Comments Add Comment

भूकम्प पीडितलाई भेट्न प्रचण्ड कीर्तिपुरमा

१८ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार काठमाडौं कीर्तिपुरका भूकम्प प्रभावित क्षेत्र अवलोकन गरेका छन् । प्रचण्डसँगै नेताहरु डा. बाबुराम भट्टराई, जनार्दन शर्मा प्रभाकर र दिलीप महर्जन थिए ।

Prachand-at-Kirtipur

शुक्रबार विहान लाजिम्पाटस्थित निवासबाट कीर्तिपुर गएका प्रचण्डले वडा नम्बर १४ र १५ का बासिन्दाहरुलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएका थिए ।

पीडितहरुले सरकारको तर्फबाट राहत लिएर आजसम्म कोही नआएको भन्दै राहत तथा पुनःस्थापनाको व्यवस्था गरिदिन प्रचण्डलाई आग्रह गरेका थिए । व्यक्तिगत पहलमा र केही सामाजिक संस्थाहरुले खाने व्यवस्था मिलाइदिए पनि अहिले त्यो पनि सकिएको स्थानीयले गुनासो गरेका थिए ।

प्रचण्डले आफूहरुले उद्धार, राहत र पुनःस्थापनाको लागि पहल गरिरहेको बताएका थिए । ‘मैले प्रधानमन्त्री, गृहमन्त्री र सर्बदलीय बैठकमा पनि पीडितहरुलाई पर्याप्त राहत तथा पुनःस्थापनाको व्यवस्था गर्न भनेको छु, हाम्रै पार्टीका नेता-कार्यकर्ताहरु पनि प्रभावित क्षेत्रमा परिचालन हुनु भएको छ,’ प्रचण्डले भनेका थिए ।Prachand-Kirtipur

भूकम्प पीडितहरुका लागि एमाओवादीले ३० लाख रुपैयाँ दैवि प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिसकेको जानकारी उनले गराएका थिए । देशभरका नेपालीहरु अहिले अत्यन्त पीडामा रहेको भन्दै प्रचण्डले धैर्य गर्न आग्रह गरेका थिए ।

घाइतेलाई पनि भेट्ने

प्रचण्डले शुक्रबारै बिभिन्न अस्पतालमा उपचाररत घाइतेहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । प्रचण्डले शुक्रबार टिचिङ अस्पताल, केएमसी अस्पताल र जनमैत्री अस्पतालमा पुगेर घाइतेहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

तस्वीर : प्रचण्डको निजी सचिवालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment