Comments Add Comment

नेपाली युवतीलाई अफ्रिका र खाडी पुर्‍याएर बेच्ने गिरोहका तीन पक्राउ

Human Trafficking

१८ जेठ, काठमाडौं । नेपाली युवतीहरुलाई अफ्रिका तथा खाडी मुलुकहरुमा पुर्‍याएर बेचविखन गर्ने गिरोहको लोकल एजेन्ट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले बाराका सुरेन्द्रबहादुर बस्नेत र धरमपुर ८ का बादल भन्ने सुनिल मगरलाई पक्राउ गरेको हो । सीआईबीले चलाएको ‘अपरेशन इगल’मा एक भारतीयसहित आठ जना यसअघि पक्राउ गरेका थिए ।
सीआईबीका अनुसार बादल विदेश जान इच्छुक केटी पहिचान गर्ने काम गर्थे । खासगरी डान्सबारहरुमा कार्यरत केटीहरुलाई विभिन्न प्रलोभन देखाउने र विदेश जान प्रेरित गर्ने उनको काम भएको खुलेको छ ।

यसका लागि उनले एक जनाको १० हजारसम्म कमिसन पाउने गरेका छन् । उनले युवती पहिचान गरेपछि सुरेन्द्रको सम्पर्कमा पुर्‍याउने गरेका थिए । सुरेन्द्रले ५० हजारदेखि १ लाखसम्म कमिसन लिएर गिरोहको सम्पर्कमा पुर्‍याउँथे । उनी काठमाडौंका साथै दिल्लीमा समेत सक्रिय थिए ।

नेपाली युवतीलाई अफ्रिका र खाडी मुलुकमा पुर्‍याएर बिक्री गर्ने गिरोहमा राजेन्द्र सुवेदी खत्री, सविन भन्ने सविनराज मानन्धर, भारतीय नागरिक रियाद भन्ने तरुण रोजना खनगवाल, ललितराज सिंह सुवाल, सुनिल अधिकारी, आशिष भन्ने केदारबहादुर खड्का र नविन दहाल थिए । उनीहरु गत फागुनमा समातिए । भोजपुरको बसन्तपुर गाविस २ का ३० वर्षीय राजेन्द्र खड्का गत वैशाखमा पक्राउ गरे ।

७ जना पुर्पक्षका लागि थुनामा छन् भने नविन १ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । उनीहरुविरुद्ध मानव तस्करी र संगठित अपराधमा मुद्दा चलिरहेको छ ।

उनीहरुले युवतीलाई सुरुमा १ लाख रुपैयाँसम्म एडभान्स दिने गरेको पाइएको छ ।

सीआईबीका प्रहरी उपरीक्षक किरण बज्राचार्यले भने-‘युवतीहरुलाई जालमा पारेपछि उनीहरुले पासपोर्ट बनाउन र मेकअप लगायतका खर्चका लागि एक लाख रुपैयाँसम्म दिने गरेको पाइएको छ ।’ साथै फाटो खिचेर विदेश पठाउने र बोली लगाउने काम उनीहरुले गर्छन् ।

नेपाली युवतीहरुलाई रेष्टुँराहरुमा स्वीपर, रिसेप्सन लगायतका कामको भिसा लगाएर पठाउने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तर, तोकिएको देश पुगेपछि उनीहरुलाई एजेन्टले रिसिभ गरेर रेष्टुँरामा पुर्‍याउने र १८ घन्टासम्म काम लगाउने गरेको पाइएको छ ।

डान्सबारहरुमा नाच्नेदेखि यौन शोषण गराउने र तलब समेत नदिने गरेको पाइएको छ । बज्राचार्यले भने, ‘एक जना केटीमाथि ५ देखि ७ लाख रुपैयाँ खर्च गरिसकेको हुन्छ । खान बस्न मात्र दिने गरेको पाइएको छ ।’

सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

यसैबीच सीआईबीको अनुसन्धानका क्रममा पक्राउ परेका ८ जनालाई तान्जनिया, केन्या लगायतका मुलुकबाट करोडौं रकम आएको देखिएको छ ।

सविनको नाममा ४४ लाख, उनकी पत्नी पूजाको नाममा ७२ लाख, सुनिलको नाममा ७१ लाख, उनकी पत्नी रोजिनाको नाममा १७ लाख रुपैयाँ आएको छ । यस्तै राजेन्द्रको नाममा ३६ लाख, उनकी पत्नी सानुको नाममा ७ लाख, ललितको नाममा ३२ लाख, उनकी श्रीमतीको नाममा १२ लाख, नविनको नाममा ७१ लाख, रिजनको नाममा १९ लाख र केदारको नाममा ८ लाख बढी रकम विभिन्न मनी ट्रान्सफरबाट आएको देखिएको छ ।

उक्त रकम आपराधिक कार्यबाट आर्जन गरेको हुनसक्ने देखिएकाले छाननिका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सिफारिस गरिएको छ । प्रहरीका अनुसार पक्राउ परेका अभियुक्त र उनीहरुको परिवारका नाममा ३ करोड बढी रकम आएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment