Comments Add Comment

सैनिक ब्यारेकमा राष्ट्रपतिलाई कांग्रेस सभापतिको प्रश्न-यही हो लोकतन्त्र ?

Rambaran-yadav

२९ जेठ, रामेछाप । राष्ट्रपति डा. रामवरण यादवले देश गम्भिर विपत्तीमा परेकाले सबैले मिलेर काम गर्नुपर्ने बेला आएको बताएका छन् । सबैले मिलेर काम गरे समस्याको सामना गर्न सकिने राष्ट्रपति यादवको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रको निरिक्षणको क्रममा शुक्रबार रामेछापको सदरमुकाम मन्थली आइपुगेका यादवले भने, ‘यो विपत्तिको बेलामा राजनीतिक दल, नागरिक समाज, सेना, प्रहरी, कर्मचारी सबै एकसाथ मिलेर काम गरौँ ।’

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तथ्यांक बेगर काम गर्न नसकिने भएकाले राम्रो तथ्यांक ल्याउन राजनीतिक दलले सहयोग गर्नु पर्नेमा जोड दिए । उनले केही कुरा तत्काल गर्नु पर्ने र केही कुरा दीर्घकालिन रुपमा गर्नु पर्ने धारणा राखे ।

नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले नेपाल भूकम्पको अति जोखिममा रहेकाले भूमिको वर्गिकरण गरी सुरक्षित भूमिमा एकीकृत आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिइन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरदसिंह भण्डारीले सरकारले दिने भनेको १५ हजार रुपैयाँ सबैलाई समान रुपले दिँदा दुर्गमका मानिसहरुलाई अपर्याप्त हुने बताए ।

कार्यक्रममा रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी सिताराम थापाले जिल्लाको वस्तुस्थितिबारे जानकारी गराएका थिए ।

दलहरुको आपत्ति

मन्थलीको नन्दावक्स गण परिसरमा सेनाको टेन्ट भित्र आयोजना गरिएको कार्यक्रममा पूर्व सांसद र सभासदहरुलाई प्रवेश दिइए पनि राजनीतिक दलका नेताहरुलाई भने प्रवेश दिइएन । बाहिर चौरमा बसेका दलका नेताहरुले कार्यक्रममा आफ्ना कुरा राख्ने मौका समेत पाएनन् ।

राष्ट्रपति तथा राजनीतिक दलका नेताहरु लगायत सहभागी कार्यक्रममा आफूहरुलाई सहभागी नगराएको भन्दै जिल्लास्तरीय राजनीतिक दलका नेताहरुले कार्यक्रमस्थलमा नै आपत्ति जनाएका थिए ।

नेपाली कांग्रेस रामेछापका सभापति रामचन्द्र खड्काले राष्ट्रपतिका सवारी मन्त्री बनेर आएका वन मत्री महेश आचार्यलाई राजनीतिक दललाई बेवास्ता गरेर अघि नबढ्न आग्रह गरे ।

राष्ट्रपतिको टोली ब्यारेकबाट निस्किदै गर्दा बाहिर उभिएका सभापति खड्काले आक्रोश पोख्दै राष्ट्रपति उपस्थित कार्यक्रममा लोकतन्त्रका पहरेदार राजनीतिक दललाई अपमानित गरिएको बताए । उनलाई मन्त्री आचार्यले माफी मागेर थामथुम पार्ने प्रयास गरेका थिए ।

ओखलढुंगामा पनि भनाभन

यसैबीच ओखलढुंगामा पनि राष्ट्रपतिसँग एमाले सभासद यज्ञराज सुनुवारको भनाभन परेको छ । जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा सभासदलाई जिल्लाको अवस्थाबारे बोल्न समय दिन लाग्दा राष्ट्रपति यादवले हस्तक्षेप गरेका थिए ।

यादवले कांग्रेस र एमालेका नेताहरुले केन्द्रमै बोल्छन्, उतै नेताहरुले काम गरिरहेका छन् भन्दै कार्यक्रम छोट्याउन आग्रह गरेका थिए । जवाफमा सभासद सुनुवारले भने, ‘जिल्लामा राष्ट्रपतिज्यू आउदा यहाँका सभासदले नबोल्ने हो भने किन यहाँसम्म दुःख पाउनुभयो ? उतै नेताहरुका भाषण सुन्दा भइहाल्थ्यो नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment