Comments Add Comment

भूकम्पपछिको सम्भावित महामारीबाट कसरी बच्ने ?

नारायण पराजुली/ सुन्दर खड्का (त्रि.वि शिक्षण अस्पताल, काठमाडौ)
जाजरकोटको महामारीलाई औझेल पार्दै, नयाँ वर्षको सुरुवातसँगै बैशाख १२ गते नेपालमा महाभूकम्प गयो, त्यसले गर्दा देशले ठूलो धनजनको क्षति ब्यहोर्नु पर्यो । जसमा परी करीव अाठ हजारले ज्यान गुमाएका छन् भने हजारौं घाइते भएका छन् । यसैगरी करिव पाँच वर्ष अगाडी हाइटीमा पनि महाभूकम्प गएको थियो, जसले गर्दा थुप्रै धनजनको सर्वनाश भएको थियो ।

नारायण पराजुली/ सुन्दर खड्का
नारायण पराजुली/ सुन्दर खड्का

साथै महाभूकम्पपछि महामारी फैलियो र जसमा परी करिव नाै हजारले ज्यान गुमाउँदा समेत, अहिलेसम्म त्यहाँको महामारी नियन्त्रणमा आउन सकेको छैन । त्यतिबेला विज्ञहरुको दावीअनुसार , संयुक्त राष्ट्रसंघमा कार्यरत नेपाली सैनिकहरुबाट महामारी फैलिएको ठहर गरका थिए । नेपाली सैनिक क्याम्पबाट निस्किएको ढल आर्टिवौनाईड नदी मिसिएको र सोही फोहोरबाट फैलिएको विज्ञहरुको दाबी थियो तर हाल आएर त्यो दावी सत्य हुन सकेन । किनकि हालका अनुसन्धानहरुले त्यस्तो प्रकारको हैंजाको महामारी फैलने जीवाणु, नेपालमा पाइनै जीवाणुको वंशानुगत गुणसँग अमिल्दो रहेको प्रमाणित गरिसकेको छ ।

अप्रत्याशित एवम असामयिक रुपमा आइपर्ने प्राकृतिक विपती (जस्तै भूकम्प र वाढी पहिरो) ले तत्कालीन रुपमा भौतिक र मानवीय क्षति मात्र गराउँदैन, बरु अन्य समस्याहरु जस्तै महामारी, आदिलाई समेत निम्त्याउँछन् । त्यस्ता प्रकोप पश्चात प्रभावित क्षेत्रका वासिन्दाहरुमा विशेष गरेर सरुवा रोगहरुको उत्पति भई त्यसले महामारीको रुप लिन सक्छ । भत्केका संरचनामा पुरिएका र यत्रतत्र छरिएका मृत शरीर एवम् जनावरहरुको तत्काल सही व्यवस्थापन नभएमा तिनीहरुबाट महामारीको सुरुवात हुन सक्छ । त्यसमा पनि प्रभावित क्षेत्रका मानिसहरुको भिडभाड, सामुहिक बसोबास, प्रत्यक्ष संम्पर्क आदि कृयाकलापहरु संक्रमण फैलाउन सहयोगी वन्न सक्छन् ।

भूकम्प प्राकृतिक प्रक्रिया हो । यसलाई नियन्त्रण गर्न नसके पनि क्षती न्युन गर्न सकिन्छ । तर, भूकम्पपछि फैलने महामारी भनेको पूर्णरुपमा नियन्त्रण गर्न सकिने प्रक्रिया हो । जसरी हाइटीमा भूकम्पपछि पनि महामारीलै हजारौं जनताले ज्यान गुमाएका थिए । त्यही कथा नेपालमा पनि नदोहोरिएला  भन्न सकिन्न । हो, त्यसका लागि हामीले बेलैमा ध्यान पुर्याउन नसके,  भोलि गएर पछुताउनुको कुनै अर्थ हुँदैन । विश्वलाई चुनौती दिँदै एकपछि, अर्को गर्दै सरुवा रोगको महामारी फैलँदो अवस्थामा छ । इवोलाले पनि संसारै हल्लायो । हाम्रो जस्तो मुलुकमा वर्षैनी हजारौं जनताले महामारीको कारण ज्यान गुमाइरहेका छन । देशको स्वास्थ्य स्थितिको अवस्था हेर्दा सरुवा रोगजन्य महामारीसँग जुध्न सक्ने त्यस्तो कुनै तयारी देखिँदैन । त्यसैले भूकम्पपछि हुन सक्ने सम्भावित महामारीको नियन्त्रणका लागि तत्काल पूर्व तयारीको खाँचो छ ।

कुनै पनि प्रकृतिक प्रकोप पश्चात उत्पन्न हुने सरुवा रोगहरुले महामारीको रुप लिन सक्ने अवस्था भनेको सामान्यत विस्थापित/प्रभावित हुने जनसंख्याको आकार र यसको प्रकारमा बढी भर पर्दछ । विशेष गरेर रोगी, बुढाबुढी, बच्चाबच्ची, सुत्केरी र गर्भवती महिलाहरु यस्तो संक्रमणहरुवाट छिटो प्रभावित हुन सक्छन् । स्वच्छ पिउने पानी, सुरिक्षित एवम सुलभ शैचालय पौष्टिक एवम सफा भोजन, खोपको अवस्था (दादुरा, टाइफाइड, हेपाटाइटिस) र उक्त क्षेत्रमा विद्यमान स्वास्थ्य उपचारको सुलभता जस्ता कुराहरु महामारीजन्य रोगहरु फैलनुमा बढी जिम्मेवार हुन्छन् ।

विकासोन्मुख देश , कमजोर आर्थिक अवस्था, न्युन पौष्टिक आहारको प्रवन्ध र असुरक्षित बसोबासले गर्दा हाम्रो जस्तो देशमा त्यस्ता रोगहरुले बढी प्रभाव देखाउँछन्।

वास्तवमा, प्राकृतिक प्रकोप जस्तै भूकम्प र बाढी पहिरो प्रभावित कतिपय देशहरुमा प्राकृतिक विपत्तिभन्दा सरुवा रोगले महामारीको रुप लिदाँ धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको कुरा सञ्चार माध्यममा सुनी आएको छ । त्यस्ता मानव सिर्जित महामारीहरुवाट थप क्षति हुनबाट जोगिन सकिएमा ठूलो विपत्तीमा पनि मानवीय असरहरु कम हुन सक्छन् ।

विकसित देशहरुमा त्यस्ता संक्रामक महामारीहरुबाट कमै मात्र मानिसहरुले ज्यान गुमाउँछन् । किनकि त्यहाँको स्वास्थ्य प्रणाली एवम उपचार अत्यन्तै प्रभावकारी र चुस्त हुन्छ । हाम्रोजस्तो देशमा विपत्तीको समयमा स्वास्थ्य संस्थासम्म पुग्नसमेत अत्यन्त कठिन हुने हुँदा यस्ता रोगहरुबाट धेरै मानिस प्रभावित हुन सक्छन्, यसतर्फ बेलैमा सचेत हुन अत्यन्त जरुरी छ । त्यस्ता प्रकोपहरुका केही कारणहरु र संक्रामक रोगहरुका बारेमा यहाँ उल्लेख गर्न खोजिएको छ ।

कारणहरु

१. सफा पिउने पानी र सुलभ शौचालयको व्यवस्था :

यदि प्राकृतिक विपतीले प्रभावित क्षेत्रको पानी वितरण प्रणली र ढल निकासमा असर गरेमा पिउने पानी फोहोर एवम दिशा पिसाबबाट दुषित हुन सक्छ, जसले झाडा पखाला, आउँ, हेपाटाइटिस ‘ए’ र हेपाटाइटिस ‘ई’ जस्ता सरुवा रोगहरु जन्माउन सक्छन् ।

प्रभावित मानिसहरुलाई सफा र सुरक्षीत पानी उपलव्ध गराउनु एउटा महत्वपूर्ण पूर्वव्यवस्थापन हुन सक्छ ।

२. भिडभाडयुक्त बसोबास :

कतिपय अवस्थामा प्राकृतिक प्रकोपले मानिसहरुको बसोबास ध्वस्त बनाइदिन्छ जसले गर्दा धेरै मानिसहरु सुरक्षीत आवासका लागि भिडयुक्त शिबिरमा बस्नुपर्ने हुन्छ । खाना, पानी र स्वास प्रश्वासको माध्यमबाट शिविरमा बसेका मानिसहरुमा विभिन्नखाले संक्रामक रोगहरु छिट्टै फैलन सक्छन् ।

३. खोपको अवस्था र प्रतिरक्षा शक्ति :

सन १९९१ को फिलिपिन्सको ज्वालामुखी एवम २००५ को पाकिस्तानको भूकम्प पश्चात आएको बाढी र महामारीले ठूलो क्षती भएको हामीलाई थाहा छ । खोपबाट बच्न सकिने रोगहरुको विरुद्ध प्रभावित क्षेत्रका वासिन्दालाई बचाउन सकिन्छ । अर्का तर्फ बुढाबुढी, बच्चा, गर्भवती एवम सुत्केरी र दीर्घरोगीहरु यस्ता संक्रमणहरुबाट बढी जोखिममा पर्दछन् ।

४.कुपोषण र पौष्टिक आहारको प्रवन्ध :

हप्तौँ र महिनौंसम्म पौष्टिक आहार खान नपाएका मानिसहरुलाई संक्रामक रोगले आक्रमण गर्ने संभावना बढी हुन्छ । गरीवी, कुपोषण र भोकमरीले त्यस्ता प्रकोप पश्चात हजारौंको अकालमा ज्यान लिएका उदाहरण प्रशस्तै छन् । तसर्थ उचित पौष्टिक आहारको प्रवन्ध गरेमा त्यस्ता रोगहरुलाई निस्प्रभावी बनाउन सकिन्छ । सामान्य रुपमा प्रभावित क्षेत्रका बासिन्दाहरुलाई स्वच्छ र गुणस्तरीय खाने कुराको व्यवस्था गरिएमा प्रकोप न्युनिकरण र पुनस्थापनामा मद्दत मिल्न सक्छ ।

प्राकृतिक प्रकोप पश्चात उत्पन्न हुनसक्ने संक्रामक रोगहरु :

भनिन्छ, प्रकृतिक प्रकोपजस्तै भूकम्प, बाढी पहिरो, ज्वालामुखी आदिले सिधै मानिसको ज्यान लिँदैनन् बरु मानवनिर्मित संरचनालाई ध्वस्त बनाउँछ । मानिसको क्षति भनेको यिनै संरचनामा पुरिएर बगाएर र चोटपटक लागेर हुने हो । यसमा पनि त्यस्ता प्रकोप पश्चात उत्पन्न हुने अनेक संक्रमणहरुबाट मानिसहरुले ज्यान गुमाउन पुग्दछन् । तसर्थ केही त्यस्ता संक्रमणहरुलाई यहाँ उल्लेख गर्न खोजिएको छ ।

 १. पानीबाट सर्ने संक्रामक रोगहरु

पानी सर्वाधिक आवश्यक र नभै नहुने चिज हो । त्यस्मा पनि सफा पिउने पानीको व्यवस्था नभएमा यसवाट धेरै रोगहरु सर्ने संभावना हुन्छ ।

भूकम्प वा यस्तै प्राकृतिक विपत्ती पश्चात प्रभावित मानिसहरुले जथाभावी फोहोर पानी सेवनगर्नुपर्ने अवस्थाआउन सक्छ । हैजा यस्तो प्रकारको सरुवा रोग हो जुन अत्यन्त कम समयमा अत्यन्त खतरनाक रुपमा विकासभै व्यक्तिको ज्यान लिन सक्छ । यसले शरीरमा पानी, लवण र पौष्टिक तत्वको कमी ल्याउनुको साथै मानिसलाई कोमा वा मृत्यूसम्म पुर्याउन सक्छ । सामुहिक रुपमा बस्दा वा एउटै स्रोतबाट दुषित पानी पिउँदा रोग एकैपटक धेरै व्यक्तिमा सर्छ।

 टाइफाइड

यो एक प्रकारको दुषित पानी र खानामा पाईने जिवाणुको कारणले सर्ने सरुवा रोग हो । संक्रमित व्यक्तिको दिशापिसाव पानीवितरण प्रणालीमा मिसिएमा यसले एकै पटक धेरै व्यक्तिलाई असर पुर्याँउछ । यो रोग लागेमा विरामीले लगातार उच्च ज्वरो, कमजोरी, टाउको  दुखाइ र खान मन नलाग्ने र कसैलाई झाडापखाला समेत देखिन्छ। यो रोग लागेमा तत्काल औषधिउपचार गर्नुपर्ने हुन्छ नत्र यसले ज्यान समेत लिन सक्छ ।

आउँ

दुषित पानीको सेवनवाट लाग्ने अर्को रोग हो, आउँ । रगत मिसिएको पातलो चिप्लो दिशा आउने र संक्रमित मान्छेमा पानी र लवणको मात्रा कमहुने हुँदा यसले पनि खतरनाक रुप लिन सक्छ । यो रोग लागेमा विशेष गरेर संक्रमित व्यक्तिमा उच्चज्वरो , पेट दुखाई , तारन्तार झाडापखाला ,अपच एवम खान मन नलाग्ने वान्ता र टाउको दुखाइ जस्ता लक्षण देखिन्छन्।

 हेपाटाईटिस ए र ई

उचित सरसफाईको अभावमा अस्वस्थकर पानी र खानाको कारणले प्रभावित व्यक्तिहरुमा हेपाटाईटिसको संक्रमण फैलने उच्च संभावना हुन्छ । भाइरल रोग भएको हुनाले यस्मा तत्कालिन रुपमा एन्टिवायोटिक उपचार गर्न मिल्दैन तर संक्रमित व्यक्तिहरुलाई प्रसस्त झोल पदार्थ,आराम र पौष्टिक आहारको व्यवस्था गरेमा संक्रमणले थप हानी पुयाउन पाउँदैन ।

वालान्टीडायसिस

यो पनि दुषित पानीवाट सर्ने परजिवीजन्य संक्रमण हो । यो विशेष गरेर सुंगुर पालन गरिएका क्षेत्रका व्यक्तिहरुमा र त्यसको संसर्गमा वस्ने मानिसहरुमा पाइन्छ । प्राकृतिक प्रकोपको समयमा जनावरहरुवाट निस्कने दिशा पिसाब पानीमा मिसिन गई यो रोग फैलन सक्छ । यसमा तारन्तार लामो समयसम्म झाडा आइरहने, तौल घट्दै जाने, दुर्गन्धित स्वास, पेट दुखाइ र ज्वरो जस्ता लक्षणहरु  देखिन सक्छन् ।

लेपटोस्पाइरोसिस

जनावरहरुको पिसावमा पाइने जिवाणु (लेपटोस्पाइरा) खानेपानीको स्रोतमा मिसिएमा यो रोग लाग्न सक्छ । यसमा उच्च ज्वरो, अत्यधीक टाउको दुखाइ, वान्ता जण्डीस, झाडापखाला जस्ता लक्षण देखिन्छन । यदि समयमै उपचार नपाएमा संक्रमितको मृगौला खराव हुने मेनेन्जाइटिस, कलेजो समस्या र श्वास प्रश्वास सम्वन्धी समस्या देखा पर्न सक्छन् ।

 २. जनावर , लामखुट्टे एवम् अन्य परजीवीको टोकाइ

प्राकृतिक विपत्तीमा मानिसहरुको वासस्थान अशुरक्षित हुन्छ। त्यस्ता स्थानमा बसोबास गर्दा त्यहा पाइने लामखुट्टे, भुसुना आदि परजीवीको टोकाइले विभिन्न संक्रमणहरु फैलन सक्छन् । विशालु सर्प एवम खतरनाक किरा फट्यांग्राको टोकाइबाट समेत कतिपय अवस्थामा मानिसले ज्यान गुमाउन पुग्छन् ।

अर्का तर्फ भुस्याहा कुकुर, मुसा आदिको टोकाइबाट समेत रेबिज,प्लेग आदि अत्यन्तै खतरनाक रोगहरु सर्ने सम्भावना हुन्छ । मलेरिया, डेंगु, चिकनगुनिया आदि संक्रमणहरु पनि सर्न सक्छन् ।

 ३. श्वास प्रश्वास सम्वन्धि रोगहरु

सामुहिक रुपमा वसोवास गर्दा प्रभावित व्यक्तिहरुमा श्वास प्रश्वास सम्वन्धी रोग अत्याधिक चाँडो फैलन्छन् । हावाको माध्यमवाट फैलने ईन्फ्लुएन्जा, भाईरल, निमोनिया, व्याक्टेरीयल निमोनिया, टि.वी. आदिवाट ठूलो समुदाय एकै समयमा संक्रमित हुनसक्छ । यसमा पनि स्वाईन फ्लु र भाइरल निमोनियाले मानिसलाई तत्कालै असर गर्ने हुदाँ यसबाट जोगिन अत्यन्तै कठिन हुन्छ । रुघा खोकी, ज्वरो, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने छाती दुख्ने र कमजोर महसुस हुने यस्ता रोगहरुका प्रमुख लक्षणहरु हुन् । समयमै  उचित उपचार र स्याहार नपाएमा यस्ता रोगहरुले हजारौको ज्यान लिन सक्छ  ।

सम्भावित महामारीबाट बच्ने उपायहरु :

· भूकम्प पश्चात अस्थायी शिविरमा वस्ने सबैले आफु बसेको ठाउँ वरिपरि सरसफाइ राख्ने,

·   खानेपानीको प्रयोग शुद्धिकरण गरेर मात्र पिउने , जस्तै उमालेर वा पियुसको प्रयोग गर्ने ।

·  हरियो सागपात, सलादका परिकारहरु जस्तै मुला, गाजँर वा काक्रोलाई राम्रोसँग सफा पानीले पखालेर मात्र खाने  र

·  शिविरमा अस्थायी शौचालयको व्यवस्था गरी, शौचालयमा मात्र दिशा, पिसा गर्ने  तथा आफ्ना साना साना वालवालिकालाई पनि गर्न लगाउनै

·  हावावाट फैलने रोगहरु जस्तै टि.वी, मौसमी फ्लुहरुवाट वच्न सधै मास्कको प्रयोग गर्ने  । सम्भव भए सम्म एन९५ मास्कको प्रयोग गर्ने, जस्ले ईन्फ्लुन्जा, ईवोला, स्वाईनफ्लु जस्ता रोगहरुवाटबाट बच्न सकिन्छ  ।

·  खाना खानु अघि, खाना बनाउनु अघि र दिशा पिसाब गिरिसकेपछि साबुन पानीले राम्रोसँग हात धुने तथा वालवालिकालाई पनि धुन लगाउने ।

·   सडेगलेका वासी तथा झिंगा भन्केका खानेकुराहरु नखाने, सम्भव भएसम्म आफ्नै घरमा वनाएर खाने । वाहिरको खाना सकभर प्रयोग नगर्ने। साथै राहतको रुपमा आएको खाद्यपदार्थमा केही खरावी देखिएमा नजिकको प्रहरी केन्दमा वा सरकारी निकायमा खवर गर्ने ,

·   हावाबाट सर्ने रोगहरुको प्रकोप भीडभाडमा बढी हुने भएकाले भीडभाडमा नबस्ने र बस्न परेमा कम्तिमा १ मिटर टाढा रहने साथै शिष्टाचार पनि हात मिलाउनुको सट्टा नमस्तेको प्रयोग पनि गर्न सकिन्छ ।

·  वाहकबाट सर्ने रोगहरु (मलेरिया, औलो ज्वरो) जुनचाँही लामखुट्टेले फैलाउने गर्दछ, यसबाट बच्न झुल तथा धूपको प्रयोग गर्ने र साथै वरपर रहेका खाडलहरु पुरिदिने, सफा राख्ने ।

· आफ्नो वरपर रहेका ठाँउमा लास तथा चौपायहरुको अवशेषले दुर्घन्ध फैलाएको छ भने, त्यस ठाउमा किटनासक औषधी (ब्लीचिङ्ग पाउडर) आदि छर्कि दिने ,

· जनचेतना फैलाउने ।

त्यसैले महामारीको एक मात्र उत्तम उपाय भनेको पुर्व तयारी नै हो । त्यसैले समवन्धित निकायले माथि उल्लेखित विषयमा गम्भिरताका साथ ध्यान दिए नेपालमा हाईटीको अवस्था आउने छैन । साथै सम्भावित महामारीको लागि नेपाल सरकार पनि यस विषयमा तयारी अवस्थामा रहन आवस्यक छ । त्यसको लागि सरकारले चिकित्सकीय दक्ष जनशक्ति, आधुनिक प्रयोगशाला र औषधीको व्यवस्था तत्काल गर्नु पर्छ ।

काठमाडौमा भन्दा वाहिरका जिल्लाहरु सिन्धुपाल्चोक, गोरखा, रसुवा, आदि ठाउँमा सुविधा सम्पन्न प्रयोगशाला नभए पनि कम्तीमा त्यहाको विरामीको जाँच गरी काठमाडौ रिफर गर्नै व्यवस्था गर्नु पर्छ । त्यसैलै सबैले वेलैमा ध्यान दिनसके महामारीवाट बच्न सकिन्छ । तत्कालको दुखद घडीमा शोकलाई शक्तिमा बदल्दै महामारीसँग जुध्न पनि अवको चुनौती देखिन्छ । के यसका लागि हामी तयार छौं ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment