुगेको होस् ।’

शिक्षाको पहुँचमा आउन बाँकी रहेका र गुणस्तरीय शिक्षा अपनाएकालाई सेवा गर्ने काम सामुदायिक विद्यालयको भएको उनले उल्लेख गरे ।

‘सार्वजनिक निजी साझेदारी असफल’

उनले शिक्षामा सार्वजनिक निजी साझेदारीको अवधारणा पनि असफल सिद्ध भइसकेको बताए । चिली र फिलिपिन्समा लागू गरिएको शिक्षामा सार्वजनिक निजी साझेदारीले शिक्षामा थप असमानता निम्त्याएको उदाहरण प्रस्तुत गर्दै रायले नेपालले यसलाई पछ्याउने या के गर्ने भन्नेमा बहस हुनुपर्नेमा जोड दिए ।

रेने रायसहितको टोलीले आगामी महिना दक्षिण कोरियामा हुने शिक्षासम्बन्धी विश्व सम्मेलनका लागि नेपाल सरकारकातर्फबाट भइरहेको तयारीबारे आइतबार शिक्षा मन्त्रालयका निमित्त सचिव डा. लवदेव अवस्थीलाई भेटी चासो व्यक्त गरेको थियो ।

सो टोलीले सामुदायिक विद्यालयमाथिको लगानी बढाउन सरकारलाई सुझाव दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment