Comments Add Comment

शेष घले सरकारका विशेष दूत नियुक्त

Shes Ghale

३१ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण कोषमा वैदेशिक सहयोग जुटाउनका लागि गैरआवासीय नेपाली संघ एनआरएनए अध्यक्ष एव अष्ट्रेलियाका ९९ औं नम्बरका धनाड्य शेष घलेलाई विशेष दूत नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले घलेलाई विशेष दूत नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

भूकम्पपछिको पुनर्निर्माणका लागि विदेशस्थित संघ संस्था र समुदायबाट सहयोग जुटाउन घलेले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन् । घले अवैतनिक दूत हुन् ।

को हुन् शेष घले ?

उनी भूकम्पपछि राहत वितरणमा सक्रियता पूर्वक लागेका थिए । उनी अध्यक्ष रहेको एनआरएनए ले करिव ३५ करोडको लागतमा भूकम्प प्रभावितहरुका लागि एक हजार घर बनाउने बताएको छ ।

घले र उनकी पत्नी जमुना गुरुङले नेपालमा निजी स्तरको सबैभन्दा ठूलो एक अर्बको परोपकारी कोष स्थापना गरेका छन् ।

अष्ट्रेलियाको सन् २०१५ का सबैभन्दा धनी २ सय व्यक्तिको सूचीमा घले ५२ करोड ८० लाख डलर सम्पत्तिसहित ९९ औँ स्थानमा छन् ।

सन् १९९० को दशकको सुरुतिर अध्ययनका लागि अस्ट्रेलिया पुगेका घले मेलवर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक हुन् । उनले शिक्षा तथा रियल स्टेट लगायतका उद्योगमा लगानी गरेका छन् ।

घलेले काठमाण्डौमा शेराटन ब्राण्डमा पाँचतारे डिलक्स होटल संचालन गर्दैछन् । ८ अर्ब रुपैयाँ लगानीमा बन्न लागेको यो होटलको अहिले धमाधम निर्माण कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment