Comments Add Comment

रंगमा घुलिएको जीवनको उमंगः जोगिरा सररर..

संसार रंगीन छ । रंगहरुमा खुसी छन् । जब आकासबाट नुहेको सप्तरंगी इन्द्रेणी देख्छौं, हामी यसै रोमाञ्चित हुन्छौं । जब हावामा लहराई रहेका रंगबिरंगी फूलहरु देख्छौं, हामी यसै उद्वेलित हुन्छौं ।

रंगले जीवनमा उमंग ल्याउँछ । रंग नै नहुँदो हो त जीवन श्यामश्वेत हुन्थे ।

त्यसो त हरेक चाडपर्वले जीवनका लागि केही अर्थ बोकेको हुन्छ । केही खुसी बोकेको हुन्छ । केही सद्भाव बोकेको हुन्छ । केही उमंग बोकेको हुन्छ । केही उत्साह बोकेको हुन्छ । यस्तै खुसी, उमंग, सद्भावलाई संगालेर हामी समाजसँग एकाकार हुन्छौं । जीवनप्रति मोहित हुन्छौं । सृष्टिसँग कृतज्ञ हुन्छौं ।

होली, आफैमा यस्तो पर्व जसले उत्साहको रंग फिँजाएको छ । यतिबेला हामी होली मनाउँदैछौं । अर्थात रंगहरुको उत्सव मनाउँदैछौं । यी रंगहरुले हाम्रा दुःख, पीडा, उदासी, भयबाट क्षणभरकै लागि भएपनि मुक्त गराउँछ । र, जीवनको सार्थकता खेज्न संकेत गर्छ ।

जन्मने हरेक मान्छेसँग अझ भनौं प्राणीसँग दुःख छ । कष्ट छ । पीर र व्यथा छ । तर, यी पीर व्यथा गुम्साएर जीवनलाई उदास एवं निरास बनाउनुको कुनै अर्थ छैन । बरु जीवनप्रति आशावादी हुनुपर्छ । जीवनप्रति उत्साहित हुनुपर्छ । जीवनलाई सप्तरंगी बनाउनुपर्छ । होलीले दिने सन्देश यही हो ।

रंग एक रचना

एउटा श्यामश्वेत क्यानभासमा जब रंगहरु पोतिन्छ, त्यो मोहक र अर्थपूर्ण बन्छ । जीवनको क्यानभासमा पनि रंगहरु पोतिनुपर्छ । रंग आफैमा प्रकृतिको अनुपम रचना हो । रंग नै नहुँदो हो त संसार कति उराठलाग्दो हुन्थ्यो होला ?

सूर्यको किरण नै रंगको स्रोत हो । सूर्यको ज्योतिमा बिभिन्न सात रंग प्रकट हुन्छ, बैजनी, निलो, हरियो, आकासे, पहेंलो, रातो र सुन्तले । हाम्रा ऋषिमुनीहरुले सूर्यको किरणबाटै रंगहरु प्रकट हुन्छ भन्ने तथ्य बोध गरेका थिए । त्यही अनुसार चिकित्सा पद्दतीको विकास गरेका थिए ।

प्रकृतिको रंग

रुख बुट्यानले पालुवा फेर्दैछ । रंगविरंगी फूलहरुले प्रकृतिलाई हराभरा बनाउँदैछ । वायुमण्डलमा वसन्ती हावा चल्न थालेको छ ।

होलीसँगै बसन्त ऋतुको आगमान हुन्छ । यो ऋतुहरुको राजा पनि हो । हिन्दु पंचाङका अनुसार ऋतुहरुलाई ६ भागमा विभाजनग गरिएको छ ।

वसन्त ऋतु शिशिर र गृष्म ऋतुको चिमा आउँछ । यो सबैभन्दा मनमोहक ऋतु हो । यसलाई बहार वा यौनावस्था पनि भन्ने गरिन्छ । मौसमको हिसाबले, पर्यावरणको हिसाबले, प्रकृतिको हिसाबले सबैभन्दा मोहक ऋतु हो यो ।

हामीकहाँ होली पर्वको सुरुवात सांकेतिक रुपमा योनी र लिंग जुधाएर पनि गरिन्छ । यसले हाम्रो यौन समागमको बेला आएको पनि संकेत गर्छ ।

भक्तपुरमा जगतप्रकाश मल्लको समयमा वनेको दत्तात्रय मन्दिरसंगै रहेको भैरब मन्दिरमा लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । यसलाई भिमसेनको लिंग र कपडावाट वनेको प्वाललाई द्रौपतीको योनीको रुपमा चित्रण गरिन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका बिजय गरेसँगै होलीको परम्परा सुरु भएको मानिन्छ । खासगरी नेवार समुदायले बसन्तपुर दरबार अगाडि रंगबिरंगी कपडा झुन्ड्याएर बनाइएको तीन छत्रे चीर गाडेपछि विधिवत् होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीमा गाडिने तीर पूणिर्माको रात ढालेर टुँडीखेलमा पोलिएपछि होली समाप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment